बन्दीपुर : खुलापुर
शरीरले आनन्द महसुस गर्यो बन्दीपुरको माटो टेक्दा।
डुम्रेबजारबाट उकालिने तरखर गर्दा केही अलमल भएथ्यो। स्थानीय सडकमा गुड्ने बसहरू चलेनन् बेलामा। यात्रुहरू कोचाकोच नभई नचल्ने चलन रहेछ जस्तो लाग्यो। पोखराबाट हतारिँदै डुम्रे आइपुगेको हाम्रो टोलीलाई बन्दीपुरमा कहिले पुगौंलाझैं भइरहेको थियो।
बन्दीपुर घुमेर आनन्द लिने रहर मनको पत्रपत्रमा थियो। बिहानभरि पोखरा घुमेर दिउँसो डुम्रे आइपुगेका हामीलाई बन्दीपुर अघाउन्जेल घुम्नु थियो। बन्दीपुरको सुन्दरतामा हराउनु थियो। बन्दीपुरमा एक रात बस्नु पनि थियो। पोखराबाट मध्याह्नमा डुम्रे पुग्दा दुई तीनवटा स्थानीय बसहरू बन्दीपुर जाने पालोमा थिए। हामी पुग्नासाथ बसवालाहरूले सम्मानपूर्वक सोधे, ‘कहाँ बन्दीपुर जाने हो ? ल बस्नुस्, गइहाल्छ अब दस पन्ध्र मिनेटमा।’ यति भन्न भ्याउँदा नभ्याउँदै हाम्रो झोला समातेर छततिर राख्न थालिहाले। जाला त नि भन्ने सोचेर हामी सबै बसमा चढ्यौं।
बसभित्र त के बसिसक्नु र ! धोक्रो, डोका, आलुप्याजका बोरा। मान्छे खचाखच। असार महिनाको गर्मी। एकैछिनमा उकुसमुकुस हुँदा शरीर खल्खलाउन थाल्यो पसिनाले। भनेको समय पन्ध्र मिनेट सकिँदा पनि बस चलेन। पसिनाले शरीर नुहाएको जस्तै भएको छ। तर, बस चल्ने कुनै संकेत नै छैन। मान्छेहरू कराउन थाले, ‘लौ न भरिइसक्यो, किन नचलाएको हो।’ पाँचसात मिनेट कराएपछि बल्ल ड्राइभर बसमा चढेर ‘ढरढर ढरर्र...’ गरेर बस चलाउन थाले।
समयको दबाब र यात्रीको करकापले गर्दा बस गुड्यो। डुम्रे बजारबाट बस विस्तारै उकालियो माथिमाथि। कस्तो रमाइलो। हरियालीले भरिएको पाखापखेरा। जतिजति माथि गयो उतिउति चिसो हावा चल्न थाल्यो। गर्मीले गर्दा गुम्सिएको शरीरले अमृत पाएसरह भयो त्यो चिसो हावा। उकालिँदै जाँदा माथि डाँडाको छेउमा देखिन थाल्यो सुन्दर बस्ती।
‘उ...देखियो बन्दीपुर बजार।’ हामी बन्दीपुर हेर्न आएको थाहा पाएका एक जना स्थानीय मान्छेले हामीलाई देखाए खुसी हुँदै। तपाईंहरूको गन्तव्य। बन्दीपुर नजिकिँदै जाँदा मनमा उत्साह चुलिँदै गयो। बन्दीपुर पुग्नेबित्तिकै वरपर नियाल्न मन आतुर भयो। परम्परागत शैलीमा बनेका घरहरूले पहिलो दृश्यमै लोभ्याइहाले। बेलुकाको बासको बन्दोबस्त गरेर एकैछिन थकाइ मारियो।
बन्दीपुर साँच्चिकै सुन्दर रहेछ। आँखाका नानीजस्तो, सानो चुटुक्क परेको। हरियालीले भरिएको। वरपर हेर्न जाँदा एउटा बोर्डमा लेखेर टाँसेको देखियो, ‘पहाडकी रानी बन्दीपुर।’ साँच्चै रानीझैं आकर्षक र सुन्दर छ बन्दीपुर। हरियो वनको फेदीमा फैलिएको बस्ती। हामीले पेटपूजा गरेर मात्र घुम्ने विचार गर्यौं। एउटा होटलमा खाजा अर्डर गरेर बन्दीपुरकै बारेमा गफ गर्दा पसलका साहुजीले हामीलाई बन्दीपुरको संक्षिप्त इतिहास पनि सुनाए। खाजा खानु त छँदै छ, एउटै पैसामा बन्दीपुरको ऐतिहासिक जानकारी पनि पाइयो।
यो बस्ती पहिले तनहुँ जिल्लाको सदरमुकाम रहेछ। पछि यसलाई सारेर दमौली झारिएको रहेछ।
बन्दीपुरमा पहिलेपहिले मगरहरूको बस्ती रहेछ। नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकालाई हराएपछि यहाँका केही नेवार बन्दीपुरतिर पुगेछन्। व्यापारको सिलसिलामा उनीहरू यतै बसेपछि बन्दीपुरमा नेवारहरूको बसोबास थालनी भएको रहेछ। उनीहरूले नै बन्दीपुरलाई व्यापारिक केन्द्र बनाएका रहेछन्। व्यापारको सिलसिलामा यो ठाउँ पहाडी क्षेत्रको उत्कृष्ट व्यापारिक केन्द्र बनेको रहेछ। चीन र भारत बीचमा व्यापार गर्ने केन्द्रको रूपमा पनि यो ठाउँ विकसित भएको रहेछ। काठमाडौं उपत्यकाबाट आएका नेवारहरूले आफूहरू सँगै ल्याएका कला र संस्कृति आज पनि बन्दीपुरलाई चिनाउने वस्तुका रूपमा रहिरहेकोमा उनी अति नै गौरवान्वित थिए।
बन्दीपुरमा आजसम्म बाँचिरहेको त्यही परम्परागत संस्कार र सम्पदालाई हेर्न पर्यटकको भीड लाग्ने कुरा उनी हाँसीहाँसी सुनाइरहेका थिए। हामी खाजा आउने आशमा मुख मिठ्याउँदै उनका कुरा सुनिरह्यौं। मलाई लाग्यो, यसरी आफ्नो ठाउँको ऐतिहासिक तथ्य पाहुनाहरूलाई बुझाउन सक्ने मानिस जहाँ पायो त्यहीँ किन हुन्थे र ! धन्य बन्दीपुर, सन्तानहरूचाहिँ इमानदार रहेछन् जन्मभूमिप्रति।
बन्दीपुरमा आधुनिकताको प्रभाव धेरै कम छ। परम्परागत शैलीका घरहरूले बजारलाई सजाएका छन्। घरहरूको बार्दलीमा मकैका झुत्ताहरू झुन्डिइरहेको देख्न पाइन्छ। खुर्सानीका मालाहरू रातै झुन्डिएका छन् घरघरमा। घरहरू अग्ला छैनन्। नयाँ बनाइएका घरहरू पनि बजार क्षेत्रमा परम्परालाई जोगाउने गरी बनाइएको छ। बजार क्षेत्रमा कतै फोहोरका टुक्रासम्म छैनन्। सरसफाइमा बन्दीपुर धेरै गम्भीर बनेर लागिरहँदो रहेछ भन्यो मेरो मनले।
खाजा खाइयो जिब्रो पड्काउँदै। पिरोको बढाइँ। बाटैमा रहेछ ‘पद्म पुस्तकालय।’ राणाकालमै बनेको रहेछ। त्यति बेला पनि बन्दीपुरमा पुस्तकालयको व्यवस्था भएबाट यो ठाउँ शिक्षामा अगाडि थियो भन्ने अनुमान गर्न सकिन्छ। बाहिरबाटै सर्सर्ती हेरेर हामी तीनधारातिर गयौं। बजारबाट पूर्वतिर। ‘तीनधारा कति पर छ ? ’ बजारमा सोद्धा थाहा भयो, पन्ध्र मिनेट रहेछ विन्ध्यवासिनी मन्दिरबाट।
तीनधारा जाने बाटो सफा छ। फराकिलो पनि। घरहरू लोभलाग्दा छन्। हरियालीले सुन्दरता झनै थपेको छ। बेलुकीपखको घाम लागेको छ। बाटाका छेउछेउमा थरीथरीका फूलहरू फुलेका छन्। केही बेर हिँडेपछि बाटो ओरालो आयो। बहिनीहरू क्यामरामा फोटो उतार्न तल्लीन छन्। म यताउता हेरेर अघाएको छैन।
आइपुग्यो वरपीपलको चौतारी। पुरानो थियो चौतारी। भत्कनै थालेको। बाटो हिँड्ने बटुवाहरू पहिलेजस्तो बाक्लो नभएपछि चौताराको संरक्षणमा कसको ध्यान जाओस्। धन्न, यहाँ यतिसम्म त बाँचेको रहेछ भन्यो मेरो मनले। वरपीपलका रूखहरू लोभ्याउने थिए अझैसम्म। कति बटुवालाई शीतल तपाएर बिदा गर्यो होला त्यो चौतारीले।
चौतारीको बरपीपलले हामीलाई पनि चिसो हावाले स्वागत गर्यो। हामीले एक फेक्सो स्वच्छ हावा भरेर बाहिर फाल्यौं। फूर्तिलो भयो शरीर। नजिकै धारा रहेछन्। तर, नाम तीनधारा भए पनि पाँचवटा रहेछन् ढुंगेधाराहरू। नामअनुसारका धारा देखिएनन्। असार महिनामा पनि धाराहरू आफ्नो अस्तित्व बल्लबल्ल बचाएर रहेका रहेछन् तिरतिरे पानी। नुहाइधुवाइ गर्ने केटाकेटी र तिनका आमाहरूको भीड रहेछ।
तीनधारामा अँजुली थापेर पानी घुटयाउन मन लाग्यो। बल्लबल्ल धाएर पुगेको ठाउँ। पानी चिसो। आँतै शीतल पार्यो। नजिकै रहेछ बटुवाहरूले पहिलेपहिले बास बस्ने पाटी। पाटी कस्तो हुन्छ भनेर वास्तवमा राम्ररी बन्दीपुरकै तीनधारामा देख्न पाइयो। भ्रमणबाट धेरै नयाँ कुराको ज्ञान पाइन्छ भन्थे। त्यो देखेपछि मेरो मनले पनि हो रहेछ भनेर पूरा विश्वास गर्यो।
फर्किंदा बाटैभरि देखिए स्कुलका विद्यार्थी। पिठ्यूँमा झोला बोकेर रमाउँदै फर्किरहेका। मैले आफ्नो स्कुले जीवन सम्झेँ। त्यसरी बेलुका स्कुल छुट्टी भएर फर्कंदा कम्ता रमाइलो हुँदैनथ्यो। दिनभरिको पढाइको बोझबाट मुक्त हुन पाएको अवस्था। केही बेरमा थाहा भयो, नजिकै रहेछ नोट्रे डेम स्कुल। बन्दीपुरमा शिक्षाको ज्योति चम्काउन यसको विशेष भूमिका रहेछ। बन्दीपुरको शिक्षाको दियो रहेछ, नोट्रे डेम स्कुल। नोट्रे डेमकै विद्यार्थी रहेछन् हामीले भेटेका।
पहाडको काखमा यति सुन्दर सहर पहिलो पटक देखिरहेको छु मैले। बाटोघाटोमा त्यत्तिकै सफाइ छ। आकाशमा बादलका टुक्राहरू छन्। हेर्दै रहरलाग्दा। छिनछिनमा अनेक आकारमा परिणत हुन्छन्। यस्तै वातावरणमा रमाउँदै खड्गदेवी मन्दिर पुगियो। पूर्वपट्टि केही माथि डाँडामा। बन्दीपुरवासीको आस्थाकी देवी। खड्ग अर्थात् तरबारकी देवी। उन्नाइसौं शताब्दीतिरका पाल्पाली राजा मुकुन्दसेनले भाग्ने क्रममा यहाँ तरबार छाडेका थिए रे। भगवान् शिवले उनलाई उपहार दिएको त्यो तरबारलाई त्यहीँ मन्दिर बनाएर पूजा गर्न थालिएको कुरा नजिकै चौतारामा बसेका एकजना वृद्धले सुनाए। विशाल चौतारो छ पीपलको। नजिकै बन्दीपुर गाउँपालिकको कार्यालय। अत्यन्तै सुन्दर ठाउँमा।
टुँडिखेलबाट उत्तर हेर्दा देखिन्छन् बादलसँग लुकामारी खेल्दै गरेका हिमालहरू। धौलागिरि, अन्नपूर्ण, मनास्लु हिमालहरू। धीत नमरुन्जेल हेर्न पाइएको छैन बादलले गर्दा। उत्तरी हावाको झोँकाले चिसो थपिरहेको छ। घाम विस्तारै ओर्लिंदै छन् क्षितिजतिर।
अझै हेर्नु छ, धेरै ठाउँ। सिल्कफार्म गएकै छैन। छिटोछिटो गर्नु छ। बाटामा गफिँदै फर्कंदा देखिए धेरै विदेशी पर्यटक। उनीहरू पनि बन्दीपुरलाई नजिकबाट सुम्सुम्याइरहेका छन् हामीले जसरी। स्वदेशीदेखि विदेशीसम्मलाई आकर्षण गर्न सक्ने कुरा भनेको परम्परागत संस्कार र संस्कृति त हो नि। प्राकृतिक सुन्दरता र शान्तपनले सुनमा सुगन्ध थपेको हो।
सिल्कफार्मलाई सर्सर्ती हेरेर हामीले थानी डाँडालाई गन्तव्य बनायौं बेलुकीपख। दिउँसो होटलमा झोला राख्दा नै भनेका थिए होटेलका साहुले बेलुकीपख मात्र जानुहोला थानीडाँडा- बजारको सुन्दरता नियाल्न। सल्लाको सुसेली सुन्न र सूर्यास्त हेर्न। हामीले त्यही सल्लाह मान्यौं।
बजारको पश्चिमपट्टि छ, भानु माध्यमिक विद्यालय। यसकै छेउबाट थानीडाँडा चढ्ने बाटो छ। ठाडै उकालो। साँघुरो बाटो। भीरमा समाई समाई हिँड्नुपर्ने। काठमाडौंमा भिरालो बाटो हिँडेको बानी छैन। बल्लबल्ल चढियो उकालो। ठाउँठाउँमा थकाइ मार्दै। साँच्चै सल्लाघारीमा हावा चल्दा आउने सुसेली आवाज मैले थानीडाँडा उक्लिँदा बन्दीपुरमा अनुभव गर्न पाएँ। जति माथि गयो उति सुन्दर देखिएका छन् घरहरू। घामका किरणहरू विस्तारै पहेँलिन थालेका छन्।
हावाको वेगमा कपालको गुजुल्टो फुकाएर फरर पार्दै हामी दिदीबहिनीले मन हलुंगो बनायौं। बाबा भने निकै माथि पुगिसक्नुभएको छ। हामीलाई छिटो गर्न संकेत गर्दै। गोडा बटारिँदै छन्। सूर्यास्तको दृश्य हेर्नै छ बन्दीपुरको डाँडाबाट। हामीसँगै तल बजारमा देखेका विदेशीहरू पनि आइपुगे मिसिन। उनीहरूको हिँडाइ डरलाग्दो छ। हामीले कसरी भेट्टाउन सक्नू।
क्यामराको लेन्सले पनि झर्को मान्यो होला। जता जे देखे पनि तेस्र्याएर फोटो खिच्ने हाम्रो भोक सकिएको थिएन। घरहरू देखे त्यसकै, हिमाल देखे त्यसकै, चराको हुल देखिए त्यतै तेस्र्यायो। खिचिक्क खिचिहाल्यो। त्यसरी शरीरमा थकाइ र मनमा आनन्द बटुल्दै थानीडाँडा पुग्दा घाम पश्चिम क्षितिजमाथि पुग्न लागेको रहेछ। लाग्यो, हामीलाई पर्खेर बसेको हो।
बन्दीपुरको ‘भ्यु प्वाइन्ट’का रूपमा चिनिने यहाँबाट जता हेरे पनि सुन्दर दृश्य छ आँखाभरि। हामी पुगेको केही बेरमा घाम विस्तारै सुलुलु हिँडेको चिप्लेकीराझैं क्षितिजमुनि गयो। हामीले हातले समाएझैं फोटो खिच्यौं। अस्ताउँदो सूर्यलाई नमस्कार गर्यौं। घाम अस्ताएपछि थानीडाँडामा हावाको साम्राज्यको अनुभव हुन थाल्यो। दिनभरिको हिँडाइको थकाइ बल्ल बौरिँदै आयो। गोडा काँपेको अनुभव हुन थाल्यो।
दिनभरि हिँडेर पसिनैपसिना भएको शरीर चिसिँदै छ। भोक पनि विस्तारै जाग्दै छ।
‘अब त झर्नुपर्छ बन्दीपुर बजार’, बहिनीहरू कराउन थाले। माथि डाँडामै बस्न त समय हुनु पर्यो नि ! उत्तरतिरबाट छिनभरमै कालो बादल लिएर आयो हावा। पानी मिसिएको बादल। प्रकृतिको जादु। एकैछिन अगाडिको सुन्दर र घमाइलो मौसम फेरियो। पानी पिरपिराएर हामीलाई भिजायो अलिअलि।
‘हेर्नु भो त सनसेट भ्यु ? ’, बन्दीपुर कौसी इनका साहुजीले सोधे। भिजेकै शरीर भए पनि हाम्रो मुहारको खुसी देखेर उनी पनि रमाए। आफ्नो ठाउँमा आएका पाहुनाको अनुहारमा खुसी देख्न पाउनु खुसीकै कुरो हो नि।
साँझको पिरपिरे पानीमा शीतलता अनुभव गर्दै हामी मीठो खानाको प्रतीक्षामा बसिरह्यौं। आजको रात बन्दीपुरमा बिताएर भोलि बिहान त जानु छ, मनकामना देवीको दर्शन गर्न गोरखातिर। मनले आजैदेखि मनकामना देवीलाई सम्झिरह्यो। हृदयले ढोगिरह्यो।
स्नातक पहिलो वर्ष, ग्रामीण आदर्श क्याम्पस