महालक्ष्मी सुगर मिलमा ताला
मलंगवा : सर्लाहीको गोडैता नगरपालिका ६ बगदहस्थित महालक्ष्मी सुगर मिलमा गोडैता नगरपालिकाका मेयर र किसान मिलेर ताला लगाएका छन् । किसानको गत वर्षको बक्यौता रकम भुक्तानी नै नगरी उद्योग सञ्चालन गर्न खोजेपछि मेयर देवेन्द्रकुमार यादव र किसान मिलेर बिहीबार तालाबन्दी गरेका हुन् । उद्योगमा बोलाइएको उद्योगपति र किसानबीचको भेलामा उद्योगपतिले उद्योग सञ्चालन गर्नुभन्दा पहिला भुक्तानी दिने कुनै छाँटकाँट नदेखिएपछि मेयर यादवको नेतृत्वमा गएका किसानले तालाबन्दी गरे । किसानले उखु तौल हुने शाखामा तालाबन्दी गरेका छन् ।
भुक्तानी नदिए कुनै पनि हालतमा उद्योग सञ्चालन गर्न नदिन तालाबन्दी गरिएको मेयर यादवले बताए । उद्योगपति वीरेन्द्र कनौडियाले मंगलबारभित्र पैसा पठाउने बताए पनि पैसा नदिएसम्म उद्योग सञ्चालन गर्न नदिने अडान मेयरको छ ।
गत वर्ष उखु दिएबापतको बाँकी भुक्तानी नदिएपछि उद्योग सञ्चालन गर्न नदिने उखु किसान मुकेश ठाकुरले बताएका छन् । पटक–पटक भएको सम्झौता उद्योगले पालना गरेको छैन । ४५ दिनमा भुक्तानी दिने भनिएकोे थियो । तर, ७÷८ महिना बित्तिसक्दा पनि कुनै सुनवाइ भएको छैन ।
भुक्तानीका लागि आन्दोलन गर्नु परे आफूहरू आन्दोलन गर्न तयार रहेको ठाकुरले बताए । भुक्तानी बिना उद्योग सञ्चालन गरे त्यसलाई रोक्न ज्यान दिन तयार रहेको उनले दाबी गरे ।
किसान भेलालाई सम्बोधन गर्दै उद्योगपति वीरेन्द्र कनोडियाले उद्योग र किसानबीच ठूलो विवाद नरहेको बताए । उनले पैसा दिन आफू तयार रहेको बताए । ‘तपाईंहरू महालक्ष्मी सुगर मिललाई धनकौलको अन्नपूर्ण चिनी उद्योगसँग तुलना गर्दै हुनुहन्छ’, कनोडियाले भने, ‘मलाई आश्चर्य लाग्दै छ ।’ भेलामा संघीय सांसद नागेन्द्रकुमार यादव, प्रदेश सभा सदस्य अशोककुमार यादव, बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहलगायत सहभागी थिए ।