नेपाल प्रवेशमा प्रतिबन्धसहित १२२ चिनियाँलाई स्वदेश फर्काइदै
काठमाडौं : शंकास्पद गतिवधिमा संलग्नताको आरोपमा पक्राउ परेका १ सय २२ चिनियाँलाई नेपालले बुधबार निष्काशन गर्दै छ। गृह मन्त्रालयले उनीहरूलाई नेपाल प्रवेशमा चार वर्ष प्रतिबन्ध लगाएको छ। कुनै पनि प्रवेशाज्ञा (भिसा)मा उनीहरू अब नेपाल आउन पाउँदैनन्। उनीहरू सबैलाई कालोसूचीमा राखिएको छ।
अध्यागमन विभागले उनीहरूलाई चार वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गर्ने निर्णय गरेको हो। विभागका महानिर्देशक ईश्वरराज पौडेलले ती चिनियाँलाई निष्काशन गर्न लागिएको बताए। ‘उनीहरूलाई बुधबार साँझ चीन पठाउँदै छौं’, महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने।
अध्यागमन ऐनको दफा ९ (१) (क) मा अध्यामगनको प्रचलित कानुनविपरीत कार्य गरेबापत दण्डसजाय भोगिसकेका प्रवेशाज्ञा (भिसा) लिनुपर्ने अवस्थाका विदेशीलाई महानिर्देशकले नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी पुनः नेपाल प्रवेश गर्न नपाउने नगरी नेपालबाट निष्काशन गर्ने आदेश जारी गर्न सक्ने उल्लेख छ।
चिनियाँ दूतावासले उनीहरूको हवाई टिकट र उडान विवरण विभागलाई बुझाएको छ। दूतावासले ती चिनियाँलाई दिएको ट्राभल डकुमेन्ट (टीडी)मा विभागले चार वर्ष नेपाल प्रवेश गर्न नपाउने लेखिदिएको छ।
विभागले भिसा नभएका चिनियाँको भिसा नियमित गरेको छ। भिसाको म्याद नगुज्रिएका चिनियाँको भिसा प्रस्थान भएको भोलिपल्ट (बिहीबार)देखि रद्द गरिदिएको छ। दूतावासले १ सय २२ जनै आफ्ना नागरिकको राहदानी रद्द गरेको छ। दूतावासले विभागलाई ती सबै चिनियाँको ट्राभल डकुमेन्ट उपलब्ध गराएको छ। विभागले त्यसमा भिसा नियमित गरेको हो। महानिर्देशक पौडेलले आफ्नो अधिकार प्रयोग गरी ती चिनियाँबाट कसुरबमोजिम जरिवानासमेत गराएका छन्।
हिरासतमा रहेका ती चिनियाँलाई बुधबार अपरान्ह प्रहरी र अध्यामगनका कर्मचारीको रोहवरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइनेछ। चीन सरकारले उनीहरूलाई फिर्ता लैजान दुइटा चार्टर जहाज पठाउँदै छ। सीजेड ३००२ उडान नम्बर भएको चाइना साउदर्न विमानबाट ८० जना जाँदै छन्। बाँकी ४२ जनालाई एमयू ७१७६ उडान नम्बरको चाइना वेस्टर्नको विमानबाट फिर्ता लगिँदै छ। दुवै जहाज अवतरणका लागि नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ।
दुई चार्टर जहाजमा चिनियाँ सुरक्षा अधिकारीसमेत आउने स्रोतले बताएको छ। उनीहरू विमानबाट बाहिर भने आउने छैनन्। कति सुरक्षाकर्मी आउने भन्ने यकिन छैन। विमानमा उच्छृंखल गतिविधि गर्ने सम्भावना रहेकाले उनीहरूलाई लिन हतियारसहितका चिनियाँ सुरक्षा अधिकारी आउने स्रोतले बताएको छ। प्रहरी र अध्यामगनका अधिकारीको रोहवरमा ती चिनियाँलाई विमानसम्म पु¥याइनेछ। विमानमा चढेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूको जिम्मा लिनेछ।
आफ्ना नागरिकले पूर्वी र दक्षिण एसियाली मुलुकमा ¥याकेटकै रूपमा अवैध गतिविधि चलाइरहेको र त्यस्ता गतिविधिले चीन सरकारको छवि धुमिल्याइरहेकोप्रति चीन सचेत देखिएको थियो। त्यसपछि चीनले पूर्वी एसियाका भियतनाम, कम्बोडिया, लाओसलगायत देशमा अवैध गतिविधि गरिरहेका आफ्ना नागरिकविरुद्ध अपरेसन चलायो। त्यस क्रममा केही पक्राउ परे भने केही भागेका थिए।
भागेकाहरू नेपाल, भारत, बंगलादेशलगायत दक्षिण एसियाली मुलुक छिरेको सूचना चीनले पाएको थियो। त्यही सूचना पछ्याउँदै चिनियाँ सुरक्षा अधिकारी नेपाल आइपुगे। नेपालमा पनि अवैध रूपमा हजारौं चिनियाँ बसेको थाहा पाएपछि चीनले उनीहरूविरुद्ध अपरेसन गर्न सुरक्षा टोली पठाएको थियो। चीनको पब्लिक सेक्युरिटी मन्त्रालयअन्तर्गतको अपराध अनुसन्धान विभागका उपनिर्देशक बाङ हुवाको नेतृत्वमा चिनियाँ सुरक्षा अधिकारी नेपाल आएका थिए।
उनीहरूले अवैध गतिविधिमा संलग्न आफ्ना नागरिकविरुद्ध नेपाली सुरक्षा अधिकारीलाई सूचना दिएका थिए। प्रहरीले पुस ७ गते शंकास्पद ढंगले नेपाल बसिरहेका १ सय २२ जनालाई पक्राउ गरेको थियो। १ हजार जनालाई पक्राउ गर्ने उद्देश्य लिए पनि सूचना चुहिएपछि उनीहरूको योजना असफल बनेको जनाइएको छ।