प्राचीन भित्तेचित्र भत्काइयो

प्राचीन भित्तेचित्र भत्काइयो

काठमाडौं : जयबागेश्वरी मन्दिरको प्राचीन भित्तेचित्र भत्काइएको छ। मन्दिर पुननिर्माणमा कठिनाइ भएको भन्दै भित्तेचित्र भत्काइएको हो। १० दिन अगाडि मन्दिरभित्रको अर्को मन्दिरको भित्तामा उक्त प्राचीन भित्तेचित्र भेटिएको थियो। जयवागेश्वरी मन्दिर सातौं शताब्दीमा बनेको विज्ञले बताउँदै आएका छन्।

स्थानीय भित्तेचित्र भत्काउने पक्षमा नभए पनि पुरातत्व विभागले एकलौटी निर्णय गरेको हो। भित्ता कमजोर अवस्थामा रहेकाले भत्काउन बाध्य भएको विभागले बताउँदै आएको छ। सम्पदा अभियन्ता र विज्ञहरू भने पुरातत्वको यस्तो निर्णयप्रति असहमत छन्। पशुपति विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डन ऐतिहासिक महत्वको भित्तेचित्र भत्काएर पुरातत्वले गलत नजिर स्थापित गरेको बताउँछन्। ‘सुक्ष्म अध्ययन नै नगरी भित्ता हटाइयो’, उनले भने, ‘यस्तो लापर्बाहीले अबका दिनमा पुरातात्विक महत्वका सम्पदा धमाधम मासिनेछन्।’

११ महिनाअघि ३ करोड १४ लाख लागतमा यो मन्दिर बनाउने निर्णय भएको थियो। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भित्ता मन्दिरबाट निकालेर अध्ययन गरिने बताए। तर इतिहासका विज्ञले भने प्राचीन सम्पदालाई यथास्थानमा नै संरक्षण नगरे त्यसको महत्व नहुने बताउँदै आएका छन्। इतिहासविद् डा. सुदर्शनराज तिवारी पुरानो मन्दिर संरक्षण गरेर नयाँ मन्दिर सोही माथि बनाउनुले अर्थ बोकेको बताउँछन्। ‘सम्बन्धित निकायले मन्दिर भत्काउन छोडेर पहिले भित्तेचित्रको सुक्ष्म अध्ययन गर्नु पर्ने हो’, तिवारीले भने।

उक्त मन्दिरमा एकपछि अर्को तीनवटा ढोका छन्। पुरानो संरचनालाई नै यथावत राखेर पुनर्निर्माण गर्न सके मन्दिर आकर्षणको केन्द्र बन्ने तिवारीले बताए। जयबागेश्वरी मन्दिरमा रहेको श्वेत सरस्वतीको पादपीठमा लिच्छविकालीन शिलालेख छ। संस्कृतिविद् हरिराम जोशी शिलालेखमा कुदिएको लिपी अंशुवर्माकालीन भएकाले मन्दिर पनि त्यति नै पुरानो भएको बताउँछन्। ‘बाहिरको मन्दिर १४औं शताब्दीको हो’, उनले भने, ‘भित्रको मन्दिर ४ सय वर्ष पुरानो भएको अनुमान छ।’ मन्दिरमा भेटिएको पादपीठ लिच्छविकालीन भएको संस्कृतिविद् गौतमबज्र बज्राचार्यले उल्लेख गरेका हुन् भने त्यसमा भएको लिपी अंशुवर्माकालीन सातौं शताब्दीको भएको इतिहासकार स्व. धनबज्र बज्राचार्यले पहिलोपटक उल्लेख गरेका थिए।

नेपालमा चाबेलको चैत्यमा रहेको भित्तेचित्र उपत्यकाकै पुरानो भित्तेचित्र मानिन्छ। नजिकै रहेको पशुपति क्षेत्र उपत्यका कै पुरानो बस्ती हो। त्यही ठाउँमा अवस्थित जयवागेश्वरी मन्दिरको इतिहाँस पनि उत्तिकै पुरानो भएको संस्कृतिविद् जोशी बताउँछन्। ०७२ को भूकम्पपछि उक्त मन्दिरको गजुरलाई सबैभन्दा बढी असर पुगेको थियो।

भेटिएको भित्तेचित्र माटोले बनेको गाह्रोमा थियो। विभागले मन्दिर भत्काउने क्रममा सो भित्तेचित्र हटाएको हो। माटोबाट बनेको उक्त मन्दिर पुरातत्वले चुना र सुर्कीले बनाउने निर्णय गरेसँगै मन्दिरको पुनर्निर्माण विवादमा तानिएको थियो। भत्काउँदै जाने क्रममा मन्दिरभित्रै तीनवटा गजुरसमेत भेटियो। केही दिनअघि प्राचीन भित्तेचित्र भेटिएपछि मन्दिर अझै रहस्यमय बनेको छ। सतीप्रथासँग जोडीएको यो मन्दिरमा १२/१२ वर्षमा कलेबर फेर्ने नियमसमेत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.