जयवागीश्वरी मन्दिरको भित्तेचित्र संरक्षण कसरी गर्ने ?
पशुपति क्षेत्रस्थित नवालीटोलमा जयवागीश्वरीको पुरानो मन्दिर छ। चक्रपथ बन्दा यो मन्दिरकै पूर्वपट्टिबाट सडक विस्तार भएपछि मन्दिरको प्रांगण साँघुरिदै गई अहिले सडकछेउमा भनेजसो मन्दिर रहन पुग्दा धुलो, धुवाँ र भीडभाडले मन्दिरको पुरानो रौनकता विलुप्त बन्दै गइरहेको छ। केही भाषा वंशावलीमा यो मन्दिरको मूल गर्भगृहमा रहेको मूर्तिलाई श्वेतसरस्वती भनी उल्लेख गरेको पाइन्छ। वागीश्वरी सरस्वतीको अर्कोे नाम हो। मूल मूर्तिको दायाँबायाँ क्रमशः भैरव र विघ्नेश्वरको मूर्ति छ। यी तीनैवटा मूर्तिको प्रत्येक बाह्र-बाह्र वर्षमा कलेबर फेरिन्छ।
पछिल्लोपटक पशुपति क्षेत्र विकास कोषको तत्वावधानमा २०७० सालमा कलेवर फेरिएको थियो। कलेवरसम्बन्धी सम्पूर्ण कार्य सक्न करिब ६ महिना लागेको थियो। कलेवरसम्बन्धी चित्रकारीको कार्य मांसगल्लीका राजेन्द्र चित्रकारले गरेका थिए। कलेवर फेरेको झण्डै दुई वर्षमा ०७२ सालमा आएको विनाशकारी भूकम्पले जयवागीश्वरी मन्दिरको गजुरलगायत पहिलो-दोस्रो तलाको गारोलाई क्षतविक्षत् पारिदियो। कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेको मन्दिरको जीणोद्धार कार्य सुरु भएको झन्डै ११ महिना बितिसक्यो। अहिले तीन करोड चौध लाखको लागतमा यो कार्य भइरहेको बुझिएको छ।
श्वेतसरस्वतीको पादपीठमा लिच्छवीकालिक लिपिमा ‘गुहसोम—ट्टहवृध्दिष्य कृति’ अर्थात् गुहसोम वृद्धिको यो कृति हो भनी उत्कीर्ण गरिएको छ। यो शिलालेखलाई पहिलोपटक गौतमवज्र बज्राचार्यले कैलाश पत्रिकामा प्रकाशित गरी जानकारी गराएका थिए भने इतिहासकार धनवज्र वज्राचार्यले सो लिपिलाई अंशुवर्माकालिक मानी सातौं शताब्दीको अनुमान गर्नु भएपश्चात् सबै इतिहासकारहरूले त्यसैलाई एक किसिमले स्वीकारेको देखिएको छ। जयवागीश्वरीमन्दिरको इतिहास झल्काउने त्यसबाहेकको पुरानो अरू कुनै प्रमाण पाउन सकिएको छैन। बीचमा उभिएको सरस्वती मूर्तिमा चार हात छन्, जसमा सिन्हमु, ज्वालान्ह्याक, चक्र र खड्ग छन्। सामान्यतया सरस्वतीको आयुधहरू-वीणा, पुस्तक हुन्। मूर्तिहरू सेतो रङका छन्। प्रत्येक बाह्र वर्षमा कलेवर फेर्दा तान्त्रिक विधिले झण्डै पाँच-छ महिना लगाई नयाँ मूर्तिको निर्माण गरिन्छ। नेपालको पुरानो मानिने गोपालराज वंशावलीमा पनि जयवागीश्वरी मन्दिरको उल्लेख छ।
जयवागीश्वरी मन्दिरका विषयमा नेपाल माहात्म्य एवं प्रचलित भाषावंशावलीहरूमा पनि सामान्य चर्चा आएको छ। नेपाल माहात्म्यमा राढाबाट कालिकादेवी श्लेष्मान्तक वनमा गइन् र त्यहाँदेखि उनी जयवागीश्वरी नामले प्रसिद्ध भएको चर्चा गरिएको छ—
राढातः कालिका देवी श्लेषमान्तकवने गता।
जयवागीश्वरीनाम्ना प्रसिद्धा क्षेत्रसत्तमे।।
प्रचलित भाषावंशावलीमा द्वापर युगमा मानसरोवरदेखि शिलानदी तरी आएको तथा जयवागीश्वरी नामले देवपत्तनमा विराजमान भएको एवं देवीका प्रथम गणहरू आएर नियमपूर्वक साधना गरी तीर्थका जल आवाहान गरेर यसलाई शुद्ध तीर्थ बनाएको उल्लेख पाइन्छ। यस वंशावलीमा राजा नरेन्द्रदेवले एक योगीलाई खुसी गराई जयवागीश्वरीलाई शान्त तुल्याई चित्रकारी गरी अनेक विधिपूर्वक जीवनका संकष्टमय विधिक्रम गरेको तथा तिनले राजालाई गोप्य रूपमा आफू दुर्वासा ऋषिको वंश हुँ भनी बताई त्यहाँ भैरव, नौलिंग तथा गजकर्णको मूर्ति प्रकाश गराएको चर्चा पाइन्छ।
पशुपति क्षेत्रको नवालीटोलस्थित पुरानो मन्दिर जयवागीश्वरीको पुरानो रौनकता फर्काउन चुनौती बन्दै गइरहेको छ।
सोही वंशावलीमा राजा नरेन्द्रदेवले पुरीसहित तीन प्रकारका कोष, एउटा प्रणाली गरी देवपत्तन पुरी बनाई भगवान् पशुपतिनाथलाई चढाएको तथा जयवागीश्वरीमा नित्य पूजाआजा हुने व्यवस्था गरेको प्रसंग पाइन्छ। भाषा वंशावलीमा पाइने विवरणले जयवागीश्वरीको मन्दिर राजा नरेन्द्रदेवले बनाएको प्रकारान्तरले बुझिन्छ। त्यहाँ उनैले जयवागीश्वरी मन्दिरमा बाह्र-बाह्र वर्षमा चित्रकारी कर्म गर्ने अर्थात् कलेवर फेर्ने कामको परिपाटी बसाएको पनि उल्लेख पाइन्छ।
भाषावंशावलीमा भन्दा भिन्न देवमालावंशावलीमा जयवागीश्वरीको मन्दिरसम्बन्धी प्रसंग अलि फरक पाइन्छ। त्यहाँ सूर्यवंशी राजा शिवदेवका पालामा ‘ग्वल’ नामक सहर बसाई जयवागीश्वरीको नित्यार्चन गराएको उल्लेख गरिएको छ। ती राजाले एकजना योगीको सल्लाह लिई कलिगत ३२३२—३२७४ मा देवीको चञ्चल मूर्तिलाई स्थिर पारी चित्रकारीद्वारा रहस्यमय मूर्ति बनाई त्यसको प्राणप्रतिष्ठा गरी कर्माचार्यलाई पुजारी गराई राखिएको उल्लेख पाइन्छ। साथै त्यहाँ प्रतिवर्ष चित्रकारी गर्न मुस्किल छ भन्ने सम्झी अंशुवर्माका पालादेखि बाह्र-बाह्र वर्षमा कलेवर फेर्ने रीत चलाएको पनि चर्चा गरिएको छ। वंशावलीका उल्लेखहरूलाई सोह्रै आना सत्य छ भन्न नसकिए पनि पादपीठको अभिलेखले जयवागीश्वरी मन्दिरको सम्बन्ध लिच्छवीकालसँग कुनै न कुनै रूपले रहेको बुझिन्छ। लिच्छवीकालकै मन्दिरशैलीमा पछि सो मन्दिर बनेको लख काट्न गाह्रो पर्दैन।
जयवागीश्वरीको वर्तमान मन्दिर काठमाडौंका मल्लकालिक राजा प्रताप मल्लका छोरा नृपेन्द्र मल्ल (विसं १७३१— विसं १७३७) को कीर्ति हो भन्ने भाषा वंशावलीमा उल्लेख गरिएबाट स्पष्ट हुन्छ। १९९० सालमा आएको महाभूकम्पले यो मन्दिरलाई कुनै हानि पुर्याएको थिएन। मन्दिरअगाडिका सुन्धारा तथा नवालीटोलमा भएका विभिन्न मठमन्दिर, सत्तल—पाटीपौवा एवं इनारहरूले यस क्षेत्रको आफ्नै किसिमको पहिचान थियो। नवालीटोल देवपत्तनको पुरानो बस्ती भएको तथा जयवागीश्वरी मन्दिर पशुपति क्षेत्रको महत्वपूर्ण मन्दिर भएकाले यस मन्दिरको व्यवस्थापनका लागि जयवागीश्वरी भण्डार तहबिल नामक छुट्टै तहबिलसमेत थियो। अहिले यो कोषअन्तर्गत छ। पशुपतिक्षेत्रमा हुने सबैजसो यात्रा—पर्वहरूको केन्द्रविन्दुका रूपमा जयवागीश्वरी मन्दिर रहेको यहाँ स्मरणीय छ।
छानामाथि छानायुक्त चारपाखे नेपालीमण्डप शैलीमा निर्मित यो मन्दिरको जीर्णाेद्धारका क्रममा अरू यस्ता मन्दिरभन्दा भिन्न विशेषता प्राप्त भएका छन्। उदाहरणार्थ मन्दिर भत्काउँदै गएपछि माथिल्लो गजुरमुन्तिर दायावाया गजुरसहितको संरचना तथा मूलढोकाको तोरणभन्दा माथिल्लो भागमा भित्तेचित्र तथा मन्दिरको दक्षिणतर्फ रहेको मातृका स्थानको बाहिरपट्टिको भित्तामा पनि भित्तेचित्र रहेको भाग फेला पर्नुले जयवागीश्वरीको मूल मन्दिर पहिले सानो आकारमा रहेको तथा सम्भवतः नृपेन्द्र मल्लका पालामा पुनर्निर्माण गर्दा पश्चिम तथा पूर्वपट्टिको भागमा झण्डै पाँच-छ फिटको चौडाइको चौकोर थपी त्यही बाहिरी गारोको माथि थप्दै लगी पहिलेभन्दा ठूलो मन्दिर बनाएको अनुमान गर्न गाह्रो पर्दैन।
पुनर्निर्माणका क्रममा मन्दिर भत्काउँदै जाँदा पाइएको भित्तेचित्र नेपालमा पाइएका सत्रौं शताब्दीको विशेषतायुक्त छ। लामो समयसम्म बाहिरी गारोले छोपिएर रहेको हुँदा भित्तेचित्रलाई संरक्षण कसरी गरिने योजना होला भन्ने कूतुहलता नमेटिँदै त्यसलाई उप्काई संग्रहालयमा राखिने र जयवागीश्वरी मन्दिरको मूल ठाउँमा नयाँ मन्दिर बनेपछि त्यस्तै किसिमको नयाँ बनाउने उद्देश्यले पुरातत्व विभागको सक्रियतामा धमाधम उप्काउने कार्यका लागि टुक्राटुक्रा पारिने काम जुन सुरु भएको छ, त्यो भित्तेचित्रको महत्व नबुझेको ठहर्छ।
जयवागीश्वरी मन्दिरमा प्राप्त भित्तेचित्रको आधार ज्यादै नरम छ। किनभने इँटानिर्मित भित्तामा कुहाएको भुस, गोबर तथा मिहिन माटोको लिउनमाथि सेतो रङ पोतेर त्यसमाथि भित्तेचित्र कोरिएको छ। माथिल्लो तलाको भन्दा तल्लो तलाको भित्तेचित्र फुंङ उडिसकेको छ जबकि माथिल्लो तलाको भित्तेचित्रको रङ खुट्ट्याउन सकिन्छ। चित्रकारीमा पोख्त हातले सरसफाइ गरी त्यहीं नै जस्ताको तस्तै पुनस्र्थापन गर्न जति सजिलो छ, त्यति त्यसलाई उप्काउँदा नहुन सक्छ। किनभने भित्तेचित्र लामो समयसम्म ओसमा परेकाले मक्किसकेको छ।
जयवागीश्वरी मन्दिरको स्वरूपलाई हेर्दा कहींकहीं त झण्डै साढे दुई फिट मोटाइको गारो छ। अहिले प्राप्त भएको भित्तेचित्रलाई संरक्षण गरी जस्ताको तस्तै तुल्याई त्यहीं राख्ने र त्यहाँ उपलब्ध गारोमा बलियो स्तम्भ र त्यसमाथि राखिने दलिनले माथिल्लो बोझलाई थाम्न असम्भव नहुने हुँदा त्यहाँ प्राप्त भित्तेचित्रलाई सोही मन्दिरमै संरक्षण÷संवद्र्धन विधि अपनाउन वर्तमान वस्तुस्थितिलाई अवलोकन गरी ठेक्का कार्यलाई संशोधन, परिमार्जन गर्न आवश्यक परे गर्न पछि पर्नु हुँदैन।
भर्खरै विकसित परिस्थितिको मूल्यांकन गरी प्राप्त भित्तेचित्रलाई त्यहीं संरक्षण गर्दा नै मन्दिरको महत्व अरू बढ्ने हुन्छ न कि त्यसलाई संग्रहालयमा राख्दा भन्ने दृष्टिकोणलाई अपनाइयो भने तत्काल समस्या समाधान गर्न गाह्रो नपर्ने देखिन्छ। जयवागीश्वरी मन्दिरमा इँटा जोड्न प्रयोग भएका मसला पञ्चेमाटो छ, जुन त्यतिखेरको चलनै हो। पञ्चेमाटो अरू माटोभन्दा लेस्सादार हुन्छ र सामान्य माटोले भन्दा जब्बर प्रकारले गारोको जोडाइलाई बलियो तुल्याउँछ। मन्दिरमा प्रयोग हुने झ्याल, ढोका, तोरण, टुँडालमा आवश्यक ठाउँहरूमा चुकुलको उपयुक्त प्रकारको प्रयोगले नै मन्दिरहरूलाई बलियो बनाउने हो भन्ने कुरालाई नबिर्सौं।
हिजोआज प्रयोगमा आएका चुन र इँटाका धुलो जसलाई ‘बज्र’ भनिने गरेको छ, त्यो पुरानो बज्र, जसमा चाकु, मास, भुस, हिङ आदिको मि श्रणले बलियो बन्ने मसला होइन। त्यो प्रविधि महँगो हुनुका साथै लोपै भइसकेको सन्दर्भमा उपयुक्त प्रविधि अवलम्बनका लागि पनि अध्ययन-अनुसन्धान आवश्यक भइसकेको छ। नत्र हामीले बलियो बज्र प्रयोग गरेका छौं भन्दाभन्दै नक्कली बज्रको फन्दामा परेर हाम्रा सम्पदा ससाना भूकम्पमा पनि टिक्न नसक्ने कुरालाई समयमै सोच्नु अपरिहार्य भइसकेको मननीय छ।