थारू संस्कृतिको पर्याय ‘भादागाउँ’
धनगढी : प्रायः माटोले लिपपोत गरेको भित्ता। माटोबाटै निर्मित खपटाको छानो हाली चिरिच्याट्ट पारिएका एकै मोडेलका घर। भित्रतिर सफा गरी थारू संस्कृति झल्किने विभिन्न थरीका सामग्री सजाएको देखिन्छ। यो हो, धनगढी उपमहानगरपालिका–१६, भादागाउँको दृश्य। अहिले थारू संस्कृतिको पर्याय भएको छ, भादागाउँ।
२०६७ सालदेखि गाउँलेले होमस्टे सञ्चालन गरेपछि भादाको चर्चा झनै चुलिएको छ। ‘थारू संस्कृति हेर्न अन्य जिल्लाबाट आएका पाहुना भादागाउँ पुग्ने गरेका छन्’, थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, ‘नयाँ पुस्तामा पुरानो संस्कृति हराउँदै गयो। त्यसैले संस्कृति जोगाउन पनि होमस्टेको परिकल्पना गरिएको हो।’ धनगढी बजारबाट पूर्व १९ किलोमिटर दूरीमा पर्ने भादागाउँ जान अहिले पक्की सडक निर्माण भएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई भादागाउँ पुग्न सहज भएको छ।
थारू समुदायको कला, संस्कृति, परम्परा, भेषभूषाको अध्ययन अवलोकनका लागि भादागाउँ घरबास मुख्य गन्तव्यका रूपमा परिचित हुन थालेको स्थानीयवासीको भनाइ छ। ‘थारूहरूको परम्परा हेर्न विभिन्न देशबाट पर्यटक पुग्ने गरेका छन्’, स्थानीय मदनप्रसाद चौधरी भन्छन्, ‘यहाँ शतप्रतिशत थारू समुदायको मात्र बसोबास छ। हरेक अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा जनवरीको पहिलो साता थारू खाना तथा नृत्यको महोत्सव गरिएसँगै थारू समुदायको संस्कृति बुझ्न पर्यटक बढ्दै गएका छन्।’ मदनका अनुसार पर्यटकले साक्षात्कार गर्ने अवसर पाएसँगै स्थानीयवासीको जीवनशैलीमा पनि परिवर्तन देखिन थालेको छ।
यस वर्ष ‘संरक्षण सम्बद्र्धनके लग सक्कु जाने करी काम, संस्कृति भेषभूषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ थारू महोत्सव आयोजना भएको छ। अढाई सय घरपरिवार भएको भादामा करिब दुई दर्जन घरमा होमस्टे सञ्चालनमा छ। ‘होमस्टेमा अतिथि आउने क्रम बढेको छ’, चार वर्षदेखि होमस्टे सञ्चालन गर्दै आएकी मालती डगौराले भनिन्, ‘हरेक घरमा पालो–पालो पाहुना पठाउँछौं। आफ्नो संस्कृतिअनुसार विभिन्न नाच पनि बाह्रैमास देखाउँछौं।’ मालतीका अनुसार सालको पातमा विभिन्न थारू मौलिक परिकार पस्किएर दिँदा धेरै पाहुना रमाएका छन्।
थारू परिकार ढिक्री, खरिया, फुलौरी, अण्डिक भात, खुर्मा, पनझ्झरा, कचरिक बरिया, घोंघी, गेंक्टा, सुटही, मुसाको सेकुवा, सिद्रा, सुँगुर, लोकल कुखुराको मासु, महुवाको दारु, निघारलगायत खानपान तयार गरिन्छ। त्यस्तै होमस्टेमा थारूको पहिरनमा सजिएका युवकयुवतीले सखिया, झुम्रा, मघौटा, लाठी नाच प्रदर्शनसँगै माँगर, ढमार, बर्कीमारलगायत लोकलयका भाकासमेत प्रस्तुत गर्छन्।
सरकारले पहिचान गरेको मुलुकका सयवटा गन्तव्यमा भादागाउँ पनि परेको छ। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड तराईका आदिवासी थारूहरूको संस्कृति संरक्षण प्राथमिकतामा परेको बताउँछन्। उनले भने, ‘भ्रमण वर्ष सुरु भएसँगै धनगढी बजारबाट भादागाउँसम्म निःशुल्क बस सञ्चालनमा ल्याएका छौं।’
भादागाउँसम्म पुग्ने पक्की सडक निर्माण भएपछि स्थानीयवासी होमस्टे सञ्चालनका लागि उत्साहित भएका छन्। होमस्टे सञ्चालक समितिका अनुसार थप २० घरमा होमस्टे सञ्चालनको तयारी गरिएको छ।
फोटो ः १..........) होमस्टे सञ्चालनमा आएको घर।
२............) थारू समुदायले प्रस्तुत गर्ने नृत्यको झलक। तस्बिर ः कैलाश जोशी