मन
तिम्रो मनसँग यति लामो समयसम्म संगत गरेपछि
बल्ल हिजो साँझ थाहा पाएँ-
तिम्रो मन बेलुन जस्तै रहेछ।
जसरी
बारम्बार तिमीले,
आफ्नो मनलाई हामी बीच ल्याइरहन्छ्यौ
त्यसरी नै ल्याउन खोजेको थिएँ मैले
मेरो मनलाई हामी बीच !
मलाई त यो पनि थाहा छैन
तिमीले जेलाई मन भन्छ्यौ
त्यस्तो मन मसँग छ कि छैन !
तर, हिजो साँझ यो त निधो भयो कि
तिमीसँग पक्का एउटा मन छ,
जुन बेलून जस्तै छ।
मलाई हावा जस्तै हलुका लाग्ने
मसिना कुराहरू
मेरो मुखबाट
घरी घरी तिम्रो मनमा पसिरहँदा रहेछन्
तिम्रो मनलाई फुलाइँरहदा रहेछन्।
मलाई यस्तो पनि लागिरहेको छ-
तिमीभित्रको मन
बेलुन जस्तै कमजोर भए पनि
अलि अलि चलाख पनि छ,
फुट्छु कि भन्ने डरले
आफूभित्र चित्त दुःखाउँदै भरिएको हावालाई
घरी घरी आँखाबाट आँसु बनाएर रसाइदिन्छ।
मलाई हिजो साँझयता
डर पनि लागिरहेको छ,
कथमकदाचित तिम्रो मनले आँखाबाट
आँसु भएर रसाउन बिर्सियो भने
एक दिन मन फुट्नेछ।
तिमीभित्र चित्त दुख्ने तिम्रो प्यारो मन हुनेछैन।
ओहो, तिमी कहिल्यै रिसाउने छैनौ।
त्यसपछि त, उधुम पो हुनेछ।
अब भनिदेऊ न,
तिमी,
तिम्रो मनलाई,
तिमीभित्र
बचाइराख्न चाहन्छौ वा फुटाल्न ? @Nisprabh