निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल किन ?

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल किन ?

त्रिभुवन विमानस्थलको विकल्पका रूपमा दुई दशकअघि नै नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक अध्ययन भएको थियो। त्यतिबेला भौगोलिक रूपमा उपयुक्त विमास्थलको खोजी गर्नुपर्ने अवस्था थियो। यसका लागि सरकारी स्वामित्वमा रहेको नेपाल इन्जियिरिङ कन्सल्टेन्सी सर्भिसेस (नेपिकन) लाई परामर्शदाता तोकियो। यसले गरेको प्रारम्भिक अध्ययनबाट चितवन, दाङ, नेपालगन्ज, विराटनगर, पोखरा, भैरहवा तथा लुम्बिनीको रुद्रपुरसहित १० स्थानलाई सम्भावित औंल्यायो। यसको प्रतिवेदनमा प्रस्तावित १० वटै सम्भावित स्थानको प्रारम्भिक सर्वेक्षणपश्चात् बाराको निजगढ (जितपुर सिमरा उपमहानगर) क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थलको उपयुक्त स्थान भएको निष्कर्ष निकाल्यो।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको आर्थिक रूपान्तरणमा समेत सहयोग पुग्छ। विमानस्थल देशको प्रमुख सडक यातायातसँग जोडिनुका साथै राजधानी काठमाडौंसँग समेत यसको सहज पहुँच हुन आवश्यक हुन्छ। यही तथ्य मनन गरी राजधानीबाट तराई क्षेत्र जोड्ने द्रूतमार्गको अध्ययन त्यसैबेला सुरु भएको हो। राजनीतिक स्वार्थस्वरूप निजगढको सट्टा सिद्धार्थ गौतमबुद्धको जन्मथलो लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न संसद्का दुईतिहाइ सदस्यहरूले सरकारसमक्ष लिखित मागपत्र प्रस्तुत गर्न भ्याएका थिए। यसपछि लुम्बिनीको रुद्रपुर क्षेत्रमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो। भारतीय सीमाको अत्यधिक निकट रहेको लुम्बिनी क्षेत्र प्राविधिक, आर्थिक एवम् अन्य दृष्टिले समेत यहाँ विमानस्थल निर्माण गर्न उपयुक्त देखिएन। २०६२ सालको सफल जनआन्दोलनपछि सरकारले विस्तृत सम्भाव्यता अध्ययनले देखाएकोे निजगढमै विमानस्थल निर्माण गर्ने निर्णय गर्‍यो।

उच्च राजनीतिक स्तरबाट गरिएको यो निर्णयपश्चात् अन्तर्राष्ट्रियस्तरमा समेत यसको सकारात्मक प्रभाव पर्न गयो। विमानस्थल बनाउन विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूले चासो देखाउन सुरु गरे। यसै क्रममा कोरियाको ल्यान्डमार्क वल्र्डवाइड (एलएमडब्लू) ले बुट प्रणालीमार्फत काम गर्ने चासोसहितको प्रस्तावना पेस गर्‍यो। सरकारले यो कम्पनीलाई विस्तृत अध्ययन गर्न अनुमति त दियो तर विमानस्थलकै निर्माण गर्ने जिम्मा भने दिएन। यसले विस्तृत अध्ययन गर्दा ३.६ मिलियन अमेरिकी डलर खर्चिएको थियो। बुट प्रणालीअन्तर्गत अध्ययनको खर्च अध्ययन गर्ने संस्थाले नै व्यहोरेको छ। विमानस्थलको निर्माण सम्भाव्यता अध्ययन गर्ने संस्थाले नै पाएको अवस्थामा अध्ययनको खर्च उसैले व्यहोर्ने छ, अन्यथा नेपाल सरकारले सोबराबरको रकम अध्ययन गर्ने संस्थालाई भुक्तानी गर्नुपर्ने हुन्छ।

भौगोलिक बनावटका आधारमा र नेपालको पूर्व-पश्चिम क्षेत्रको करिब बीच भागमा रहेकाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा तयार गर्नु नै बुद्धिमानी हो।

निजगढ विमानस्थल बनाउने क्रममा अब विलम्ब गरिनु हुँदैन। नयाँ निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थल बारा जिल्लाको डुम्बरबानामै किन ?   छिमेकी मुलुक भारतको उच्च प्रविधि एवम् औद्योगिक, व्यापारिक क्रियाकलापले विकसित बिहार राज्यको रक्सौलसँगै जोडिएको नेपालको भूमि वीरगन्ज छ। प्रमुख औद्योगिक तथा व्यापारिक यो सहर बारासँगै जोडिएको छ। यस्तोमा छिमेकी मुलुकको विकसित क्षेत्रसँग नजिकै रहेको बारा जिल्लामा नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन सकेमा अन्तर्राष्ट्रिय व्यापारिक दृष्टिकोणबाट नेपालले निकै लाभ लिन सक्छ। त्यसैले पनि यो विमानस्थल चाहिन्छ।

निजगढमा विमास्थलसँगै विमानस्थल सहरसमेतको परिकल्पना भएको छ। यो र आसपासका क्षेत्रमा विकासका विभिन्न पूर्वाधारको विकास भइसकेको अवस्थाले थप लाभ लिन सकिने हुन्छ। पूर्वाधारहरूको विकासमा खासगरी सडक, रेल यातायातको सुविधाले विमानस्थलसँग जोड्ने विकासमा उल्लेख्यनीय भूमिका खेल्छ। भारतले आफ्नो मुलुकको प्रमुख सहरहरूसँग जोडी रक्सौलसम्मको रेल यातायात सेवाको विकास विस्तार गरिसकेको छ। यस्तो अवस्थामा बारा जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले विमानस्थल सहरका रूपमा विकास गर्न र त्यसको प्रत्यक्ष फाइदा नेपालले भारतका प्रमुख सहरहरूसम्म विभिन्न व्यापारिक पहुँच पुर्‍याउनेदेखि लिएर पर्यटन विकासमा समेत उल्लेख्यनीय सुधारमा टेवा पुग्न जाने निश्चित छ।

अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय विमानस्थल मात्रै आवश्यक भएको तथ्यलाई राष्ट्रले अंगीकार गरेको छ। आगामी दिनमा तयार हुने राष्ट्रको आर्थिक उन्नतिको दिशामा अहम् भूमिका निर्वाह हुन सक्ने पक्का छ। राष्ट्र उन्नति हुन सबै क्षेत्रको समुचित विकास हुनुपर्ने हुन्छ। समग्र राष्ट्रको विकासविना त्यहाँ बसोवास गर्ने आमनागरिकले त्यसको पूर्ण उपभोग गर्न असम्भव हुन्छ। यसलाई आधार मान्ने हो भने नेपालको भौगोलिक बनावटका आधारमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमा तयार गर्नु नै बुद्धिमानी हो। बारा जिल्ला नेपालको पूर्व-पश्चिम क्षेत्रको करिब बीच भागमा अवस्थित छ। मध्य भागमा रहेको स्थानमा यस प्रकारको विविध विकाससँग जोडिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनाले यसबाट प्राप्त हुने लाभ छिटोछरिटो एवम् सन्तुलित ढंगले आमनागरिकसम्म प्रतिफल पुग्न जाने निश्चित छ।

हवाई यातायातको दृष्टिले भारत नेपालको तुलनामा अत्यन्तै यात्रुको चाप बोकेको देशको रूपमा रहेको छ। भारतको हवाई यातायातलाई कुनै नोक्सानी नपुर्‍याई बढी भार अथवा व्यस्त हवाईको चापलाई मात्र नेपालमा प्रवेश गराउन सकिएमा छिमेकी मुलुक भारतलाई सहज हुने मात्रै हुँदैन, नेपाली भूमिमै बन्ने यस्तो विमानस्थलले उल्लेख्य आयआर्जन गर्न सक्नेछ। यस कार्यनिमित्त पनि भारतसँग नजिक रहेको बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नु   श्रेयष्कर हुनेछ। हुन त नेपालले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा लुम्बिनीस्थित गौत्तमबुद्ध विमानस्थललाई तयार गर्ने अभिप्रायले यसको कार्यान्वयन भई अन्तिम चरणमा पुगिसकेको छ।

गौत्तमबुद्ध विमानस्थल मात्र होइन, देशका नेपालगन्ज, विराटनगर, धनगढीसमेतलाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा परिणत गर्न सके सुनमा सुगन्ध हुन्छ। तर, सीमित साधन र स्रोत मुलुकले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणजस्ता ठूला योजनामा वस्तुगत ढंगले हेर्नुपर्ने र सोहीअनुरूपको प्राथमिकतासमेत निर्धारण गर्नुपर्ने हुन्छ। यस स्थितिमा नेपाली आकाशको अधिकतम सदुपयोग हुने क्षेत्रलाई केन्द्रविन्दु बनाई नेपाली भूभागलाई ध्यान राख्न चुक्नु हुँदैन। यस अवस्थामा भारतसँग करिब ३० किमिभित्र रहेको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले पर्याप्त भूमिका साथै पर्याप्त हवाई आकाश प्राप्त गर्न सक्ने हुन्छ। यसबाट नेपालको हवाई यातायात अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच पुग्न निकै सजिलो हुन जान्छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ८० वर्ग किमिको छ। यसमा पूर्व-पश्चिम १० किमि र उत्तर-दक्षिण आठ किमि हुने जनाइएको छ। यस क्षेत्रमा खासगरी राष्ट्रिय वन क्षेत्र छ भने मध्य भागमा टाँगिया बस्तीको रूपमा मानव बसोवास छ। मानव बस्तीको घरधुरी संख्या १३१६ छ। राष्ट्रिय वन क्षेत्रमा यसरी वर्षौंदेखि सुकुम्बासीका रूपमा रहँदै आएको मानव बस्तीलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै स्थानान्तरण गर्नुपर्ने हुन्छ। नेपालले राष्ट्रिय वन क्षेत्र भनी तोकिए पनि विगत समयदेखि वनको चरम विनाश कार्यले गर्दा नाममात्रको वनका रूपमा अवस्थित छ। बाँकी वन विनाश नगरीकनै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार गर्न सकिने प्रशस्त सम्भावना छ। अतः भावी सुनौलो नेपाल, सुखी समृद्ध नेपालको प्रवेश विन्दुका रूपमा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा अब कुनै पनि बहानामा विलम्ब गरिनु हुँदैन।

मूल नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.