बच्चा बोकेर चिसापानी
भरी जवानीमा बाथका पटक पटकका आक्रमणहरूले त्रसित मसित सय मिटर हिँड्न पनि हजारपटक हिच्किचाएको अनुभव छ। अनुभव छ मसित मित्रपार्कबाट चाबहिलसम्मको दूरीका लागि पनि सार्वजनिक बस चढेको। भर्याङका खुड्किलाहरूसित मेरा खुट्टाहरूले हात मिलाउन नआँटेर चढ्नैपर्ने कतिपय तला नचढी भुइँतलामै ढुकी बसेको। शरीरबाट पसिनाभन्दा त आँखाबाट आँसु र नाकबाट सिँगान बढी बग्थ्यो होला।
पैदल हिँड्नुपर्ने साथीहरूका हर प्रस्तावलाई टड्कारै अस्वीकार गर्थें। हाइकिङ र टे«किङहरू फगत विदेशीका विलासिताझैं लाग्थे। हिमाल र पहाडका ढाडमा पैताला बिसाउनु एकतर्फी प्रेम गरेकी प्रेमिकालाई नपाउनुजत्तिकै सपना र कल्पना थियो।
बाटोहरूसित मैले आफ्नो जीवनको लय कहिल्यै मिलाउन जानिनँ। हिँड्नुमा भेट्थेँ त केवल थकाइ, पीडा, दुखाइ, झस्काइ, बिझाइ, लम्बेचौडे तेर्सिएको कहालीलाग्दो बाटो, ठेस, ठक्कर आदि।
यसैले मसँग बनेका केही साथी पनि टाढा भए। टाढा भएकाहरूलाई साथी बनाउन मेरै स्वभावले दिएन। एउटाको रुचिसित अर्कोको रुचि नमिलेपछि, एउटाको कुमसँग अर्कोको कुम नजोडिएपछि साथी साथीबीचको साइनो पनि गुम हुँदै जाने रैछ।
मोजमस्तीका लागि पनि ऊर्जा चाहिन्छ। मान्छे कमाउन पनि एउटा व्यक्तित्व चाहिन्छ। जुन मसित थिएन। यसैले ममा कसैको साथी बन्ने राम्रो गुण थिएन।
र, मसित थिएन ज्ञान पनि। हिँड्नु, घुम्नु, यात्रा गर्नु किन र केका लागि ? उति बेला, न यी प्रश्न थिए, न जवाफको खोज।
छोरा शब्द काँधमाथि चढेको छ। छोरा बसेको काँध बाँधजस्तै हुँदो रैछ। भत्केला कि भनेर सन्तुलनप्रति सचेत भइरहनुपर्ने।
आज कम्तीमा किन घुमौं ? भन्ने जवाफ खोज्नभन्दा, किन नघुमौं ? भन्ने प्रश्नले मलाई बढी घुमाउँछ। झिनामसिना विवशता र अवरोधहरू त यात्रैपिच्छे भाँड्न र घोच्न आई नै रहन्छन्। एउटा एउटा अड्कोले जीवनमा फड्को मार्नलाई सधैं रोकिरहेको हुन्छ।
यस्तै अनेक अड्कोहरू हुँदाहुँदै पनि, गएको हप्ता चिसापानी जाने अवसर चुनौती दिँदै हामीमाझ आइपुग्यो। चुनौती यस कारणले कि त्यति लामो यात्रामा हामीले यो अवसरभित्र हाम्रो डेढ वर्षे छोरा शब्दलाई पनि खुसुक्क घुसायौं।
निर्णय गर्नासाथ अवरोधले औंला उठाउँदै भन्यो, ‘विचार गर्, डेढवर्षे बालक। उकालै उकालो। घना जंगल। मध्य पुसको चिसो।’
हिम्मतले मुस्कुराउँदै बडो शान्त भएर भन्यो, त के ? डेढवर्षे बालकलाई बोक्ने नौवटा काँध हुनेछन्। खाने पिउने बस्ने सब इन्तजामहरू हुनेछन्। चिसो बढे आमाको छातीको न्यानो छँदैछ। रोए पिताको नौटंकी हाजिरै हुनेछ। हामी सबै प्रकृतिका अवयव हौं। प्रकृतिसित के डर ?
हिम्मतको मृदु मुस्कानका अघिल्तिर कुटिल अवरोधले शिर झुकायो। र एउटा यात्राले मूर्त रूप पायो।
झोला बोकेका आठ जना र बालक बोकेको एकजना वयस्क सुन्दरीजलबाट उकालो लागियो। वयस्क दिनमा पनि घामचाहिँ बालकझैं कलिलो देखिन्थ्यो।
पहिलो पाइला चाल्दा पाइताला उखेलेजत्तिकै गह्रौं भो। दोस्रो पाइला चाल्दा बालुवामा हिँडेजत्तिकै अप्ठ्यारो भो। तेस्रो, चौथो पाइला चाल्दा दुवै खुट्टामा फलाम झुन्डिएजत्तिकै अप्ठ्यारो भो। त्यसपछिका पाइलामात्र सामान्य बाटोमा हिँडेका आफ्नै खुट्टाजस्ता लागे। पहिलो पाइलामा बाटो चिनिँदो रैनछ, पहिलो भेटमै मान्छे नचिनिएजस्तै त रैछ।
ठाडो उकालो बाटोलाई पाइतालाले तल्तिर ठेल्दै अघि बढ्दा शरीरबाट छुटेको पसिनाले निधार छपक्कै, ढाड लपक्कै।
छोरा शब्द काँधमाथि चढेको छ। छोरा बसेको काँध बाँधजस्तै हुँदो रैछ। भत्केला कि भनेर सन्तुलनप्रति सचेत भइरहनुपर्ने। ऊ भने घरि दायाँ ढल्किन्छ, घरि बायाँ ढल्किन्छ, घरि छालझैं तलमाथि छचल्किन्छ। घरि भुइँतिर झर्न नपाएर चिच्याउँछ। घरि मेरो कान चाट्दै इत्तरिन्छ।
मभन्दा अग्लो छोरा भएको छ। मैले देख्न नसकेका कतिपय दृश्य उसले देख्छ। के मैले आँट्न नसकेका कामहरू उसले आँट्नेछ ? म जान नपाएका ठाउँ ऊ जानेछ ?
जहाँ जाओस्, जे गरोस् आफ्नै रहरलाई पछ्याओस्।
निक्कै खुड्किला पार गरिसकेपछि मूलखर्क पुगिन्छ। एउटा कुर्सी तानेर आफूलाई बिसाए पनि पसिना र धुकधुकी तुरुन्तै ठाउँमा आउन मान्दैनन्। तर ठाउँमै आइपुग्छन् हिँड्दा हिँड्दै बाटोमा हराएका आठ थान ओठका मुस्कानहरू। छोरा शब्द काँधबाट भुइँमा ओर्लन पाएको छ। घरि बाख्राका पाठोको कान समाउन पुग्छ, घरि कुखुराको भालेलाई खेदाउन पुग्छ। घरि चल्लाहरू पछ्याउँछ। घरि टुक्रुक्क बसेर भुइँबाट हातमा धुलोमाटो उबाउँछ। जंगलमा पनि घरिघरि भुइँमा छाडिदिँदा पात उठाउँछ। घरि चराहरू देखेर फुरुंग पर्छ र ती उडेसँगै आफैं उडूँला झैं गर्छ। घरि रूखका हाँगा भाँचिएर भुइँमा छरिएका झिक्राझिक्री उठाउँछ र बाटोमा धर्का बनाउँदै अघि बढ्छ।
उसलाई परबाट हेरेर म घरिघरि टोलाइबस्छु। छोरालाई फकाउन हातमा मोबाइल होइन, सक्दो हिँडाउन जुत्ता किनदिन पाऊँ, यही पुकार छ मेरो। रमाउनलाई टीभीको स्क्रिन होइन, प्रकृतिको सुन्दरतामा लैजान पाऊँ। रुँदा स्क्रिनमा कार्टुन देखाएर होइन, उसकै उमेरअनुसारको कथा सुनाएर फकाउन पाऊँ। सोचेका त यस्तै पो छौं। हेरौं, बाटो पो कति सजिलो हुने हो।
साथीहरूले बोटमै फलेको ताजा भोगटे मोलमलाइ गरेर झ्याप्पै किनेछन्। यतिखेर त घाम पनि किशोर भइसकेको थियो।
टिम्मुरको धुलोसित भोगटे र सुन्तलाको केस्रा चोबेर जिब्रोलाई छुवाउनु मात्रले यतिन्जेलको थकान च्वाट्टै भो। त्यसमा केही चियानास्ता थपिएपछि बाँकीको आधा यात्राका लागि ज्यान फेरि तयार भो।
अनि हिँड्दै गर्दा कर्यामकर्याम मकै भट्मास र भक्किअमिलो। यति भए के चाहियो ?
छोरा काँधमा चढ्यो, म चढेँ जंगलको उकालो। घाम छेकियो। उसै पनि हामी सबैभन्दा छोटा दिनहरूमा छौं। चिसो बढ्दै गयो। बाहिरबाट चिसोले हिर्काइरहेछ। भित्रबाट पसिनाले जीउ भिजाइरहेछ।
अघि गाँवै गाउँ, अब जंगलै जंगल। त्यो पनि घना। दायाँ बायाँ हामीसँग हिँडिरहेकामध्ये कसैले खस्य्राकखुस्रुक गर्दा पनि जंगली जनावार हो कि भन्ने डर। रूखबाट पात झर्दा पनि झस्काउने। हाँगाबाट चरा भुर्रर उड्दा पनि तर्साउने।
‘अब सँगसँगै हिँडौं है !’ छरपष्ट भएर कोही पचास मिटर अघि कोही पचास मिटर पछि हिँडिरहेका हामी जंगलको घनत्वसँगै सतर्क भयौं।
सँगै हिँड्न थालेपछि डर भाग्यो। साथीहरू गीत गाउन लागे। नाच्न लागे। अघि मूलखर्कमा पिएको छ्याङको प्रभाव पनि मिसिएको हुँदो हो। अन्ताक्षरी नै चल्यो- ‘रातो रानी फुलेझैं साँझमा...’
साँझै परेजस्तो आभास भइसकेको थियो। शब्द पनि काँधमै नाच्न थाल्यो।
चिसापानी नपुग्दै छोराका हात चिसा भइसकेका थिए। पञ्जा थिएन। भए पनि ऊ लाउँदैन। फ्याल्दिन्छ। केही माथि पुगेपछि उसका पिता र माताका काँधहरूले थोरै वि श्राम पाउन थाल्यो। किनकि बाटो हिँड्दै जाँदा, उसले सहयात्रीहरू चिन्दै गयो, उनीहरूसित मान्दै गयो अनि काँधहरूले पालो पाउन थाले।
बीच जंगलमा पुगेर ऊ एक्कासि रोयो। अब भयो ? आमाको काखले फकिएन। पिताको नौटंकी काम लागेन। हर एकले पन्ध्र मिनेटसम्म फकाउँदा पनि मानेन। स्तनपान गराउँदा पनि चुप लागेन। फकिने अनेक उपाय लगाइसक्दा पनि ठाउँमा आएन। ऊ चिच्याएको निद्राले रहेछ। केही माथि पुगेर मेरो काँधमा आइपुगेपछि ऊ निदायो। प्रत्येक पाइलाको लयसँगै ऊ निद्रामा विलय भयो।
उसले सिक्यो त होला नि, सुत्नलाई सधैं ओछ्यानमात्र नसिब नहुने रैछ। आमाको काखमा मात्र होइन, हजुरबुवा, हजुरआमाको लोरीमा मात्र पनि होइन, यसरी पिताको काँधको हड्डी बिझाउने बिस्तरामा बतासको चिसो चादर ओढेर, चराहरूको चिरबिर चिरबिर अनि एकोहोरो पाइला चलेको र पर कतै मान्छेहरू गुनगुन गुनगुन गरेको आवाज सुनेर पनि निदाउनु पर्दो रहेछ।
बुझ्यो होला नि भनेकै समयमा खानेकुरा खान पनि नपाइँदो रैछ। बुझ्यो होला कि जीवनको विराट् आकाशमा बादलहरू पनि छन् अनि घाम पनि छ। जून अनि ताराहरू पनि छन् तर त्योभन्दा रहस्य अनगिन्ती छन्।
कठै, के बुझ्यो होला र त्यो बालखले !
केही छैन। यसरी हिँड्दै जाँदा कुनै दिन त बुझ्ला।
उकालो सकिएर हामी ओह्रालो झर्दै थियौं। दिन आफ्नो ड्युटी सकाएर घर जाने तरखरमा थियो। होटलहरू भएको ठाउँ केही वरबाट देख्न थालिसकेका थियौं। चिसापानी ठ्याक्कै पुगिसकेपछि साथीहरू खुसीले उफ्रिन थाले। के बुझेर हो कुन्नि, शब्द पनि ठूल्ठूलो आवाजमा हाँस्दै उफ्रियो। एक निद्रा उसले बाआमाकै काँधमा जो भ्याइसकेको थियो। रातको पर्दाभित्र उत्तरतिरको हिमाल लुकिसकेको थियो। लाक्पा दोर्जे होटलमा पुगेर आफ्नो बास सुनिश्चित गरियो।
जति थकाइ लागे पनि यो समय रमाइलोका लागि हो। आरामलाई लत्याउँदै साथीहरू बलिरहेको आगो वरिपरि बसेर गफिन लागे। बच्चाका बाआमाको ड्युटी भिन्नै। खानाको व्यवस्था गर, खुवाऊ, सुताऊ अनिमात्र फुर्सद। साँच्चै बच्चाका बाआमा भएपछि फुर्सद भन्ने चीज फुटबलरले प्रतिद्वन्द्वी खेलाडीहरूको बीचबाट छक्काएर बल निकालेझैं निकाल्नुपर्ने। उसलाई दिने समयमध्ये थोरै थोरै समय चोरेर हामी आफ्ना लागि पनि यसैगरी समय निकाल्छौं। यसमा पनि कम मजा हुँदो रैछ र।
सुताइसकेर कोठाबाहिर जाला भन्ने भयले छोरा निदाउनै मानेन। रमाइलोको भागीदार ऊ पनि बन्ने रे। उसले अस्पष्ट भाषामार्फत यही जानकारी दियो।
कोठाबाहिर आएर हामीसँगै आगो ताप्यो। मादल बजाउँदै, गीत गाउँदै रौसिने अर्को टोली थियो। निष्फिक्री ताली पिट्दै जे पायो त्यही गाउने प्रतिनिधि यता हाम्रो टोलीमा थियो। शब्दको आफ्नै भाषा छ। थोरै मात्र हामी बुझ्छौं।
राति हामीसँगै बसेर हामीले खाना खाएको हेर्यो र कोठामा गएपछि अब हामी निस्कन्नौं भन्ने ढुक्क भएपछि मात्र ऊ सुत्यो।
दिन फेरियो। थकाइ मर्यो। कोठाबाटै देखिएको सूर्योदय अनि उत्तरतिर स्पष्ट देखिएको हिमालले हिजो बाटोमा खेपेका सारा अप्ठ्याराहरूलाई बिर्साइदियो।
साथीहरू हामीभन्दा चाँडै उठिसकेका रैछन्। चियानास्ता खाइसकेर फेरि अर्को दिनको यात्रा सुरु गर्यौं। आजको यात्रा जहरसिंहपौवासम्म। अनि त्यहाँबाट बस चढेर चाबहिलसम्म। पाँच किलोमिटर उकालो चढे नगरकोटसम्म पुगिन्छ। तर एक रातभन्दा बढीको समय कसैसित छैन।
अधिकांश बाटो हत्केलाजस्तै सम्म थियो। शब्द हिजोभन्दा आज अरू साथीहरूसित घुलमिल भएको छ। हरेकलाई नाउँले बोलाउँछ र पछिल्तिर दादा वा दिदी जोड्छ। धेरैजनाले बोलाउँदा, गफ गर्दा, उनीहरूसित जिस्किँदा शब्दले नयाँ नयाँ शब्द पनि सिक्ने मौका पाएको छ। घरभित्र कोठाहरूमा कहाँ सिक्थ्यो होला र ? घरभित्रै मात्र बसेर त हामीले पनि के नै सिक्छौं र ? यात्राको अनुभव भ्लग हेरेर, ब्लग पढेर वा अर्काको कुरा सुनेर लिन सकिन्न। यात्राको अनुभवका लागि यात्रै गर्नुपर्छ।
हत्केलाजस्तै बाटोमा परेका हाम्रा पाइलाहरूलाई हिजोजस्तै सास्ती भएन। बरु अनुहार दक्षिणतिर फर्किए पनि मुन्टो बेलाबेलामा उत्तरतिर बटारिरहन्थ्यो। हामीलाई यसो गर्न विवश तुल्याउने थियो, हिमालको शृंखला। मोबाइलले समेत आराम पाइरहेको थिएन।
६३ सालदेखि चिसापानी म हर साल आइरहेको छु। हर गु्रपसित आएको छु। कुनै कुनै साल त दुई, तीन पटक पनि पुगेको छु।
मलाई ‘कहाँ जाने ? ’ र ‘कोसित हिँड्ने’ भन्ने चीजले कुनै फरक पार्दैन। मलाई त बस्, हिँड्नु छ। हिँडे भने त थाक्छु मात्र। हिँडिनँ भने त म मर्छु नै। समूह भेटिए त हप्तै पिच्छे चिसापानी जाँदो हुँ। मेरा लागि यात्राको सन्तोष भने पनि मिठास भने पनि यही छ। मजा कहीँ पुग्नुभन्दा हिँडिरहनुमा छ।
चार घण्टाको निरन्तरको हिँडाइपछि झुले भन्ने ठाउँमा पुगेर खानाका लागि अर्डर दिइयो। करिब पैंतालीस मिनेटको आराम र पाँच मिनेटको ग्वामग्वामपछि शरीर पुल्पुलियो। तर हिँड्नु त जसरी पनि छ। यात्राका जति दर्शन छाँटे पनि यो यात्राको सत्य कहीँ पुग्नु र त्यहाँबाट घर फर्किनु नै हो।
जहरसिंहपौवामा पुगेर बस कुर्न थालियो। करिब ४ बजिसकेको थियो। दुईचार जनालाई सोधिहेर्दा बसको कुनै टुंगो नभएको बताएपछि हामीमाझ आत्तिने स्थिति पैदा भयो। मेरो पुरानो अनुभवले पनि ३ साढे ३ भन्दा उता बस चढेको बताउँदैनथ्यो।
मेलम्चीबाट एउटा भीडम्भीड बस आयो। अरू आउला नआउला, हामी आत्तिएर चढिहाल्यौं। बस हिँड्यो जहरसिंहपौवाबाट। बडेमानका खाल्डामा बसको चक्का पर्दा हामी हाँडीभित्र मकै उछिट्टिएझैं उछिट्टिन्थ्यौं। शब्दलाई बोकेर उभिएकी उसकी आमा ठाउँठाउँमा कोल्टिएर लडौंलाझैं गर्छिन्। घरिघरि म समाउँछु। अनि फेरि केही बेर बस सकुशल हिँड्छ।
उभिएका र झर्न लागेका मान्छेहरू भन्छन्, ‘बच्चा र बच्चाकी आमालाई त सिट छाडिदिए हुने।’
‘तर उभिनुमा पनि मजै छ’ भन्छिन् शब्दकी आमा। शब्द पनि बेलाबेलामा गाडीसँगै आमाको छातीमा हल्लिएको देखेर चकित हुन्छ। अनि हामी हाँसिदिन्छौं। ऊ झन् बेतोडले हाँसिदिन्छ।
यस्तै उस्तै, घच्याक घुचुक्क गर्दै साँखु पुगेर हामी ओर्लिन्छौं। किनकि मजा एकछिन मात्रै भयो। गाडीभित्र भीड झन् बढ्न थालेपछि त यात्रामा जोखिमको मात्रा बढ्न थाल्यो।
साँखुमा झर्नेबित्तिकै थाहा भो, एकजना साथीको त झोला नै छुटेछ। अर्का साथीले हत्तपत्त एउटा बाइक रोकाए र झोलावाल साथीलाई चढाएर बस भेटाइदिन अनुरोध गरे। हामीले करिब १० मिनेट कुरेपछि अर्को बस पायौं। योचोटि अन्तिम अन्तिमतिरै भए पनि सिट पायौं। बस जुन रफ्तार लिएर कुद्यो, हामी निफन्दा नाङ्लोबाट केही माथि उडेको चामलझैं हुन्थ्यौं जो झरेर नाङ्लोमै थच्चिन्थ्यो। यसरी चाबहिलसम्म पुग्यौं। नारायणटारमा साथीले छुटेको झोला भेटिन् र हामी चढेकै बस चढ्न आइपुगिन्।
घर आइपुगेर सामाजिक सञ्जालमा राखेको पोस्ट देखेर साथीहरू छक्क परे। ‘त्यति सानो बच्चा बोकेर चिसापानी ? ’
‘कसरी ? ’
‘कत्रो ठूलो आँट गर्नुभो ? ’
‘धन्न, सकुशल फर्कियौ।’
‘राम राम, यति सानो बच्चा लिएर...’
जोखिम कहाँ छैन र ? घर बस्नेहरू पनि बिरामी नै परेका हुन्छन्। एउटा शनिबार शब्द छतमै लढेर टाउको झन्नै सिटी स्क्यान गर्नु नपरेको। घर बसिरहँदा रुघाखोकी लागेको, ढाड, कम्मर दुःखेको म हिँडेर आएपछि स्वस्थ भएँ। हिँड्दाहिँड्दै खुट्टा दुखेर पाइला चाल्नै नसकेर खोच्याएर निकै बेर हिँडेकी शब्दकी आमा हिँडेरै बिसेक पनि भइहालिन्। ढाड दुखिरहे पनि यात्रामा आएका एक साथी हिँडेर ढाड दुख्न सन्च भयो भनेर फर्किए। थर्मस छेउमा राखेर तातो पानी सुरुप्प सुरुप्प खाइरहने बानी भएको म ठाउँठाउँमा चिसो न चिसो पानी खाँदा पनि न घाँटी दुख्यो, न रुघा बढ्यो।
मध्य पुसमा चिसापानीको यात्राले शरीर थकाए पनि, हात ठिहिर्याए पनि, तन चिस्याए पनि मनभरि न्यानो सम्झना छाडेर गयो।
सानो बच्चा भएपछि त अप्ठ्यारो हुँदोरैछ भन्ने लाग्थ्यो, तर आजकाल त्यै अप्ठ्यारोमै सजिलो खोज्छौं, मजा खोज्छौं। नखोजेरै रैछ। मजा त यसमा अरू बेलाभन्दा दुई गुना बढी हुँदो रैछ। आफूले त देखेकै छु, थोरबहुत संसार, अब यो संसारलाई छोराको आँखाबाट पनि हेर्न चाहन्छु। महसुस गरेकै छु, थोरैतिनो सजिला र अप्ठ्याराहरू, यसलाई अब छोराको कोणबाट महसुस गर्न चाहन्छु। यसो गर्दा कहिलेकाहीँ लागिदिन्छ म आफ्नोसँगै छोराको जीवन पनि बाँचिरहेछु। म दुईवटा जीवन जिइरहेछु।
@subinbhattarai1