मिस मंगोलका आ-आफ्नै सपना

मिस मंगोलका आ-आफ्नै सपना

मिस मंगोल-२०१९ मा भारतको नयाँदिल्लीबाट सीए गरेकी ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामा विजेता बनिन्। उनलाई पछ्याउँदै रोल्पाकी २२ वर्षीया रेनुका पुनः फस्ट रनरअप र मिस मंगोल स्टेट ५ बनिन्। अंग्रेजी साहित्य र आमसञ्चारमा स्नातक गरेकी उनको मिस मंगोलमा यो दोस्रो प्रयास हो। त्यस्तै सफ्टवेयर इन्जिनियरिङकी विद्यार्थी काठमाडौंकी १९ वर्षीया यजु कर्माचार्य सेकेन्ड रनरअप भइन्। मिस मंगोलको ११औं संस्करणमा ताज चुमेका सिभिरा, रेनुका र यजुलाई कस्तो अनुभूति भएको छ त ? उनीहरूकै शब्दमा :

नाम बोलाउँदा मुटु काँप्थ्यो

सिभिरा लामा

बहिनी जोफेन लामाले जितेको ताज लगाउन खोज्दा ममीले ‘शिर चोखो राख्नुपर्छ, अरूको ताज नलाउनू। पछि आफैं जितेर लगाउनू’ भन्नुहुन्थ्यो। मलाई सानैदेखि सौन्दर्य प्रतियोगिताप्रति असाध्यै रुचि थियो। सन् २०१० मा वर्षारानी गुरुङले मिस मंगोल नेपाल जितेपछि उहाँबाट प्रभावित भएर मैले पनि यो प्रतियोगितामा भाग लिने सोच बनाएको थिएँ। तर उच्च शिक्षाका लागि भारतको नयाँदिल्ली जानु पर्‍यो।

इन्दिरा गान्धी ओपन युनिभर्सिटीबाट ब्याचलर्स इन कमर्स (बीकम) गरेँ। त्यसपछि नयाँदिल्लीकै लक्ष्मीनगरस्थित इन्स्टिच्युट अफ चार्टर एकाउन्टेन्ट अफ इन्डियाबाट सीए गरेँ। अध्ययन सकेर लगभग ६ वर्षपछि नेपाल फर्केको बेला मिस मंगोल नेपाल २०१९ को फारम खुलेको रहेछ। वर्षौंदेखिको चाहना र सपना भएकाले अवसर गुमाउन चाहिनँ।

संयोग नै भनौं, नयाँदिल्लीमै हुँदा मिस मंगोल नेपाल २०१२ को फस्ट रनरअप नुमा कन्दङ्वा मेरो रुममेट हुनुहुन्थ्यो। मिस मंगोलमा सहभागी भएपछि आफूमा आएको परिवर्तन, आत्मविश्वास, स्टेज एवं पब्लिक फेस गर्ने कलाका बारेमा जति अनुभव सुनाउनुभयो, त्यसले मलाई झन् उत्साहित बनाएको थियो।

नयाँदिल्ली हुँदा मैले मिस मंगोलका साथै मिस नेपाल, मिस इन्डिया, मिस वल्र्ड, मिस युनिभर्सका हरेक संस्करण लाइभ हेर्न छुटाइनँ। त्यसले पनि मलाई मिस मंगोलका लागि सहयोग पुर्‍यायो। वास्तवमा यो प्रतियोगिता पृथक् र एक दशकको अनुभव भएकाले सशक्त पनि छ। यसपटकदेखि नेपालको संघीय संरचनाअनुसार आयोजना भएकाले विशेष पनि थियो।

प्रतियोगीहरू एक से एक थिए। तर भाग्य र मेहनतका कारण जित मेरो भागमा पर्‍यो। वास्तवमा त्यसरी स्टेजमा जानु भनेको एक पटक पाइने रोमाञ्चक अवसर हो। त्यसलाई भरपूर उपयोग गर्नुुपर्छ भन्ने मलाई लाग्थ्यो। मैले सय प्रतिशत मेहनत गरेँ। प्रशिक्षण अवधिभर अरू केही सोचिनँ। अन्य काम गरिनँ। केवल अभ्यासमा लागेँ। अन्तिम प्रतिस्पर्धाभन्दा अगाडि राजधानीका सबैजसो मठमन्दिर पुगेर दर्शन गरेँ। शक्ति र आशीर्वाद मागेँ। त्यसबाट पनि मलाई आत्मविश्वास बढेको महसुस भयो।

प्रशिक्षणका क्रममा सबैजसो प्रतियोगीले ‘सिभिरा दिदीले जित्नुहुन्छ’ भन्थे। त्यसले मलाई झनै बोझ महसुस हुन्थ्यो। भनेजस्तो परिणाम नआउला कि भन्ने डर लाग्थ्यो। मिस मंगोल नेपालको छनोट प्रक्रिया र प्रशिक्षण पनि विल्कुलै फरक छ। मेहनत नगरी, क्षमता नदेखाई सम्भव नहुने। तर आफूलाई भाग्यमानी पनि ठान्छु, सबै चरणमा मेरो प्रस्तुति चाहेजस्तै हुँदै गयो। तापनि हामी दुई तीनजनामा एकदमै टक्कर थियो।

अन्तिम दिन स्टेजमा फस्ट र सेकेन्ड रनरअपको नाम बोलाउँदा मेरो मुटु काँपेको थियो। जब रनरअपको नाम घोषणा भयो, त्यसपछि मलाई ढुक्क लाग्यो। नाम घोषणा हुनुभन्दा अगाडि दर्शकदीर्घामा मेरो नाम लिएर हुटिङ भइरहेको थियो। भोटिङ राउन्डमा पनि मैले बढी मत पाएको थिएँ। विजेताका रूपमा जब नाम घोषणा भयो, हल नै गुञ्जियो। त्यो क्षण जिन्दगीको सबैभन्दा खुसी र सुखद लाग्छ। किनकि वर्षांैदेखिको एउटा सपना साकार भएको क्षण हो त्यो।

कार्यक्रमपछि घर आएर हेर्दा फेसबुक र इन्स्टाग्राममा बधाई र शुभकामना मेसेजले भरिएको थियो। रिप्लाई दिने त कुरै नगरौं, पढ्न पनि भ्याइनँ। मलाई साँच्चिकै सेलिब्रिटीजस्तो फिल भयो। मैले शीर्ष उपाधिसहित मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस पनि जितेँ। गिफ्ट ह्याम्पर, ट्रफी, स्यास, बुके, ताज हेर्दा राति अबेरसम्म निद्रै लागेन। हेरिरहूँजस्तो मात्रै लाग्यो।

भोलिपल्ट बिहान उठ्दा एकदमै ताजा, शान्त र सकारात्मक सोचले मन भरिएको थियो। सामाजिक सञ्जालमा बधाई नै बधाई थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत दर्जनौं प्रतिष्ठित व्यक्तित्व एवं संघसंस्थाको बधाईले जति खुसी लाग्यो, त्यत्तिकै जिम्मेवारीबोध पनि भएको छ।

दोस्रो प्रयासमा सफल भएँ

रेनुका पुन

निरन्तर प्रयासले मानिसलाई सफल बनाउँछ। मिस मंगोल नेपालमा यो मेरो दोस्रो प्रयास हो। सन् २०१६ मा भाग लिएको थिएँ। तर त्यस बेला म सायद अलि अपरिपक्व थिएँ। भनेजस्तो परिणाम आउन सकेन। सौन्दर्य प्रतियोगिता मेरो लागि रहर र सपना पनि हो। त्यसैले आमसञ्चार र अंग्रेजी साहित्यमा स्नातक सकेर मिस मंगोलमा दोस्रो पटक प्रयास गरेको हुँ। यस पटक अलि बुझेर पनि होला, प्रशिक्षण प्रभावकारी लाग्यो। छनोट प्रक्रिया र समग्र आयोजना पनि फरक थियो। म प्रदेश ५ को प्रतिनिधित्व गर्दै सहभागी भएकी थिएँ। मिस मंगोल स्टेट ५ र फस्ट रनरअपको उपाधि पाउन सफल भएँ। एकैसाथ एकै मञ्चमा दुईवटा ताज जित्नु मेरो लागि गौरवको विषय हो। मैले जन्मथलो रोल्पादेखि देश विदेशबाट बधाई पाएँ। अब अन्य विजेतासँग छलफल गरेर समाजका लागि पनि केही गर्ने लक्ष्य लिएकी छु।

मेरो लक्ष्य मिस नेपाल

यजु कर्माचार्य

मलाई अहिले लक्की फिल भइरहेको छ। खासमा म केही सिक्न मिस मंगोल नेपाल २०१९ मा सहभागी भएको हुँ तर रनरअप हुन सफल भएँ। मैले यो जितको कल्पनै गरेको थिइनँ। घरपरिवार सबै खुसी छन्। धेरैले बधाई र स्याबासी दिएका छन्। प्रतियोगी साथीबाट पनि धेरै कुरा सिक्ने मौका पाएँ। सबैमा फरक फरक क्षमता थियो। वास्तवमा सौन्दर्य प्रतियोगिता सोचेजति सजिलो हुँदैन। निकै मेहनत गर्नुपर्छ। म आईटीको विद्यार्थी हुँ तर रुचि मोडलिङमा छ। भविष्यमा मेरो लक्ष्य मिस नेपाल हो। अहिले सफ्टवेयर इन्जिनियरिङ गर्दैछु। कम्तीमा स्नातक पूरा गरेपछि मिस नेपालमा भाग लिने योजना बनाएकी छु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.