धादिङका पसलमा अनुगमन : म्याद गुज्रेका पेय पदार्थ छ्याप्छ्याप्ती

धादिङका पसलमा अनुगमन :  म्याद गुज्रेका पेय पदार्थ छ्याप्छ्याप्ती

सल्यानटार (धादिङ) : सदरमुकामभन्दा बाहिर ग्रामिण क्षेत्रमा संचालनमा रहेका बजारका अधिकांश पसलमा म्याद नाघेका पेय पदार्थ र खाद्य सामाग्री पाइएको छ । व्यवसायीले खुलेआम म्याद नाघेका पेय पदार्थहरु बिक्री वितरण गरिरहेको भेटिएको हो । गाउँगाउँमा गाडी लिएर बेच्न पुगेका मार्केटिङ व्यवसायीले पनि स्थानीय व्यापारीलाई म्याद नाघेका सामान बिक्री वितरण गरिदिने गरेको भेटिएको हो।

खाद्य सुरक्षा विभाग, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले गरेको संयुक्त अनुगमनका क्रममा ग्रामिण क्षेत्रका बजारका अधिकांश पसलमा म्याद नाघेका पेय पदार्थ बिक्री वितरण भइरहेको फेला परेको हो । खाद्यान्न बिक्री वितरण हुने १ दर्जन किराना पसलमा अनुगमन गर्दा सबै पसलबाट अनुगमन टोलीले म्याद नाघेको पेय पदार्थ कोकाकोला, मिरिण्डा, स्प्राइट, फेन्टा, रेडबुलजस्ता पेय पदार्थहरु जफत गरेको थियो । 

अझ केही पसलमा कोकाकोलाजस्तै देखिने कोकाकोलाको डुब्‍लिकेट पेय पदार्थ, त्यो पनि म्याद नाघेकै अवस्थामा जफत गरेको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक अर्जुनप्रसाद शर्माले भने, 'बजार क्षेत्रमा नपाइने यो क्याम्पाकोला (कोकाकोला जस्तै देखिने पेय पदार्थ) ग्रामिण क्षेत्रका बजारमा छ्याप्छ्याप्ती पाइँदोरहेछ, यसको गुणस्तर चेकजाँच छ छैन भन्ने लागेर परीक्षणका लागि हामीले नमुना समेत ल्याएका छौं।'

कोकाकोला जस्तै बोतलमा प्याकिङ गरिएको र बेच्ने बेलामा कोकाकोला नै भनेर झुक्याएर बेच्ने गरेको समेत पाइएको छ । आगिन्चोकका स्थानीय राम प्रसाद अधिकारीले भने, 'हामीले कोकाकोला नै भनेर किन्थ्यौं, कोकको नक्‍कली हो भन्ने नै थाहा थिएन।'

ठूला चाडवाडको आसपास मात्रै हुने अनुगमन पनि सदरमुकाम र राजमार्ग क्षेत्रमा नै सिमित रहेको बेला यसपटक ग्रामिण क्षेत्रका बजारमा पुगेको थियो । खाद्य निरीक्षकसहित पुगेको अनुगमन टोलीले फेला पारेका अखाद्य वस्तु र म्याद नाघेका पेय पदार्थ जफत गरेर नष्ट गरिएको थियो ।

पहिलो पटक खाद्य अनुगमनमा सल्यानटार पुगेको अनुगमनटोलीले सल्यानटार र आगिन्चोकको बजारमा अनुगमन गर्दा सबैजसो खाद्यान्न बिक्री वितरण हुने पसलमा बेच्न राखिएका पेय पदार्थ म्याद नाघेका फेला पारेको हो ।

त्यस्तै मानव स्वास्थ्यलाई हानी पुर्‍याउने खालका अखाद्य वस्तु समेत फेला पारेको छ । ग्रामिण क्षेत्रका बजारमा म्याद नाघेका सामान ठूला बजारमा सप्लाइ गरेर खुलम् खुल्ला बिक्री वितरण भइरहेको भन्ने व्यापक जनगुनासो पछि अनुगमन टोली गाउँ पसेको थियो। 

पहिले जिल्ला प्रशासन कार्यलयबाट मात्रै अनुगमन र निरीक्षण हुने गरेको भएपनि अहिले सबै जिम्मेवारी स्थानीय तहलाई सुम्पिदा समेत नियमित अनुगमन हुन सकेको छैन । आफ्नो कार्यक्षेत्र भित्र रहेको बजारमा नियमित अनगुमगन र निरीक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको भएपनि सबैजसो स्थानीय तहले बजार अनुगमनलाई चासो नै नदिएको सहायक प्रजिअ शर्माले बताए । शर्माले भने, 'अरु पसल त परको कुरा रह्यो, शिक्षक र विद्यार्थीले खाजा खाने क्यान्टिनमा समेत अखाद्य वस्तु र म्यान नाघेका पेय पदार्थहरु फेला पर्यो । कम्तीमा पनि शिक्षकले त हेर्न र भन्न सक्ने थिए होलान् नी ।'

गाउँगाउँमा गाडी नै पुर्‍याएर मार्केटिङ गर्ने व्यवसायीले म्याद सकिने बेलाका सामान गाउँका बजारमा छाड्ने गरेको व्यवसायी स्वयं बताउँछन् । ठूलाठूला र सदरमुकामका बजारबाट म्याद सकिन लागेका सामान उठाएर  गाउँगाउँमा सप्लाइ हुने गरेको एक व्यवसायीले बताए । 

'हामीलाई अनुगमन भएकै थाहा छैन, जसरी चल्छ त्यसरी नै चलाइरहेका थियौं, उनले भने, 'हामीले किन्ने बेलामा त म्याद हेर्ने बानी थिएन अनि उपभोक्ताले कसरी म्याद हेरेर सामान किनुन् ।'गाउँका व्यवसायी सचेत हुँदा हुँदै पनि मार्केटिङ गर्ने व्यवसायीहरुले जबरजस्ती सामानहरु छाडेर अर्को पटक पैसा लिन आउँला भन्दै जाने गरेको उनले बताए।

बेला बेलामा अनुगमन भइरहे व्यवसायी र उपभोक्ता पनि सचेत हुने भएकाले ग्रामिण क्षेत्रमा पनि नियमित अनुगमन हुनेपर्ने स्थानीय बासीहरुले माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.