लट्रीका नाममा ठगी : नाइके दिल्लीमा, एजेन्ट नेपालमा
काठमाडौं : बनेपाकी एक महिलालाई एक महिनाअघि मोबाइलमा एउटा सन्देश आयो- ‘तपाईंलाई लन्डनबाट महँगो सामान लट्री परेको छ। यो नम्बरमा फोन गर्नोस्।’ उनले मोबाइलमा आएको नम्बरमा फोन गरिन्। फोनमा सतुंगल बस्ने शर्मिलाकुमारी श्रेष्ठले कुरा गरिन्। रौतहट घर भएकी श्रेष्ठसँग बौद्धमा भेट भयो। श्रेष्ठले २० हजार रुपैयाँ बुझिन्। महिलाको नम्बरमा फेरि सन्देश आयो- ‘तपाईंले पाउने लट्रीमा २ हजार पाउन्ड रहेछ। भन्सार क्लियरेन्सका लागि १ लाख बुझाउनुपर्छ।’ उनले त्यही सन्देशअनुसार सिद्धार्थ बैंकमा रकम जम्मा गरिन्। पटक-पटक रकम माग्दै जाँदा उनले ४ लाख ७० हजार रुपैयाँ बुझाइन्।
सोमबार बिहान अर्को सन्देश आयो- ‘अब ५ लाख २० हजार रुपैयाँ बुझाए सामान तपाईंको घरसम्मै पार्सल आउँछ।’ तब ठगीमा परेको हो कि भनेर परिवारमा शंका भयो। ती महिलाले यसको सूचना प्रहरीमा दिइन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ठगीमा संलग्न गिरोहसँग गुपचुप च्याट गर्यो। ५ लाख २० हजार बौद्धमा भेटेर दिने कुरा भयो। पीडित महिलासँगै प्रहरी गयो। पैसा बुझ्न आएकी श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो। श्रेष्ठकै बयानका आधारमा बालाजु बस्ने सुशील गुरुङ, मोरङ विराटनगर घर भई हाँडीगाउँ बस्ने अलंकार जैन, भारत घर भई क्षेत्रपाटी बस्ने नवीन अग्रवाल र बौद्ध बस्ने आनन्द अग्रवाल समातिए।
चारै जनालाई महाशाखामा ल्याई अनुसन्धान गर्दा गिरोहका नाइके भारतको दिल्ली बस्ने पोटु अग्रवाल रहेको खुल्यो। उनी नेपालमै लामो समय बसेर सन् २०१० मा दिल्ली फर्किएका रहेछन्। उनी दिल्लीमा तिब्बती कपडा कारोबारमा संलग्न छन्। पीडित महिलालाई सुरुमा मोबाइलमा सन्देश पोटुले पठाएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।
‘पोटुले सुरुमा मोबाइलमा सन्देश पठाएको र पैसा दिन राजी भएपछि श्रेष्ठ र गुरुङलाई परिचालन गरेको देखियो’, एसएसपी थापाले भने, ‘पैसा बौद्ध र क्षेत्रपाटीमा पसल थापेर बसेका अग्रवालद्वयको पसलमा बुझाउन पोटुले मान्छे परिचालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ।’
महाशाखाका अनुसार पक्राउमध्येका अग्रवालद्वय नाताले पोटुका काका हुन्। पसलमा पैसा बुझाउन र लिन जाने दुवै व्यक्ति उनीहरूले चिन्दैनथे। ‘पोटुले दिल्लीबाटै फोन गरेर पैसा दिनू भनेपछि नचिनेका व्यक्तिलाई नै अग्रवालद्वयले पैसा दिने गरेको पाइयो’, एसएसपी थापाले भने।
श्रेष्ठ र गुरुङको पोटुसँग निकट सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरू पोटुलाई भेट्न दिल्ली पुगेका र पोटुसँग तस्बिरसमेत खिचेको भेटिएको छ।
महाशाखाका अनुसार गुरुङ र श्रेष्ठले १ लाख रुपैयाँ पोटुको खातामा राखिदिएबापत १५ देखि २० हजार रुपैयाँ कमिसन पाउँदै आएको अनुसन्धानबाट खुलेको छ। ‘यो समस्या उपत्यकामा धेरै छ। कतिले उजुरी गर्छन् त कतिले गर्दैनन्’, उनले भने, ‘तर, सजग हुन जरुरी छ।’ यो गिरोहले अन्य थुप्र्रैलाई ठगी गरेको आशंका प्रहरीको छ। अग्रवालद्वयले भने काठमाडौंमा बसेर हुन्डीको कारोबार गरेको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।