जग्गा एउटाको, मुआब्जा अर्कैलाई

जग्गा एउटाको, मुआब्जा अर्कैलाई

धादिङ : जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाअन्तर्गत डुबानमा पर्ने जग्गाको मुआब्जा अर्कै व्यक्तिलाई दिएको भेटिएको छ। साविक सल्यानटार गाविसका जीवन गिरीको जग्गाको मुआब्जा सोही ठाउँमा कृष्ण, शिव, गुरु र राम उप्रेतीको नाममा गएपछि विवाद भएको हो।

डुबानमा पर्ने जग्गाको सूची गोरखापत्रमा निकाल्दा जीवन गिरीको जग्गाको कित्ता नम्बर ३ (क) १४२ उल्लेख थिएन। गिरीले डुबानमा पर्ने आफ्नो अन्य जग्गाको मुआब्जा बुझिसक्दा कित्ता नम्बर १४२ को जग्गाको मुआब्जा छुटेपछि खोजबिन गर्दा मुआब्जा रकम नै उप्रेती परिवारको नाममा गएको भेटिएको जीवनका छोरा भोज गिरीले जानकारी दिए।

यसरी गयो अर्काको नाममा

जीवन गिरीको कित्ता नम्बर १४२ मा ११४ आना जग्गा। तर, उप्रेती परिवारले आफ्नो बाबुको जग्गाबाट अंशबन्डा गरी जग्गा कित्ताकाट गरेर लिने बेलामा मालपोत कार्यालय धादिङको लापरबाहीको कारण ३४२ नम्बरको जग्गा कित्ताकाट गर्नुपर्नेमा जीवन गिरीकै १४२ नम्बर कित्ताको जग्गा कित्ताकाट गरिदिएपछि गिरीको जग्गा उप्रेती दाजुभाइको नाममा पुगेको हो।

मालपोतको रेकर्डमा हेर्दा १४२ नम्बरको जग्गा जीवन गिरीकै नाममा देखिएको छ भने त्यही जग्गालाई कित्ताकाट गरेर ६२२, ६२३, ६२४ र ६२५ नम्बर कित्तामा गएको देखिएको छ। पछि बूढीगण्डकी आयोजनाको डुबानमा पर्ने भएपछि आयोजनालाई सोही लालपुर्जा उप्रेती परिवारले बुझाएको र उनीहरूकै नाममा जग्गा देखिएपछि बूढीगण्डकी आयोजनाले पनि मुआब्जा उप्रेती दाजुभाइकै नाममा हालिदिएको हो।

जीवन गिरीको नाममा कायम भएको १४२ नम्बर कित्ताको लालपुर्जा ।

आफ्नो १४२ नम्बर कित्ताको मुआब्जा छुटेको भनेर खोजबिन गर्दै जाँदा अरूले नै मुआब्जा बुझिसकेको फेला परेको जीवनका छोरा भोज गिरीले बताए। उनले भने, ‘मालपोत कार्यालयको सबैखाले रेकर्डमा हेर्दा जग्गा हाम्रो हो भन्ने प्रमाण छ तर मुआब्जा लिने बेलाचाहिँ उप्रेती परिवारले बुझिसकेछन्।’ उक्त जग्गाको मुआब्जा करिब १० लाख ५० हजार रुपैयाँ आउने भोजले बताए।

मालपोत कार्यालय धादिङले भने जग्गा कित्ताकाट गर्ने बेला प्राविधिक कारणवश गल्ती भएको देखिएको र त्यसलाई सच्याइसकिएको बताएको छ। उप्रेती दाजुभाइको नाममा पुगेको १४२ नम्बर कित्ताको जग्गा जीवन गिरीकै रहेकाले बूढीगण्डकी आयोजनालाई पत्र लेखेर जानकारी गराइसकिएको मालपोत कार्यालय धादिङका प्रमुख पुरुषोत्तम भण्डारीले बताए। ‘०४० सालदेखिकै कागजपत्र हेर्दा १४२ कित्ता नम्बरको जग्गा जीवन गिरीकै देखिन आयो, पहिले भएको गल्ती सच्याएर हामीले बूढीगण्डकी आयोजनालाई पत्र लेखेर मुआब्जा जीवन गिरीलाई नै दिन अनुरोध गरिसकेका छाँैँ’, उनले भने। उप्रेती परिवारको जग्गाको पनि मुआब्जा दिनुपर्ने अवस्थाको भए उनीहरूलाई पनि मुआब्जा दिन र १४२ नम्बर कित्ताको जग्गाको मुआब्जा जीवन गिरीलाई नै उपलब्ध गराउन पत्र पठाइएको भण्डारीले बताए।

अरूको जग्गाको मुआब्जासमेत आफूहरूले बुझिसकेका उप्रेती परिवारले जीवन गिरीको जग्गाको मुआब्जा फिर्ता दिन भने आनाकानी गरिरहेका छन्। बूढीगण्डकी आयोजनाले पटक–पटक छलफलका लागि बोलाउँदासमेत उप्रेती परिवारले आनाकानी गरिरहेको जीवनकी श्रीमती विष्णु गिरीले गुनासो गरिन्। ‘मुआब्जा फिर्ता लिन दिनहुँजसो छलफल हुन्छ तर फिर्ता दिन्छु भन्दैनन्, सबै समस्या मालपोत र आयोजना कार्यालयमा पनि सुनाइसकियो तैपनि कहीँबाट सुनुवाइ भएको छैन’, उनले भनिन्। १४२ नम्बर कित्ताको जग्गाको मुआब्जा रकम आफूहरूले पाउनुपर्ने भन्दै गाउँपालिकामा समेत उजुरी गरिएको विष्णुले बताइन्।

मालपोतबाट जग्गाधनी प्रमाणित भएर आएका लालपुर्जाको नाममा मात्रै मुआब्जा वितरण गरिने भएकाले जसको नाममा लालपुर्जा कायम भएर आउँछ, उसैलाई मुआब्जा पठाइएको बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण कार्यालयका प्रमुख कृष्ण कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.