साग, साइक्लिङ र स्वर्ण
ऐतिहासिक ५१ स्वर्ण जित्नेमध्ये धेरै यस्ता खेलाडी छन्, जसलाई बिहान-बेलुका खानकै लागि संघर्ष गर्नुपर्छ। अधिकांश खेलाडी दुर्गम जिल्लाबाट आएका छन्। उनीहरूको दैनिकी सधैं अभाव र कष्टले घेरिएको छ।
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) पौडीकी गौरिका सिंहलगायत केही खेलाडी अपवाद हुन्। जसले सम्भ्रान्त परिवारबाट खेल्ने मौका पाए र सागमा स्वर्ण जिते। यी खेलाडीलाई खेल्नकै लागि जीवनमा कहिल्यै अभाव र गरिबीले सताएन।
दक्षिण एसियाली महादेशीय खेल कुम्भमा नेपालका लागि ऐतिहासिक ५१ स्वर्ण जित्नेमध्ये धेरै यस्ता खेलाडी छन्। जसलाई बिहान बेलुका खानकै लागि संघर्ष गर्नुपर्छ। अझ स्वर्ण जित्ने अधिकांश खेलाडी दुर्गम जिल्लाबाट आएका छन्। उनीहरूको दैनिकी सधैं अभाव र कष्टले घेरिएको छ। खेल सामग्री नहुनु, बिहान बेलुकाको गर्जो टार्न समस्या, त्यसमाथि पारिवारिक जिम्मवारी। यसको बाबजुद खेलमा लागेर देशका लागि स्वर्ण दिलाउँदा खेलाडी खुसीले गद्गद् छन्।
सागमा समावेश २६ खेलमध्ये नेपालले ऐतिहासिक सफलता हात पारको खेल साइक्लिङ पनि हो। नेपालले साइक्लिङतर्फ डाउनहिलमा दुई र क्रसकन्ट्रीमा दुई गरी चार स्वर्ण पदक जितेको थियो। साइक्लिङमा नेपाललाई पदक जिताउने सबै खेलाडीको आर्थिक अवस्था दयनीय छ।
डाउनहिल साइक्लिङमा नेपालका लागि पुरुषमा नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाए। गोकर्णस्थित सहिद पार्कमा सम्पन्न सागमा राजेशले एक किमिको दूरी एक मिनेट ४९.? सेकेन्डमा पूरा गरेका थिए। पुरुषमा नेपालका निरभ श्रेष्ठले रजत र प्राचित थापाले कांस्य जिते। निरभले एक मिनेट ५०.०८० सेकेन्ड र प्राचितले एक मिनेट ५१.६६१ सेकेन्डमा दूरी पार गरेका थिए।
महिलामा निश्माले निर्धारित दूरी दुई मिनेट २२.४५१ सेकेन्डमा पूरा गरेकी थिइन्। नेपालकै जमुना थापाले दुई मिनेट ४१.५५१ सेकेन्डमा दूरी पार गर्दै रजत र भारतकी यशोधारा मधुकरले तीन मिनेट ३७.२३८ सेकेन्डमा दूरी पार गर्दै कांस्य जितेकी थिईन्।
यसैगरी साईक्लिङको क्रस कन्ट्री पुरुषमा बुद्धिबहादुर तामाङ र महिलामा लक्ष्मी मगरले नेपाललाई स्वर्ण दिलाएका थिए। बुद्धिले चार किलोमिटर चार ल्यापको दूरी एक घन्टा १९ मिनेट ०८ सेकेन्डमा पूरा गरेका थिए। यही स्पर्धामा नेपालका राजीव राईले रजत र ओकेशराज वज्राचार्यले कांस्य जितेका थिए। राजीवले एक घण्टा १९ मिनेट ४० सेकेन्ड र ओकेशले एक घण्टा २१ मिनेटको समय निकालेका थिए।
महिलामा लक्ष्मीले चार किमिको चार ल्यापमा निर्धारित दूरी एक घन्टा २० मिनेट २० सेकेडमा पूरा गर्दै स्वर्ण जितेकी थिइन्। नेपालकी उषा खनालले एक घण्टा ३५ मिनेट ५२ सेकेन्डको समय निकाल्दै रजत र भारतकी प्रनिता प्रफुलले एक घण्टा ३६ मिनेट २९ सेकेन्डसहित कांस्य जितेका थिए।
वर्ड सिरिज खेल्ने राजेशको सपना
नेपाल साइक्लिङ संघले साग खेलाडी छनोटको आधार राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप सन् २०१९ लाई बनाएको थियो । च्याम्पियनसिपमा सुमन तामाङ पहिलो भएका थिए। सागमा छनोट भएका सुमन खेल्न नपाउने भए।
त्यसपछि संघले राजेश मगरलाई मौका दियो। चार पटकका नेसनल च्याम्पियन बनेको आधारमा राजेशले साग मौका पाएका थिए। संघका पदाधिकारीले अवसर दिन्छौं खेल भनेपछि हौसिएका राजेशले छोटो तयारीमा स्वर्ण जितेका हुन्।
‘तीन महिना मात्र तयारी गरेको थिएँ। सुमन नहुँदा मैले मौका पाएको हो। क्लोज क्याम्पको तयारीदेखि नै पाएको मौकालाई सही सदुपयोग गर्छु भन्ने लागेको थियो। जसलाई प्रमाणित गरेर देखाएँ। स्वर्णले अझै केही गर्ने उत्साह बढेको छ,’ राजेशले भने। सागमा माउन्टेन बाइकको स्पर्धा पहिलो पटक राखिएको हो। २३ वर्षीय राजेश नेसनल जियोग्राफ्रीको ‘एड्भेन्चरर अफ द इयर २०१८’ को विजेता पनि हुन्।
राजेशले भाग लिएको स्पर्धामा नेपाली खेलाडी जस्ले जिते पनि स्वर्ण जित्ने भनेर तयारी गरेका थिए। ‘स्वर्णका लागि सबैले राम्रो गर्ने आखिर जसले जिते पनि नेपालले जित्ने हो,’ राजेशले भने। राजेशले सन् २०१३ को राष्ट्रिय माउन्टडेन बाइक च्याम्पियनसिप पहिलो पटक खेलेका थिए। त्यतिबेला उनले आफैंले तयार पारेको साइकलबाट रेसमा सहभागी हुँदै छैटौं भए।
राजेशले सुरुका दिनका आफैंले कवाडीबाट सामान जुटाएर वेल्डिङ गरी बनाइएको साइकलमा तयारी गर्दै थिए । उक्त साइकलमा खराबी आएप्छि सन् २०१४ मा पर्यटन व्यवसायी मन्दिल प्रधानले उनलाई आफ्नो बाइक दिए।
‘मेरो पनि साइकल र त्यो पनि साइकल कहाँ हो कहाँ फरक,’ राजेशले विगत सम्झिए। व्यवसायी प्रधानले नै राजेशलाई एक पटक मुस्ताङमा साइक्लिङ गाइडको रूपमा काम गर्न पठाए । त्यतिबेला उनले २० हजार रुपैयाँ पाए। त्यसपछि उनले पुरानो काम छाडेर गाइडकै काम अँगाले। साइक्लिङ गाइडकै काम गरिरहेका राजेश एकाएक साग स्वर्णधारी बनेका छन्। ‘खेलाडीको रूपमा नेपालका बाँच्न गाह्रो छ। अहिले सागमा पदक जितेको छु। कतैबाट सहयोग मिल्यो भने अब एसियाली खेलकुदबाट पदक ल्याउन चाहन्छु,’ राजेशले भने।
उनले व्यावसायिक माउन्टेन बाइक राइडरहरूको प्रतियोगिता ‘इन्डुरो वर्ड सिरिज’मा प्रतिस्पर्धा गर्ने ठूलो चाहना भएको पनि बताए। उनले भने- ‘२०२१ मा फ्रान्समा हुने सिरिजको अन्तिम इभेन्टमा नेपालको प्रतिनिधित्व गर्दै ट्रफी अफ नेसन्स खेल्ने सपना छ।
पर्यटककी गाइड निश्मा
१३औं साइक्लिङमा नेपाललाई पहिलो स्वर्ण विजेता हुन्, निश्मा। काठमाडौं गोलढुंगाकी २३ वर्षीया निश्मा श्रेष्ठ डाउनहिलमा नेपालकै पहिलो राइडर हुन्। सुरुमा उनी केटाहरूसँगै प्रतिस्पर्धा गर्ने एक्लो महिला हुन्थिन् । पछि उनैले केटीहरू जम्मा पारेर विभिन्न स्पर्धामा भाग गराइन्। २०१९ को राष्ट्रिय माउन्टेन बाइकमा डाउनहिलतर्फ महिलाको स्पर्धाले प्रवेश पायो। जसमा निश्मा सजिलै पहिलो भइन्।
सागको साइक्लिङमा नेपाललाई स्वर्ण दिलाउन भने निश्मालाई गाह्रै भयो। ‘त्यति गाह्रो होला भन्ने सोचेको थिइन । स्वर्णकै अपेक्षा गरेकी थिएँ । तर, खेलअघि चर्को दबाब हुने रहेछ । स्वर्ण जित्दा एदकम खुसी लागेको छ,’ निश्मा भन्छिन्।
पुख्र्यौली घर काभ्रे भकुन्डेबेसीकी निश्माले साइक्लिङ खेलको पाँच वर्ष भएको छ। रेसहरूमा लाग्दै उनी साइक्लिङको पारखी भइन्। उनलाई अहिले साइकलको लत नै बसेको छ। त्यसैले त उनी साइकल पारखी विदेशी पर्यटकको गाइड छन्।
साग सकिएपछि पनि निश्मा पर्यटकलाई लिएर मुस्ताङ पुगेकी छन्। ‘पार्ट टाइमर’ गाइड निश्मा खेल, पेसा र पढाइलाई सँगै अगाडि लगिरहेकी छन्। ‘साइक्लिङमै रस पसेकाले पर्यटकको गाइड बनेँ। भविष्यमा एसियन स्तरमा अझै राम्रो गर्ने सोच छ। सागको स्वर्णले थप उत्साहित भएको छु,’व्यवस्थापनमा स्नातक गरेकी निश्मा भन्छिन्।
पुरस्कारमा लक्ष्मीको गुनासो
नुवाकोट विदुरकी लक्ष्मी मगरलाई सागको स्वर्णले अहिले जीवनमै ठूलो खुसी दिलाएको छ। तर, लक्ष्मीलाई भर्खर चिन्नेहरूले ठान्छन्। यो केटीले यत्रो सफलता सजिलै हात पारी। उनको विगत थाहा नहुनेलाई यो स्वाभाविक पनि हो। लक्ष्मी साग दोस्रो सहभागिता हो। उनले भारतको गुवाहाटीमा भएको १२औं संस्करणमा पनि भाग लिएकी थिइन्।
त्यतिबेला रोडरेसमा भाग लिएकी उनी सहभागितामै सीमित बनिन्। १२औं को भोकलाई उनले यसपटक स्वर्ण जितेर पूरा गरिन्। ६ पटकी नेसनल च्याम्पियन उनले यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका धेरै उपाधि जितेकी छन्। सानैमा काठमाडौं आएकी लक्ष्मी ज्ञानेश्वरका बस्थिन्। भाडामा साइकल लिएर बाबुको आँखा छल्दै सानो गौचरनमा साइकल कुदाउनुको मज्जा बेग्लै थियो।
उनले पछि अस्कलमा आईएस्सी पढ्दा र ललित कला क्याम्पसमा स्नातक पढ्दासम्म सवारीसाधनको रूपमा साइकल नै अगाँलिन्। विस्तारै उनको रस साइकल दौडमा बस्यो। २००८ देखि उनले साइकललाई खेलकै रूपका अँगालिन्। फन रेस हुँदै उनले २०१२ सम्म आइपुग्दा अन्नपूर्ण राउन्ड, काठमाडौंदेखि पोखरासम्म हुलाकीमार्गको ट्रान्स हिमालयन टुरजस्ता कठिन यात्रा तय गरिन्। श्रीलंका, भारत, थाइल्यान्ड, युरोपका विभिन्न मुलुकमा आयोजना हुने कठिन रेसमा पनि उनको सहभागिता र उपलब्धि झाँगिदै गयो।
‘साइकलमा लाग्दाको पीडा र दुःखका कुरा धेरै छन्। सानैदेखि काठमाडौंमा धेरै खालका काम गरियो। विगत भुलेर वर्तमानलाई राम्रो बनाउनुबाहेक केही छैन। सागको स्वर्णले ठूलो राहत भएको छ। पहिला डाउनहिल हुँदैनथ्यो। नेपालीले जित्छ भनेर भारत र अरू देशले राख्दैनथिए। यसपटकको सागमा पनि आस थिएन। तर डाउनहिल विधा राखेपछि स्वर्ण नै जित्छु भन्ने लागेको थियो। तयारी पनि राम्रो गरेको थिएँ, सोचेजस्तै भयो,’ ३१ वर्षीय लक्ष्मीले भनिन्।
महिला पनि साइक्लिस्ट भनेर हेप्ने चलन नेपालमा धेरै छ। त्यसमाथि विभागीय टोली बाहिर रहेर खेल्न धेरै गाह्रो। आर्थिक र तयारीको हिसाबले साइक्लिङ महँगो भएको लक्ष्मी बताउँछिन्। ‘कुनै पनि प्रतियोगितामा पुरुषलाई एक लाख डेढ लाख पुरस्कार राखिन्छ। तर महिलालाई गिफ्ट ह्याम्पर थमाएर पठाइन्छ। यसरी चल्न गाह्रो भइसकेको छ। महिला खेलाडी माथिको यही विभेदले महिला खेलाडी साइक्लिङमा धेरै आएका छैनन्। भएका १२-१५ जना पनि पलायन हुँदैछन्,’ लक्ष्मी भन्छिन्। साग पछि पनि लक्ष्मीको हैसियत उस्तै छ। अहिले पनि रेसमा जाँदा साथीभाइको साइकल सापटी माग्नुपर्छ। विदेशमा खेल्न जाँदा ऋण गरेर टिकट किन्नुपर्छ। त्यो ऋण तिर्न फर्केर आएपछि ‘पार्टटाइम’ काम गर्नेपर्छ। सागपछि सरकारले राम्रो पुरस्कार घोषणा गरेको छ। पुरस्कारले लक्ष्मीलाई खुसी पनि दिएको छ। तर एउटा राम्रो साइकल किन्न नौ लाख खर्च हुने हुँदा पुरस्कारले के गर्ने के नगर्ने भन्ने चिन्ता उत्तिकै छ।
कम्तीका सरकारले खेलाडीका लागि खेलसामग्री पनि दिए हुन्थ्यो उनले आग्रह गरिन्। सागअघि नै लक्ष्मीको खेल थाहा पाएर ग्रेट बुद्धिष्ट ट्रेलले उनलाई सद्भावना दूत पनि बनाएको छ। त्यसले उनको खेलमा धेरै सहयोग पुगेको छ।
सरकारले सहयोग गरे एसियन च्याम्पियनसिपमा स्वर्ण जित्न लक्ष्य रहेको लक्ष्मीले बताइन्। ‘बिहान बेलुकी हातमुख जोर्ने चिन्ताले सताइरहेपछि लक्ष्य ठूलो मात्र लिएर के होला र। आफैंलाई अनौठो लाग्छ। आगामी फेब्रुअरीमा थाइल्यान्डमा एसियन च्याम्पियनसिप हुँदैछ। तर त्यसका लागि अझै तयारी सुरु भएको छैन,’ लक्ष्मीले चिन्ता व्यक्त गरिन्। सागपछि लक्ष्मीले भारतको कर्नाटकमा भर्खर सम्पन्न थ्रिलिङ एडभेन्च्योर माउन्टेन बाइक च्याम्पियनसिपमा रजत जितेकी छन्। उक्त प्रतियोगिताका २० देशका खेलाडीले भाग लिएका थिए।
‘अटो पार्टस’का कामदार बुद्धि
बुद्धिबहादुर तामाङले लिगामेन्ट च्यातिएपछि एक वर्ष साइकल थन्क्याए। जब लिगामेन्ट ठीक भयो। उनी गत नोभेम्बर १० तारिख अन्नपूर्ण सर्किटको दसदिने साइकल रेसमा निस्किए। एक वर्षपछि रेसमा निस्किएका बुद्धिलाई साइक्लिङका प्रशिक्षक प्रयास तामाङले फोन गर्दै भने- ‘तिमी ठीक छौं भने साग खेल्ने सोच बनाऊ।’
उनले सुरुमा प्रशिक्षकसँग हार्नका लागि के खेल्नुपछि काठमाडौं आएर कुरा गरौंला भनेर जवाफ दिए। प्रशिक्षकको सल्लाहपछि बुद्धि चार महिना बन्द प्रशिक्षणमा रहेका खेलाडीसँगै सागको १० दिनअघि मात्र तयारीमा जुटेका थिए। उनै बुद्धिले साग क्रस कन्ट्रीमा स्वर्ण नै जितेर छाडे। अभ्यासका क्रममा उनलाई नेपाली साथीले भेट्टाउन सकेका थिएनन्। त्यसले उनको मनोबल उच्च बनायो। सागको स्पर्धामा पनि उनले जोसले खेले। ‘सुरुमा मलाई विश्वासै लागेको थिएन। पछि पो थाहा भयो। स्वर्ण नै जितेको रहेछु,’ नुवाकोटका २५ वर्षीय बुद्धिले भने।
प्रशिक्षकले फिट छौं, खेल भनेपछि बुद्धिले स्वर्ण नै नसके पनि कुनै न कुनै मेडल जित्न सक्छु भन्ने सोचका साथ भाग लिएका थिए। बुद्धि अहिले सपनामा पनि नसोचेको स्वर्ण जितेकोमा खुसी छन्। ‘सपनामा पनि नसोचेको उपलब्धि विपनामा हात परेको छ। जीवनमा एकपछि अर्को अप्रत्याशित क्षणहरू भोगिरहेका उनी सामान्य मजदुरी गरेर जीवन चलाउँछन्।
बुद्धिले सन् २०१० मा नयाँ बानेश्वरको ‘अटो पार्टस्’मा काम पाए। डेराबाट आउजाउ गर्न सहज होस् भनेर साइकल किने। १५ हजार रुपैयाँमा किनेको साइकलले जीवनको दिशा बदल्ने सोच उनमा थिएन। सानैदेखि चकचके स्वभावका उनलाई साइकल गुडाउन होइन, उडाउन मन पथ्र्यो। उनी साइकल स्टन्ट गरिरहन्थे। साइकल पनि बिग्रिरहन्थ्यो। अनि बनाउन ग्यारेज जानुपर्ने। त्यहीबेला असनमा पञ्च अष्टनारायणको साइकल पसलमा सुरज राई भेटिए। रेसर सुरजले बुद्धिलाई भने, ‘साइकल खतरा कुदाउँदो रहेछौ। रेस पनि गर्नु नि।’
उनले त्यतिबेला हुन्छ, तर कसरी गर्ने भनेर जवाफ दिए। त्यसपछि सुरजले रेसको नियम सिकाए र प्रोफेसनल राइडरहरूसँग भेट गराइदिए। त्यो बेला बल्ल बुद्धिलाई थाहा भयो, साइक्लिङ रेस। तर, अनौठो रेस गर्न लाखौं पर्ने साइकल चाहिने रहेछ।
उनले आफ्नो मनको कुरा ‘अटो पार्टस्’ का साहुजीसँग भने। साहुले नै साइकल किन्नदेखि रेसमा भाग लिन आर्थिक सहयोग गरे। अहिले पनि त्यही अटो पार्टस्मा काम गरिरहेका उनी भन्छन, ‘बोस नभएको भए म यो ठाउँमा हुन्नथेँ।’ आफ्नो सफलताबाट आफैं चकित परेका बुद्धि कुनै कुरा चाहेर मात्र होइन, मेहनत गरिरहे पूरा भएरै छाड्ने बताउँछन्। ‘साइक्लिङमा दुर्घटनाको जोखिम मात्र होइन। खेल्न महँगो पनि छ। सरकारले खेलाडीलाई राम्रो सुविधा दिने हो भने धेरै गर्न सकिने रहेछ। काम गर्दै बेलाबेलामा खेल्दा त स्वर्ण मिल्यो। ढुक्कसँग खेल्न पाए एसियाली स्तरमा राम्रै गर्न सकिन्छ, बुद्धिले बुद्धि लगाए।’