स्वयम्भूमा पाहुनाको स्वागत
सन् २०२० को आगमनसँगै विश्वभरि नयाँ वर्ष मनाइरहँदा नेपालमा ‘नेपाल भ्रमण वर्ष २०२० ’ का रूपमा भव्य स्वागत गरियो। नेपाल भ्रमण वर्ष सफल पारौं भन्ने नाराका साथ दशरथ रंगशालामा विशेष कार्यक्रमको आयोजना गरी नयाँ वर्ष २०२० लाई सरकारको तर्फबाटै विशेष स्वागत गरियो। यसपालिको अंग्रेजी नयाँ वर्षमा विगतमा जस्तै विभिन्न नयाँ ठाउँ घुम्न जानेभन्दा पनि आफूकहाँ आउने पाहुनाको स्वागतका लागि विभिन्न मठमन्दिर र सम्पदा संरक्षणमा जुटेका नेपाली पाहुनाको स्वागतकै लागि तयारी अवस्थामा देखिन्थे।
विश्वमै नेपाल एउटा त्यस्तो देश हो, जहाँ विश्व सम्पदा सूचीमा सूचीकृत धेरै सम्पदा यही देशमा रहेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत चारवटा सम्पदा काठमाडौं उपत्यकाभित्रै छन्। देश सानो छ, तर यस देशमा रहेका सम्पदा महत्वपूर्ण इतिहास बोकेर उभिइरहेका छन्। ८,८४८ किमि उचाइमा उभिएको सगरमाथा, विश्वमा शान्तिको सन्देश फैलाउने गौतमबुद्धको जन्मस्थान लुम्बिनी र स्वयम्भूनाथ महाचैत्य, हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल पशुपतिनाथ, कैलाश मानसरोवर र मुक्तिनाथ, जनकपुरको जानकी मन्दिर नेपाली पहिचान र नेपालप्रतिको आकर्षण हो। त्यसबाहेक अनेक प्राकृतिक मनोरम दृश्य पनि हाम्रै देशमा पर्याप्त छन्।
यहाँका हरेक सम्पदाले आआफ्नै मौलिक संस्कृति बोकेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका ‘सम्पदाहरूमध्ये स्वयम्भू विश्वको सबभन्दा पुरानो सम्पदा हो। यो सम्पदा हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा प्रख्यात छ। स्वयम्भूमा बिहान चार बजेदेखि आठ बजेसम्म धार्मिक आन्तरिक पर्यटक वा तीर्थालुहरूको लावालस्कर ‘भगवान् शरणम्, भगवान् शरणम्’ भन्दै उकालो लाग्छन्। दुधे बालकको संरक्षण गर्ने देवीकी रूपमा प्रख्यात हारती माता (अजिमा ) को दर्शनपछि स्वयम्भूनाथको परिक्रमा गरी दर्शनार्थीहरू फर्किन्छन्।
बिहानको ८ बजेदेखि ११ बजेसम्म विदेशी पर्यटकहरूको आगमन सुरु हुन्छ। पाहुनालाई होटलमा बिहानको खाजा खुवाएपछि स्वयम्भू महाचैत्यको भ्रमण गराउने प्रायः सबै पर्यटन व्यवसायीको तालिकामा पर्ने गर्छ। बिहानको ११ बजेदेखि आन्तरिक वा सार्क मुलुकका पर्यटकको रोजाइमा स्वयम्भू महाचैत्य पर्छ। उपत्यकाभित्र रहेका अन्य सम्पदाको तुलनामा स्वयम्भूको विशेष महत्व रहेको छ। त्यहाँ जाने पर्यटकहरू स्वयम्भू नै जाने भनेर हिँडेका हुन्छन्। अरू नै काममा हिँड्दा बाटो परेर पसेको भन्न मिल्ने ठाउँ छैन। धार्मिक यात्रासँगै उपत्यकाका प्राकृतिक मनोरम दृश्यावलोकनका लागि स्वयम्भु प्रख्यात छ। अलिकति भए पनि उकालो चढ्नैपर्ने, हरिया वनजंगल र आगन्तुकहरूले केही कोसेलीस्वरूप खानेकुरा ल्याइदिए कि भनेर कुरी बस्ने त्यहाँका बाँदर र चराचुरुंगीले पर्यटकको मन लोभ्याउँछ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भ्रमण वर्ष २०२० सफल बनाउने सरकारी लक्ष्य पूरा गर्न कोसेढुंगाका रूपमा काम गरेको देखिन्छ।
स्वयम्भू महाचैत्यपरिसरमा अन्य थुप्रै ऐतिहासिक महत्व बोकेका सम्पदा छन्। अजिमा, शान्तिपुर, अनन्तपुर, प्रतापपुर र मन्जु श्री सम्पदाले आआफ्नै मौलिक इतिहास बोकेका छन्। ती सम्पदाहरूको संरक्षणका लागि २०५३ मंसिर ७ मा स्थापित स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आफ्नो उद्देश्यअनुरूप विकासोन्मुखतर्फ गति लिइरहेका प्रमाण २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भई पर्यटकको आवागमनमा वृद्धि हुनु हो।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी यसै वर्ष २० लाख पर्यटक नेपाल भित्याउने लक्ष्य लिएको छ। सरकारको लक्ष्यमा प्रतिबद्धता जनाई सोहीअनुरूप स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा विदेशी पर्यटकहरूलाई शुल्क मिनाहा गरी खादा ओढाएर स्वयम्भू प्रवेश गराएको थियो। नयाँ वर्षमा स्वयम्भू महाचैत्यको भ्रमण गर्न आउने विदेशीको संख्या पाँच सय पुगेको स्वयम्भू व्यवस्थापन महासमितिले जनाएको छ। आन्तरिक पर्यटकको पनि उल्लेख्य उपस्थिति रहेको दृश्य देखियो।
स्वयम्भू महाचैत्यको बेसक्याम्प मानिने विश्व शान्ति पोखरीस्थलमा आफ्नो मौलिक संस्कार झल्किने सांस्कृतिक कार्यक्रम आयोजना गरेर महासमितिले पर्यटकलाई मनोरञ्जन गराउनुका साथै साँझ स्वयम्भू महाचैत्यमा दीप प्रज्ज्वलन गरेर आफ्नो मौलिक संस्कार धान्यो। पाहुनाको स्वागतार्थ मनोरञ्जन दिने उद्देश्यले सांस्कृतिक कार्यक्रमलाई भने वर्षभरि नै निरन्तरता दिने महासमितिले जानकारी दिएको छ। सरकारको लक्ष्य पूरा गराउन स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले कोसे ढुंगाका रूपमा काम गरेको देखिन्छ। यसैगरी हरेक क्षेत्रबाट अतिथि देवो भवः भन्ने भावना प्रकट गरी पाहुनाको स्वागतमा जुट्न सके नेपाल सरकारको लक्ष्य पूरा हुने देखिन्छ।