हिमपातले मुस्कुराएको खप्तड (फोटो फिचर)
धनगढी : धर्तीको स्वर्ग भनिने सुदूरपश्चिमको खप्तडमा तेस्रो पटक हिमपात भएको छ। शनिबारदेखि परेको हिमपात आइतबार र सोमबार रोकिए पनि बुधबार फेरि सुरु भएको खप्तड राष्ट्रिय निकुञ्जका उपसेनानी तीर्थ खत्रीले बताए। अहिले पनि खप्तडमा हिमपात भइरहेको छ।
खप्तड राष्ट्रिय निकुञ्जको अधिकतम तापक्रम माइनस-२ डिग्री र न्युनतम राति माइनस-१० डिग्रीसम्म पुग्ने गरेको खत्रीले बताए। खप्तडमा तेस्रो पटक परेको हिउँ पछि, हिउँको उचाई झण्डै ६ फिट पुगेको नेपाली सेनाले जनाएको छ। लगातारको हिउँ परेपछि पर्यटकलाई आउन सजिलो होस भनेर नेपाली सेनाको टोली लगातार बाटो खोल्न खटिएको उनले बताए।
खप्तड बाबाको आश्रम, त्रिवेणीघाट र शहस्त्रलिंगसम्म जाने बाटोमा ६ फिट हिउँ जमेको छ। हिमपातका बेला आउने पर्यटकलाई सजिलो होस भनेर खप्तडभित्रका पनि बढी पर्यटक जाने तीन स्थानको बाटोको हिउँ हटाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। डोटी, अछाम, बझाङ र बाजुरा गरी चार जिल्ला छुने खप्तड राष्ट्रिय निकुञ्जमा नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारी मात्र बस्छन।