बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात
बैतडी : मौसममा बदली भएसँगै बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ । खोड्पे,श्रीभावर, ढोल्यामोड,सिगासधुरा,ग्वाल्लेकधुरालगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मंसिर अन्तिम साता यो वर्ष पहिलो पटक हिमपात भएको थियो ।
बुधबार रातीदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीयबासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन बिष्टले बताए । 'बुधबार रातीदेखि नै हिमपात भएको छ । हिमपातका कारण दैनिक जनजीवन प्रभावित भएको छ । चिसो पनि अत्यधिक बढेको छ, 'उनले भने, 'हिमपातका कारण पशुचौपायलाई घाँसपात गर्न मुस्किल भएको छ ।'
हिमपात कारण खाने पानी समेत अवरुद्ध भएको खोड्पका स्थानीय मोहन ऐरले बताए । उनका केही दिन अघिदेखि नै अत्यधिक चिसोका कारण पाइपबाट पानी आउन छोडेको थियो । हिमपातले झन् समस्या भएको छ ।'
वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । सिंचाई नभएका क्षेत्रमा वर्षा र हिमपातले सिंचाईको काम गर्ने भएकाले किसान खुसी भएका हुन् । हिमपातले विभिन्न रोगकीरा समेत नष्ट हुने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए ।
यसैबीच बुधबार रातीदेखि बैतडीमा विद्युत सेवा अवरुद्ध भएको छ ।राती चलेको हावाहुरीले बैतडीको खोड्पे क्षेत्रमा लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ । विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् ।
ठाउँठाउँमा प्रहरीद्वारा दाउरा वितरण
चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा विभिन्न ठाउँमा दाउरा वितरण गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला २५ ठाउँमा दाउरा वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
उनका अनुसार स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता महासंघसँगको समन्वयमा दाउरा ल्याएर ठाउँठाउँमा वितरण गरिएको छ। प्रहरीले विभिन्न सामुदायिक वनबाट २५ ट्याक्टर दाउरा संकलन गरेर जिल्लाका विभिन्न स्थानमा वितरण गरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।