बालमैत्री शौचालय

बालमैत्री शौचालय

आन्विकालाई स्कुल जान मन लागिरहेको थिएन। उनी अल्छी मानिरहेकी थिइन्। भान्साबाट आमाले बोलाउनु भयो, ‘आन्विका, खाना खानेबेला भयो। तिमी भान्सामा आऊ।’

उनी अल्छी मानीमानी भान्सातिर लागिन्। आमाले खाना पस्किसक्नु भएको थियो। उनी हात धोएर खान बसिन्। आन्विकाले आमालाई खुवाइदिन आग्रह गरिन्। आमाले माया गर्दै उनलाई खुवाउन थाल्नु भयो। आहाँ ! आमाको हातले खान पाउँदा उनी खुसी भइन्। उनी रमाउँदै रमाउँदै खान थालिन्।

आमाले स्कुल जान तयार हुन बोलाउनु भयो। उनी नसुनेझंै गरिरहेकी थिइन्। आज स्कुल जान नपरे पनि हुन्थ्यो झैं लागिरहेको थियो। आमाले दोहो¥याएर बोलाउनु भएपछि उनी आमा नजिक पुगिन्।

‘आमा, म स्कुल जान्न’, आन्विकाले भनिन्। उनको कुरा सुनेर आमा छक्क पर्नु भयो। सधैं स्कुल रमाएर जाने छोरी आज स्कुल जान्न भनिरहेकी थिइन्।

‘तिमीलाई सञ्चो भएन हो छोरी ? ’ आमाले सोध्नुभयो। अनि आन्विकालाई यताउति हेर्न थाल्नुभयो। अनुहार राम्रोसँग नियाल्दै उनको कपाल चलाउनु भयो।

‘मलाई केही भएको छैन’, उनी अन्कनाउँदै बोलिन्।

‘केही नभएको भए स्कुल जानुपर्छ। गएन भने पढाइ छुट्छ नि’, आमाले सम्झाउन खोज्नुभयो।

आन्विकालाई भनौं कि नभनौं भयो। उनी आमालाई हेर्दै भनिन्, ‘स्कुलमा जानै मन लाग्दैन आमा।’

‘किन ? के भयो र छोरी ? ’ आमाले अनौठो मानेर सोध्नुभयो। आमाको प्रश्नले आन्विका आफूलाई सहज बनाउन खोज्दै थिइन्। उनलाई यो कुरा भनौ कि नभनौं भइरहेको थियो। नभनेर त हुँदैन भन्ने लाग्यो र भनिन्, ‘आमा, हाम्रो स्कुलको शौचालय कति धेरै फोहर छ। त्यहाँ जान पनि सकिन्न। अचेल मलाई कति गाह्रो हुन्छ।’

उनको कुरा सुनेर आमा छक्क पर्नुभयो। सधैं स्कुलबाट आउनासाथ आन्विका शौचालय जानुको कारण पनि बल्ल थाहा पाउनु भयो। स्कुलमा फोहर शौचालयमा नाक थुनेर जानुभन्दा बरु घरमा पुगेपछि जान्छु भनेर उनी त्यसै आउने गरेकी रहिछिन्। यो सुनेर आमालाई दुःख लाग्यो। आमाले उनलाई लुगा लगाइदिएर तयार गर्नुभयो। अनि भन्नुभयो, ‘आज तिमीलाई म आफैं स्कुल पु¥याइदिन्छु।’

यो सुनेर आन्विका खुसी भइन्। आमाको हात समाउँदै उनी आमासँग स्कुल पुगिन्। स्कुलको मूलढोकामा पुग्दा आज उनले अनौठो देखिन्। उनको सबै साथीहरू अभिभावकसँग आएका थिए। उनीहरू सबै स्कुलभित्र पसे। आन्विका पनि आफ्नी आमासँग पसिन्।

‘आन्विका। तिमीले हिजो भनेकी थियौ। मलाई पनि त्यस्तै भइरहेको थियो। यस्तो फोहर शौचालयको विषयमा आमालाई नभनी भएन भनेर सुनाएकी। त्यसैले आमा पनि आउनुभयो’, आन्विकाकी एउटै बेन्चमा बस्ने साथीले भनिन्। आन्विकाले पनि आमालाई भनेको कुरा सुनाइन्।

उनीहरू आफूले बोेकेको झोला कक्षाकोठामा राख्न भनेर गए। झोला राखेर बाहिर आए। बाहिर सबैजना भेला भइसकेका रहेछन्। त्यस भेलामा धेरैजसोका अभिभावक पनि थिए। कक्षामिस अगाडि आएर बोल्न थाल्नुभयो, ‘हामी क्षमाप्रार्थी छौं। शौचालयको विषयमा हामीलाई छात्राले भनेका थिए। तर, हामी आफ्नै काममा व्यस्त भयौं। त्यति ध्यान दिन सकेनौं। यसको लागि हामी दुःखी छौं। आजैदेखि शौचालय सधैं सफा रहनेछ।’

‘शौचालयमा चुकुल पनि हामीजस्ता सानाको हात पुग्ने ठाउँमा भए हुने नि’, तीन कक्षामा पढ्ने दिनेशले भन्यो। उसको कुरामा सबैले होमा हो मिलाए।

‘बालमैत्री शौचालय र धारा हुनु आवश्यक छ ’, शर्मिलाले भनिन्। उनी बाल क्लबको अध्यक्ष हुन्। उनले फेरि थपिन्, ‘अस्ति हामीले बालमैत्री स्थानीय सरकारसम्बन्धी तालिम लिँदा थाहा पाएअनुसार प्रत्येक विद्यालयमा बालमैत्री शौचालय, धारा, कक्षाकोठा, बेन्च, टेबुल आदि हुनु जरुरी छ। हाम्रो स्कुलको शौचालयको सरसफाइबारे हामीले हिजै आफ्नो बाल क्लबमा ठूलै छलफल चलाएका थियौं।’

‘स्याब्बास। हो यसैगरी बाल क्लबमा छलफल गरी स्कुलको समस्याको जानकारी र सचेतना गराउने काम बेलाबेलामा चाहिँ गराउने गर्नुपर्छ है’, हेडसर अफिस कोठाबाट बाहिर आउँदै भन्नुभयो, ‘आजैदेखि हाम्रो स्कुल बालमैत्री हुनेछ। बालमैत्रीका लागि आवश्यक सबै कुरा पूरा हुनेछ र सधैं सफा रहनेछ।’ हेडसरले सबैलाई आश्वस्त पार्दै भन्नुभयो। अनि बेलाबेला बाल क्लबसँग छलफल गर्ने र पूर्ण बालमैत्री स्कुल बनाउन सुनिश्चित हुने कुरामा ढुक्क पार्नु भयो। र, सफाइ कर्मचारीलाई काम थाल्न अह्राउनु भयो।

‘आहा ! अब शौचालय सफा हुने भो’, आन्विकाले चिच्याउँदै भनिन्। उनीसँगै उनका सबै साथीहरू खुसीले रमाउन थाले।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.