दार्चुलामा फेरि हिमपात : किसान खुसी, विद्यालय बन्द
दार्चुला : मौसम परिवर्तन भएसँगै दार्चुलाका उच्च पहाडी क्षेत्रमा फेरि हिमपात भएको छ ।जिल्लाको ब्यास,दल्लेख,राप्ला,न्वाल्पानी,भेरेखोला,रानिशिखर,मार्मा,अपिहिमाल, सुन्सेरालगायतका क्षेत्रमा सोमबारदेखि फेरि हिमपात भएको हो।
मंगलबार साँझदेखि हिमपातले किसानमा खुसी छाएको स्थानीय खिमानन्द भट्टले बताए । यतिबेला परेको हिमपातले बालीनाली सप्रिने भएकाले यहाँका किसान खुसी भएका हुन्।
मालिकार्जुन गाउँपालिका ३ का किसान वीर धामीले यो महिनामा परेको हिउँ र पानीले हिउँदे बाली सप्रिनुका साथै चिसोमा लाग्ने रोगहरु पनि हट्ने बताए।
हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको न्वाल्पानीका स्थानीय इन्द्र धामिले बताए । हिमपातले बाहिर निस्कन मुस्किल भएको छ । चिसोले बिरामीको संख्यामा पनि वृद्धि भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।
अस्पतालका अनुसार दैनिक ६०/ ७० जना बिरामी आउने गरेका छन् । बढीजसो दम र निमोनियाका बिरामी रहेको डा. गजेन्द्र दुवालले बताए । चिसो बढेसँगै ब्यास गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द भएका छ्न्। सिद्ध मावि सिनामा परेको हिमपातले विद्यालय भवनको ढोका पुरिएको सिद्ध माविका शिक्षक जगत बोहराले बताए ।