संग्रौलाका कृति एउटै सेटमा
काठमाडौं : लेखक खगेन्द्र संग्रौलाका सबै कृति अब एउटै सेटमा प्रकाशित हुने भएको छ। फिनिक्स बुक्सले उनका प्रकाशित सबै पुस्तक तथा फुटकर रचनासमेत समेटी १५ खण्डमा उनका प्रतिनिधि रचना छाप्ने तयारी भएको हो।
संग्रौलाका हालसम्म १५ वटा आख्यान, १४ वटा निबन्धसंग्रह प्रकाशित छन्। कविता, नाटक तथा एकांकीसमेत लेखेका उनका अखबारी लेखन छरिएर रहेका छन्। फिनिक्स बुक्सका अनुसार ‘संग्रौला समग्र’ नामक सेटमा उनका कविता, अन्तर्वार्ता, चिठी र दुर्लभ रचना पनि समेटिनेछ। संग्रौलाका पाण्डुलिपि संकलन तथा सम्पादनको जिम्मेवारी संगीत श्रोताले पाएका छन्।
आफ्ना सबै कृतिका साथै फुटकर रचनासमेत एउटै सेटमा प्रकाशित गरिने समाचारले संग्रौला गद्गद् छन्। फिनिक्स बुक्सको दसौं वार्षिकोत्सवका अवसरमा संग्रौलाका प्रतिनिधि रचनाको सेट सार्वजनिक गरिने भएको छ। संग्रौलाले हालै चार लाख राशिको पहिचान पुरस्कार पाएका छन्।
स्मरण रहोस्, फिनिक्स बुक्सले यसअघि साहित्यकार पारिजातका ‘पारिजातका संकलित रचना’ ६ भागमा र भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ ५ भागमा प्रकाशित गरिसकेको छ। साहित्यकार इन्द्रबहादुर राईका सम्पूर्ण रचनाको सेट पनि प्रकाशनको तयारीमा छ।