के गर्दै छौं हामी पत्रकार ?
मोहन मैनालीको पहिचान र सामथ्र्य हो-डुलुवा पत्रकार/लेखक। आँखीझ्याल भिडियो कार्यक्रम तयार गर्ने क्रममा उनी देशका धेरै भाग डुले। माओवादी द्वन्द्वकालमा पनि उनले धेरै ठाउँको जोखिमपूर्ण यात्रा गरे, रिपोर्टिङ गरे। मैनालीका ‘उपल्लो थलो’, ‘मान्ठा डराएको जुग’ तथा ‘देखेको देश’ पुस्तक प्रकाशित छन्। ‘मान्ठा डराएको जुग’ले पद्म श्री साहित्य पुरस्कार पनि प्राप्त गरेको थियो। मैनालीले बनाएको ‘जोगिमाराका ज्यूँदाहरू’ डकुमेन्ट्री चर्चित छ। फ्रेडरिक एच. गेजको पुस्तक मैनालीको अनुवादमा ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ नाममा प्रकाशित छ। अनि, उनी सम्पादक र तथ्य जाँचकी त हुँदै हुन्। ‘भ्रमण वर्ष २०२०’ सुरु भएको सन्दर्भमा धेरै यात्रा गर्ने-लेख्ने मैनालीसित विमल आचार्यको नेपाल यात्रा-संवाद :
तपाईं कहिलेदेखि हिँड्न थाल्नुभयो ?
-पहाडको जन्म। त्यसमाथि म सानो छँदा अहिलेजस्तो जताततै मोटर पुगेको थिएन। मेरो घरबाट सबैभन्दा नजिकको मोटर बाटो भेट्न दुई दिन कस्सिएर हिँड्नु होइन, दौडनु पथ्र्याे। त्यसैले हाटबजार गर्न अनि नातेदारकहाँ पाहुना लाग्नदेखि नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला सदरमुकाम जाने एउटै उपाय थियो, लामो बाटो हिँड्नु। त्यसैले, मैले घर छाडेर हिँड्न थालेको सानैदेखि हो।
तर यसो गर्दा मैले एकदुई रातबाहेक घर छाडेर हिँड्नु परेको थिएन। २०३७ फागुनदेखि २०३८ असारसम्म राष्ट्रिय जनगणना कार्यालयमा सहायक सुपरीवेक्षकको जागिर खाँदा भने लामो समय घर छाडेर निकै हिँडेँ। ताप्लेजुङको सदरमुकाम फुङलिङलाई बेस क्याम्प बनाएर त्यस वरपर। त्यसपछि, कलेज पढ्न २०३८ सालमा घर छाडेयता त हिँडेको हिँड्यै गर्दैछु कि जस्तो लाग्छ। तर, यति गर्दा पनि ६ वटा जिल्ला घुम्न त अझै भ्याएको छैन।
यात्रा किन जरुरी छ ? अझ पत्रकार-लेखकका रूपमा।
-चारवटा कारणले गर्दा पत्रकार घुम्न जरुरी छ-आफ्नो धर्म निर्वाह गर्न, आफ्नो काम सजिलो पार्न, आत्मसन्तुष्टि पाइने काम गर्न र रमाउन। कलेजमा जाँच पास गर्न पढेका पत्रकारिताका किताबमा भनेको थियो-निमुखा, दुःख पाएका मानिसको समस्या र उनीहरूका चाहना दुनियाँसामु पुर्याउनु पत्रकारिताको धर्म हो। सरकारी सम्पत्तिको हिनामिना भइरहेको छ भने त्यसबारे बताउनु पत्रकारिताको धर्म हो। लेखकले पनि यसो गर्दा भला मान्छेको केही बिग्रँदैन कि जस्तो लाग्छ। ‘समाजका लागि लेख्छु’ भन्ने लेखकले त यसो नगरी हुँदै हुँदैन।
उनीहरूका कुरा बाहिर ल्याउन सबैभन्दा पहिले पत्रकार/लेखक र ती मानिसबीच भेटघाट हुनुपर्यो। उनीहरूका समस्या र चाहनाबारे पत्रकारले थाहा पाउनुपर्यो। सामान्यतया, परम्परागत ढंगको पत्रकारिता गर्ने मानिसको भेट प्रायः त्यस्ता मानिससँग हुन्छ जो शक्तिशाली छन् र जसले आफ्नो स्वार्थ पूरा गर्न पत्रकारलाई उपयोग गर्न सक्छन्। निमुखा र दुःख पाएका मानिस प्रायः पत्रकार हत्तपत्त नपुग्ने दुर्गम (भौगोलिक, सांस्कृतिक, जातीय, क्षेत्रीय आदि धेरै हिसाबले दुर्गम) ठाउँमा बस्ने गर्छन्। त्यसैले, त्यस्ता मानिसलाई भेट्न नहिँडी हुँदैन।
यो पत्रकारिताको कर्तव्यको कुरा भयो। पत्रकारले यात्रा गर्नुपर्ने अर्को पनि कारण छ। त्यो हो-आफ्नो काम सजिलो बनाउन। पत्रकार छ्यासछ्यास्ती भएका ठाउँमा पाठकले पढ्न रुचाउने खालका र उनीहरूका लागि उपयोगी समाचार/फिचर भेट्न र तयार गर्न निकै मेहनत गर्नुपर्छ। पत्रकार आक्कलझुक्कल मात्र पुग्ने ठाउँ घुम्यो भने समाचार फिचर भेट्न र तयार गर्न धेरै दुःख गर्नु पर्दैन किनभने त्यहाँ जता हेरे पनि नौला कुरा देखिन्छन्, नौला कुरा सुनिन्छन्, नौला खालका समस्याबारे थाहा पाइन्छ। यस्ता कुरा समाज र देशका लागि उपयोगी पनि हुन्छन्।
मैले छापा र भिडियो माध्यमका लागि आफूले तयार गरेकामध्ये राम्रा सामग्रीको नाम लिनुपर्दा घुमेर तयार गरेका सामग्री मात्र सम्झन्छु। पाठक/दर्शकले धेरै रुचाएका सामग्रीको सूचीमा पनि यस्तै सामग्री पर्छन्। यस्ता केही सामग्री यी विषयसँग सम्बन्धित थिए-उत्तरी गोरखामा शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा खर्च भएको सरकारी सम्पत्ति दुरुपयोग हुँदा त्यहाँका मानिसले भोग्नु परेको कहालीलाग्दो दुःख/पीडा। कालीकोटको कोटबाडामा एअरपोर्ट बनाउँदा मारिएका धादिङको जोगीमाराका मजदुरका परिवारको बिचल्ली। दार्चुलाको बाटो भएर हुने वन्यजन्तुको तस्करी। २०७२ सालको भूकम्प र त्यसपछिको हिउँपहिरोले पुरेको लाङटाङ गाउँका बासिन्दा उठ्न खोज्दा सरकारले थिचेको। यस्तै यस्तै।
तेस्रो, आत्मसन्तुष्टि पाउन। कुनै पनि पेसामा लागेका मानिस आपूmले गरेका कामबाट सन्तुष्ट भएन भने उसले त्यो पेसा छाडेर हिँड्नु राम्रो हुन्छ भनिन्छ। पत्रकारिता पेसाका हकमा पनि यही हो। मैले घुमेर तयार गरेका सामग्रीबाट यस्तो आत्मसन्तुष्टि अत्यधिक पाउँछु। त्यस्ता स्टोरी सम्झँदा मलाई ‘मैले गर्ने काम यही त हो, यस्तै त हो’ भन्ने लाग्छ। मैले तयार गरेका स्टोरीले ठूलो परिवर्तन ल्याउनुपर्छ भन्ने म ठान्दिनँ किनभने त्यो मेरो बुताको कुरा होइन। परिवर्तन ल्याउने ठाउँमा म छुइनँ। कुनै पत्रकारले आपूmले स्टोरी गरेका विषयमा ठूलो परिवर्तन ल्याउने आकांक्षा लिन्छ भने उसले पत्रकार होइन सर्वशक्तिमान निरंकुश शासक बन्न कोसिस गर्नुपर्छ।
चौथो, रमाउन। जुनसुकै पेसाको भए पनि मानिस घुम्न रमाउँछ। पत्रकारले पनि घुमेर रमाउनुपर्छ। फरक कत्ति मात्र हो भने अरू धेरै पेसाका मानिसले घुम्दा आफ्नो अफिस/कामबाट छुट्टी लिनुपर्छ, पत्रकार घुम्न जाँदा छुट्टी लिनु पर्दैन। काम पनि हुन्छ, मनोरञ्जन पनि।
लाडटाङ उपत्यकाको क्यान्जिङ। तस्बिर सौजन्य : मोहन मैनाली
० यात्रा गर्नुअघि तपाईंले त्यस ठाउँबारे निक्कै तयारी (लुगाफाटो-औषधिमुलो-यन्त्रउपकरण आदि भनेको हैन, लिटरेचर रिभ्यु) गरेको देखिन्छ ? तयारी कसरी गर्नुहुन्छ ? किन गर्नुहुन्छ ?
-कुनै पनि ठाउँ आँखाले जस्तो देखिन्छ, त्यस्तो नहुन सक्छ। जे देखिन्छ, त्यो मात्रै नहुन सक्छ। त्यसैले म कुनै ठाउँ जानुअघि त्यस ठाउँबारे सकेसम्म बढी जानकारी खोज्छु। मलाई के विश्वास छ भने म जहाँ जान लाग्छु, त्यस ठाउँबारे मभन्दा पहिले कसै न कसैले लेखेर/खिचेर राखेको छ। उसले ‘मोहन मैनाली कुनै दिन पत्रकार हुन्छ, यस ठाउँबारे रिपोर्टिङ गर्न यहाँ आउँछ, त्यति बेला उसलाई यो जानकारी काम लाग्छ’ भन्ने सोचेर बडो कष्ट र मेहनत गरेर लेखेर राखिदिएको हो भन्ने ठान्छु। अनि ‘अरूले उदारमनले दिएको यस्तो ठूलो सहयोग लिइनस् भने तँ कहिल्यै उँभो लाग्दैनस्’ भनेर आपूmलाई सम्झाउँछु।
लुम्बिनी जाने अवसर मिल्यो भने म ‘दलविहीन पञ्चायती प्रजातन्त्र रजत जयन्ती महोत्सव, केन्द्रीय समन्वय समिति’ले प्रकाशन गरेको ‘पञ्चायत स्मारिका’ भन्ने ठूलो ढड्डा पल्टाउँछु र लुम्बिनी गुरुयोजनाबारे त्यहाँ लेखिएका कुरा पढ्छु। यसो गर्दा मलाई लुम्बिनी विकास क्षेत्रको पृष्ठभूमि थाहा हुन्छ। लुम्बिनी विकास योजना लागू गर्न उठिबास लगाइएका मानिसको नामनामेसी खोज्न ‘गोरखापत्र’का पुराना पाना पल्टाउँछु। लुम्बिनी जाँदा त्यो नामनामेसी लिएर जान्छु र ती मानिस अथवा तिनका सन्तानलाई भेट्छु। उनीहरूको अवस्था हेर्छु। अनि उनीहरूलाई बिचल्ली पारेर खाली गरिएको ठाउँमा बनाइएका होटल चलाउने एकलौटी अधिकार पाएका धनाढ्यको अवस्था हेर्छु। त्यहाँका बासिन्दालाई खेदेर खाली गरिएका ठाउँको सदुपयोग/दुरुपयोग के भएको छ भनी हेर्छु। अनि यस विषयमा गहिराइमा पुगेर लिएको जानकारी पाठक/दर्शक/ श्र्रोताको मन छुने गरी प्रस्तुत गर्न कोसिस गर्छु।
गोरखाको उत्तरी भेग जाँदा आङसान सुकीका श्रीमान् माइकल एरिजले मेरा लागि यस ठाउँबारे केही लेखेर राखिदिएका छन् कि भनी खोजेँ। मनासलु चढ्न आएको जापानी पर्वतारोहीको टोलीले यस ठाउँको दृश्य खिचेर मलाई राखिदिएका छन् कि भनेर विभिन्न ठाउँ चहारेँ। चितवन जानुअघि जुद्धशमशेरले उहिले त्यहाँ कतिवटा बाघ मारेका थिए भनेर तिमीले गनेर राखेका थियौ कि भनी स्वर्गबासी बालकृष्ण समलाई सोधेँ। उनले ‘छ त, मैले लेखेको मेरो कविताको आराधन पढ् न’ भने। तमोर नदीको माथिल्लो भेग जानुअघि मैले प्रसिद्ध जीववैज्ञानिक डार्बिनका साथी वनस्पतिविद् जे.डी. हुकरलाई गुहारेँ। उनले मलाई सन् १८४८ मा त्यो ठाउँमा जाँदा के-के थाहा पाएका थिए, त्यसको फेहरिस्त दिए।
आफ्ना पितृ/पुर्खाले ‘तँलाई सहयोग गर्छु’ भन्दा कहिलेकाहीँ बुद्धि नपुगेर ‘चाहिँदैन तेरो सहयोग’ भन्ने गरेको छु। पछि थकथक लागेको छ। उत्तरी गोरखा जाँदा मैले धेरै महिला तथा पुरुषको अनुहारको क्लोज अप फोटो खिचेँ। त्यसो गर्दा मैले अनुहारमा जोड दिएकाले उनीहरूले गलामा लगाएको मालाको सबैभन्दा तलको एउटा गहनालाई काटेर त्यसमाथिको मात्र खिचेछु। पछि काठमाडौँ फर्केपछि थाहा पाएँ-मैले फोटो खिच्दा मालाको जुन गहना (जिमाला/सिमाला) लाई बाहिर पारेको थिएँ त्यसको मूल्य एक करोड रुपैयाँ रहेछ। अर्काे पटक त्यस ठाउँमा गएका बेला त्यो गहनाको फोटो खिच्न खोज्दा थाहा पाएँ-त्यो गहना या ताइवान पुगिसकेछ या त कसैले चोरेर ताइवान पुर्याइदेलान् भन्ने डरले मानिसले त्यसलाई लुकाएछन्।
तिब्बती संस्कृति र बहुपति प्रथाका विशेषज्ञ, ग्रिस र डेनमार्कका राजकुमार पिटरले उहिल्यै संकलन गरेर खिचेको जिमालाको फोटो हेरेको भए अनि जिमालाबारे जानकारी भएको किताब/लेख पढेको भए म अहिले पछुताउनुपर्ने थिएन।
तपाईंले यात्राका कुरा धेरै लेख्नुभयो-देखाउनुभयो। यो कला कसरी सिक्नुभयो वा जुर्यो ? लेख्ने प्रक्रिया के हो ?
नेपालका धेरै भाग घुम्दा म टेलिभिजन पत्रकारका रूपमा घुमेँ। हामीसँग भिडियो क्यामरा थियो, स्टिल क्यामरा पनि थियो। त्यसैले, मैले देखेका धेरै दृश्य र सुनेका आवाज अहिले पनि सुरक्षित छन्। टेलिभिजन पत्रकारितामा ‘रेक्की’, ‘सुटिङ’ जस्ता सैनिकले बोल्ने शब्दावली बोलिन्छ। सुरुसुरुमा मलाई यसो किन गरेको होला जस्तो लाग्थ्यो। पछि यस विषयको तीनहप्ते तालिममा गुरुले भनेका कुरा सुनेपछि र क्यामराम्यान तथा निर्देशक ध्रुव बस्नेत र सम्पादक रवीन्द्र पाण्डेजस्ता साथीसँग काम गर्दै जाँदा मैले के थाहा पाएँ भने यस काममा सिपाहीजस्तो अनुशासित हुनुपर्दाे रहेछ।
जस्तै, घुम्न गएका बेला पानी पर्यो भने पहिलो काम क्यामरा र रेकर्डर अनि खिचिसकिएका टेप/रिल (दृश्य र आवाज कार्डमा स्टोर गर्ने सजिलो प्रविधि थिएन) जोगाउने, त्यसपछि मात्र आपूm जोगिने। लडेर सामान्य चोटपटक लाग्ने भयो भने उपकरण पहिला जोगाउने। सामान्य चोट लाग्दा पनि मान्छेले काम गर्न सक्छ, उपकरणले सक्दैन। मान्छेलाई लागेको सामान्य चोट केही दिनमा आफैं निको हुन्छ, उपकरणलाई लागेको चोट यत्तिकै निको हुँदैन। (ज्यानै जाने अवस्था आइलाग्यो भनेचाहिँ ज्यान जोगाउनतिर लाग्ने, उपकरण होइन !)
घुम्न गएका बेला जे जति जानकारी लिइन्छ तिनको विस्तृत रेकर्ड राख्ने। दृश्य खिचेको मिति, नाउँ, ठाउँ, त्यसका विशेषता आदि कुरा नोटमा टिप्ने जति धेरै गलेको भए पनि, जतिसुकै गम्भीर बिरामी भए पनि। ‘सम्झिहाल्छु नि !’ भनेर अल्छी नगर्ने। फिल्डमा अलिकति दुःख गर्दा पछि धेरै दुःख पाउनु पर्दैन।
तालिममा गुरुले भनेका थिए-घुमेर फर्किएपछि कुन ठाउँमा कुन दृश्य र आवाज छ भन्ने कुरा रिट्ठो नबिराई टिप्ने। आपूmले कुराकानी गरेका मान्छेले बोलेका एक एक शब्द कागजमा टिप्ने। तालिममा भनिएका कुरा सकेसम्म धेरै पालना गर्ने प्रयास गरेकाले मैले रिपोर्टिङ गरेका विषयसँग सम्बन्धित जानकारी मसँग सुरक्षित भए। यसले गर्दा धेरैपछि किताब लेख्न मलाई सजिलो भयो।
नेपाल प्रेस इन्स्टिच्युट र बेलायतको थम्प्सन फाउन्डेसनले फिचर लेखन तालिम दिएका थिए। त्यसमा सिकेको लेख्ने कलाले मलाई ठूलो सहयोग गर्यो-पत्रकारिता लेखन र किताब लेखन दुवैमा। यी संयोग नजुरेका भए म घुम्थेँ, अपूरो जानकारीका भरमा टीभी कार्यक्रम बनाउँथे, पत्रिकामा लेख्थेँ। किताब लेख्ने अवसर पाउने थिइनँ।
० पछिल्लो पटक निस्केको तपाईंको पुस्तक ‘देखेको देश’ -भलै यसमा तपाईंका ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’मा जस्तो यात्रा मात्र छैन -कस्तो हो ? तपाईंले ‘देखेको देश’ कस्तो हो ? यो अलि अमूर्त झ्याउलाग्दो झुर प्रश्न भएकामा क्षमाप्रार्थी छु।
-मैले आफ्नो देश हेर्न यस किताबमा समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्री, वनस्पतिविद्, भूगोलविद्, विकासविद्, वातावरणविद्, योजनाविद्, पत्रकार, विश्लेषक र कविकलाकार आदिको आँखा सापट लिएको छु। यसका आधारमा मैले मूलतः यी कुरा हेर्ने र आपूmले हेरिसकेपछि अरूलाई देखाउने प्रयास गरेको छु ः एक करोड वर्षअघिको नेपाल कस्तो थियो होला ? हामी नेपाली बसेका ठाउँका उत्तर र दक्षिणमा उभिएका हिमालले हामीलाई के दिन्छन् ? हामीलाई बाँच्ने आधार दिएको प्रकृति र भूमिलाई हामीले के कस्तो व्यवहार गरेका छौं ? हामीले पुर्खाबाट कस्तो समाज पाएका थियौं र आफ्ना सन्ततिलाई कस्तो समाज सुम्पँदै छौं ? हामी पत्रकार के गर्दै छौं ? आदि।
० नेपाल-यात्राका क्रममा तपाईंले बिर्सिन नसकेका दुई चारवटा सुखद कुरा सुनाउनुस् न ? (पाठकहरू ! नेपाल र नेपालीका दुःख पढ्न मैनालीका पुस्तक पढ्नुहोला।)
साउन भदौको झरीमा तीन हप्ता गोरखा घुमेर जिल्ला सदरमुकाम आइपुग्ने बेलामा एउटा होटलमा बास बसेका थियौं। धेरै दिन रूखो सुक्खा खाना खानु परेकाले सामान्य खालको मीठो खाना खान लोभ लाग्यो र होटलको खाना पकाउने भाइलाई खाना मीठो बनाइदेऊ है भन्यौं। ‘मैले तपाईंहरूलाई चिनिसकेँ। सकेसम्म मीठो खाना खुवाइहाल्छु नि !’ उसले भन्यो।
उसले हामीलाई किन यस्तो सत्कार गर्न खोजेको होलाजस्तो लाग्यो। पछि थाहा पायौं। हामीले सात वर्षअघि उहियाको लेकको भेडीगोठमा उरसिं गुरुङलाई भेटेका थियौं। उनीसमेतको कुराकानीका आधारमा भेडीगोठालाको जीवनबारे हामीले बनाएको रिपोर्ट नेपाल टेलिभिजनबाट प्रसार भएको थियो। यी भाइ उरसिंका भतिजा पर्दा रहेछन्। आफ्ना नातेदारसमेतको जीवनगाथा खोजेर टेलिभिजनबाट देखाइदिने हामीलाई उनले आफन्तै मानेका रहेछन्।
एक पटक इलामको माईपोखरी जाँदै थियौं। भाडामा लिएको लोकल गाडीका ड्राइभरलाई जसबिरेमा कमल मुखियाका घरमा एकैछिन रोकिदिन भन्यौं। उसले जसबिरेमा गाडी रोकेन। भन्यो, ‘कमल दाइ माथि माईपोखरीमै हुनुहुन्छ।’
माईपोखरी पुग्दा कमल मुखिया त्यहाँ थिएनन्। उनीसँग भेट नहुने भयो, माईपोखरीबारे हाम्रो रिपोर्टिङ खल्लो हुने भयो भन्ने चिन्ता गरेर सुत्यौं। भोलिपल्ट बिहान कमल मुखियाको आवाजले हामीलाई ब्यूँझायो, ‘हिजो बेलुका एकजना ड्राइभरले माईपोखरीमा बास बसेका मान्छेले तँलाई खोज्दै थिए भन्यो। हिजो त रात परिहाल्यो। आज बिहानै दौडिएर आएको !’
‘कसले खोजेको ? किन खोजेको ? जान्नुसुन्नु केही छैन। यत्तिकै दौडिदिने ? ’ मैले कमललाई जिस्क्याएँ।
‘मलाई अरू कसले खोज्छ र ! आफन्तले नै त खोज्छन् !’ उनले भने।
नेपालीका लागि आपूmलाई जसले खोज्यो ऊ आफन्त ! जसले सहयोग माग्यो ऊ आफन्त ! आफ्ना सारा काम छाडेर उसलाई भेट्न र सहयोग गर्न दौडिहाल्छ !
मलाई लाग्यो-मानिसको भेषमा आएको भगवान् होइन त नेपाली !
यस्ता थोरै मान्छे रहेसम्म नेपाल समृद्ध रहन्छ। बिगार्नेहरू धेरै भए पनि।
नेपाल घुमेर तपाईंले अझै लेख्न चाहिरहेको विषयवस्तु-बस्ती ?
तमोर नदीको सिरानको गाउँ घुन्सादेखि कोसी ब्यारेजभन्दा अलि तल्तिरका गाउँसम्म पटक पटक हिँडेको छु। कहिले विद्यार्थी भएर, कहिले पत्रकार भएर, कहिले पत्रकारिता तालिमको प्रशिक्षक भएर। तमोरको यही पानीढलोका मान्छे, उनीहरूको जीवन, उनीहरूले भोगेका दुःखसुख, उनीहरूका संस्कृति र समयक्रममा उनीहरूमा आएको परिवर्तनबारे तीन/चार सय पेजको किताब सन् २०२० को अन्त्यसम्ममा लेखिसक्ने विचार गरेको छु।
० नेपालले पर्यटनबाट फाइदा लिन सक्छ, पर्यटनमा प्रचुर सम्भावना छ भन्ने रटान धेरै भयो। तर, प्रशस्त सम्भावना भएर पनि फाइदा लिन अझै सकिएको छैन, तपाईं के भन्नुहुन्छ ?
भगवान्ले भनेका थिए रे, ‘तँ चिता। म पुर्याउँछु।’ मानिसले जुन कुरा चिताउँछ त्यो पूरा गर्न भरमग्दुर प्रयास गर्छ भन्ने शाश्वत सत्यलाई मनन गरेर भगवान्ले त्यसो भनेका थिए होलान्। तर यो भनाइ हामी अल्छीले सुन्यौं। त्यही भएर पर्यटनको प्रशस्त सम्भावनाको उपयोग गर्ने भन्ने चितायौं र भगवान्लाई भनिदियौं, ‘हामीले चिताइदियौं। ल, पुर्या !’
कहिलेकाहीँ लाग्छ। हामीले त्यति मात्रै भनेका छैनौं। ‘कसरी पुर्याउँदो रहेछस्, हेरौंला !’ भनेर भगवान्ले चाहे पनि पूरा गर्न नसक्ने गरी बाधा खडा गरेका छौं।
भैरहवामा ठूलो एअरपोर्ट बनाउँदै छौं। छेउमा पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना भएको लुम्बिनी छ। भगवान्ले त्यहाँ पर्यटन प्रवद्र्धन गरिदेलान् भनेर डराएर हामीले भैरहवा एअरपोर्टबाट लुम्बिनी जाने बाटाभरि उद्योग ठड्यायौं। संसारमा उपलब्ध जतिसुकै अत्याधुनिक प्रविधि उपयोग गरे पनि उद्योगले हावापानी प्रदूषण गर्छ गर्छ, हल्ला गर्छ गर्छ। अशान्ति र प्रदूषण खान लुम्बिनी कोही आउला र ?
भैरहवादेखि लुम्बिनी जाने बाटो बनाउन भनेर भत्कायौं, अनि त्यत्तिकै छाडिदियौं। कसैलाई मतलब छैन। वर्षाैंसम्म मतलब छैन।
अतिथि सत्कार पनि हाम्रो संस्कारमा उति देखिँदैन। होटल खोल्यो, रेस्टुरेन्ट खोल्यो। आफ्नो सेवा ग्राहकलाई चित्त बुझेन भने त्यसमा सुधार गर्न हात नचलाउने, ग्राहकलाई मुख चलाउने।
तपाईंको सिफारिसमा नेपालको विविध प्रकृति र संस्कृति चिन्न पढ्नुपर्ने किताब ?
हर्क गुरुङका ‘मैले देखेको नेपाल’ र ‘विषय विविध’। डोरबहादुर विष्टको ‘सबै जातको पूmलबारी’। टोनी हागनको ‘नेपालको चिनारी’ र ‘बिउल्डिङ ब्रिजेज टु द थर्ड वल्र्ड’। तीर्थबहादुर श्रेष्ठका ‘नेपाल ः नखुलेका पाटाहरू’, ‘नेपाल अध्ययन भाग १ ः भू-स्वरूप र हावापानी’। श्यामलको ‘रित्तो गाउँ’। देविचन्द्र श्रेष्ठको ‘हुम्ला बोल्छ मानसरोवरमा’। जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’। लेखनाथ पौड्यालको ‘ऋतुविचार’। रोशन शेरचनको ‘चम्पारन ब्लुज’। शारदा शर्माका ‘भुइँपूmलको देश र ‘अर्काे भुइँपूmल’। बेरी सी. बिसपको ‘कर्णाली अन्डर स्ट्रेस’। ददि सापकोटाको ‘त्यो नेपाल’। इकाइ कावागुचीको ‘कावागुचीको नेपाल बसाइ’। रत्नाकर देवकोटाको ‘कर्णालीको अथ-इति’। जे.डी. हुकरको ‘द हिमालयन जर्नल’ (नेपाल खण्ड)। यस्तै यस्तै।
तपाईंको सिफारिसमा नेपालको विविध प्रकृति र संस्कृति चिन्न हेर्नुपर्ने डकुमेन्ट्री/रिपोर्टहरू ?
टोनी हागनको ‘उहिलेको नेपाल’ (सन् १९५० देखि १९६० को दशकको नेपालको पहाडी र हिमाली भेग)। माइनिची सिम्बुन, ‘मनासलु’ (सन् १९५६ मा जापानी पर्वतारोही दलको मनासलु आरोहण अभियानसम्बन्धी)। नेपाल वातावरण पत्रकार समूहले नेपालका धेरै भागका वन्यजन्तु, वातावरण, प्रकृति, संस्कृति जस्ता विषयमा डकुमेन्ट्री/भिडियो रिपोर्ट तयार गरेको छ। नेपालका तालको शृंखलाबद्ध रिपोर्ट तयार गरेको छ; जसमा इलामको माईपोखरी, झापाको जामुनदह, मोरङ र धनकुटाका राजारानी पोखरी, संखुवासभाको सभापोखरी, जनकपुरका सरोवर, गोसाइँकुण्ड, पोखराका नौवटा ताल, कपिलवस्तुको अजिगरा, फोक्सुण्डो र घोडाघोडी ताल समेटिएका छन्। यस्तैगरी नेपालका विविध संस्कृतिसम्बन्धी शृंखला पनि तयार गरेको छ। ती सामग्री हेर्दा लाभै होला।
तपाईंको सिफारिसमा नेपालको विविध प्रकृति र संस्कृति चिन्न पुग्नुपर्ने गन्तव्यहरू ?
आफ्नो घर छाडेर जता हिँडे पनि नयाँ नौलो ठाउँमै पुगिन्छ। त्यस्ता ठाउँको यात्रा रोचक भइहाल्छ। तैपनि मेरो रुचिअनुसारका केही ठाउँ सिफारिस गर्नुपर्दा अलि सजिला ठाउँ इलामको सन्दकपुर र माईपोखरी, तेह्रथुम-संखुवासभा-ताप्लेजुङको तीनजुरे-मिल्के-जलजले, सुनसरीको भेडेटार, धरान, मोरङको राजारानी पोखरी, दोलखाको जिरी, पाल्पाको तानसेन र वरपर, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडी ताल, मधेसका राष्ट्रिय निकुञ्ज र आरक्ष ः कोसी टप्पु, चितवन, बर्दिया र शुक्लाफाँटा। धार्मिक/प्राकृतिक दृष्टिले महत्वपूर्ण ठाउँ ः पाथीभरा, हलेसी, जनकपुरधाम, कालिञ्चोक, काठमाडौं उपत्यका र वरपर, मनकामना, लुम्बिनी/कपिलवस्तु, स्वर्गद्वारी, बडीमालिका, वराह क्षेत्र।
अलि कठिन लेकाली भेगको पनि कुरा गरौं। तीन हजार मिटरभन्दा अग्ला पहाड मानिसको घमण्ड तोड्न बनेका हुन्। त्यसैले त्यहाँ पुगेपछि तल्लो भेगमा जस्तो जबर्जस्ती नगर्दा राम्रो। यहाँभन्दा माथि जान सक्दिनँ कि जस्तो लाग्नेबित्तिकै तल झर्नु उचित हुन्छ। नत्र ज्यान जान सक्छ। यस्ता ठाउँ ः ताप्लेजुङको काम्बाछेन, संखुवासभाको सभापोखरी, मकालु-बरुण क्षेत्र, सगरमाथा, लाङटाङ, मनासलु वरपर, अन्नपूर्ण वरपर, मनाङ, मुस्ताङ, ढोरपाटन, डोल्पो, रारा ताल, खप्तड, दार्चुलाको दुँब्यास (लिपुलेकसम्म)।
हिँड्ने जाँगर छैन। गाडी र प्लेनमा हिँड्न अप्ठ्यारो हुन्छ। घर छाड्न मिल्दैन। जीउले जाडो र गर्मी सहँदैन। आफ्नो घरबाहेक अन्त खान-बस्न अप्ठ्यारो लाग्छ। पैसा धेरै छैन आदि आदि अवस्था छ भने विकल्प सुझाउँछु-चार-पाँच हजारसम्म रुपैयाँ बोक्ने। आफ्नो घरबाट नजिकको पुस्तक पसल जाने। त्यहाँ आफ्नो रुचिअनुसारका (अति भावुकदेखि तथ्यांकप्रति अति लगाव भएका यात्राकारका) यात्रा संस्मरणका पुस्तक छान्ने। अनि घर फर्कने। मन लागेका बेला, मन लागेको किताबको मन लागेका पाना, आपूmलाई मन लाग्ने ठाउँमा बसेर पढ्ने। मनको यात्रा गर्ने।
@BimalSalyan