वडा अध्यक्षमाथि हातपात
महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडा अध्यक्ष दिलबहादुर बुढामाथि हातपात गरिएको छ। छाडा पशु व्यवस्थापन गरेबापतको रकम नदिएको भन्दै स्थानीय अग्नि विष्ट र उनका छोरा लोकेन्द्र विष्टले मंगलबार कार्यालयमै उनीमाथि हातपात गरेका हु्न्।
वडा अध्यक्ष बुढाका अनुसार अग्नि विष्टलाई शुक्लाफाँटा नगरपालिकाले स्थानीय तह निर्वाचनपछि छाडा चौपाया व्यवस्थापनका लागि रु २ लाख ६० हजार दिएको थियो। विष्ट उक्त रमक कम भएको भन्दै वडा कार्यालयमा पैसा माग्न आएका थिए।
‘२०७४ मंसिरमा छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले अग्नि विष्टलाई पैसा दिएको थियो’, वडा अध्यक्ष दिल बहादुर बुढाले भने,‘आज दुई वर्षपछि वडा कार्यालयमा पैसा माग्न आउनुभयो मैले वडाबाट दिन सकिँदैन नगरपालिका जानुस् भनेको हुँ।’
उनले वडा कार्यालयबाट पैसा दिन नसकिने भनेपछि बाबुछोराले आफुमाथि हातपात गरेको बताए। इलाका प्रहरी कार्यालय झलारीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।