विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २० घाइते
रुकुम : गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेर विजयर्यालीसहित घर फर्किरहेका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ, भने २० जना घाइते भएका छन् । शनिबार राति साढे ९ बजे जिल्लाको त्रिवेणी गाउँपालिका–४, को दलुगैराखोलामा लु ३ त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा १६ विद्यार्थीसहित २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिए।
गाउँपालिका–५, को विद्या विकास मावि जिवाङको कक्षा ८ का १७ वर्षीय दलबहादुर विकको मृत्यु भएको उनले बताए । दुर्घटनामा सोही विद्यालयका साथै वडा नं. ४ मा रहेको अन्धनाशक मावि खुम्चेरीका १६ विद्यार्थी र बाजा बजाउन गएका ४ जना गाउँले घाइते भएका छन्।
घाइतेमध्ये तीन जना विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक रोकायले बताए । उनीहरुलाई थप उपचारको लागि नेपालगञ्ज पुर्याइएको छ । गाउँपालिका–४, का १४ वर्षीय कमल परियार, १५ वर्षीय कुलबहादुर केसी, १८ वर्षीय दीपेन्द्र परियार र रनिङ शिल्डमा बाजा बजाउन गएका सोही ठाउँका ३१ को वीरेन्द्र दमाइलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाइ छ।
अन्य १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी–२, का स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन भने चालक गणेश परियार फरार रहेको प्रहरी निरीक्षक रोकायले बताए । शिल्ड सम्मानपछि घर फर्किरहेका विद्यार्थी रात परेपछि दुई वटा ट्याक्टरमा चढेका थिए । उक्त गाउँपालिकाको रनिङ शिल्ड अन्धनाशक माविले जितेको छ ।