हिमपातले कतै पीडा, कतै खुसी (फोटो फिचर)
भोजपुर : शुक्रबार बिहानबाट सुरु भएको हिमपातले कतै पीडा दिएको छ भने कतै खुसी मिलेको छ। जिल्लाका उच्च पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएपछि हिउँको आनन्द उठाउने आन्तरिक पर्यटकको संख्या बढेको छ। त्यस्तै हिउँदेबालीका लागि राम्रो सिँचाई पुगेपछि कृषक खुसी छन्।
भोजपुरको ‘भेडेटार’ भनेर चिनिने ‘सुन्तलेडाँडा’ र एकसय पर्यटकीय नयाँ गन्तव्यमा सूचीकृत टेम्केडाँडामा आन्तरिक पर्यटकको संख्या बढेको हो। वर्षाैपछिको बाक्लो हिमपातले पर्यटकीय गन्तव्यमा सदरमुकाम, आसपास ग्रामीण क्षेत्र र जिल्लाबाहिरबाट पनि आन्तरिक पर्यटकको घुँइचो लागेको हो। हिउँ खेल्न बुढाबुढीदेखि केटाकेटीसम्म पुगेका छन्।
‘हिउँ हेर्नुको मज्जा नै छुट्टै छ’, कलेजका साथीसँग सुन्तलेडाँडा हिउँ खेल्न आएका सन्देश राईले भने। पुसको वर्षासँगै टेम्केडाँडा, मैयुङडाँडा, सुन्तलेडाँडा, चखेवाडाँडा, हाँसपोखरी, साल्पासिलिछो क्षेत्र, सिलिचुङडाँडा सेताम्मे छन्।
हिमपातका कारण बढेको चिसोले उच्च भेगको जनजीवन प्रभावित भएको छ। हिमपातले कृषकलाई भने हर्ष तुल्याएको छ। हिउँ परेपछि सिंचाई नभएका स्थानमा सिंचाई सहज बनेपछि किसान खुसी भएका हुन्।
उच्च भेगमा लगाइएको गहुँ, जौ, केराउ, चना, मुसुरो, आलुलगायतका हिँउदेबालीलाई फाइदा पुगेको भोजपुर नगरपालिका–५ बोखिम सुन्तलेका स्थानीय दाबा शेर्पाले बताए।