बैतडीमा हिमपात : बिजुली बन्द, धारामा पानी आउन छोड्यो
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा तेश्रो पटक भारी हिमपात भएको छ । बैतडीको श्रीभावर, ढोल्यामोड, सिगासधुरा, खोड्पे,सतबाँझ, ग्वाल्लेक, जित्कीजुवाँड, कलालबसे लगायतका अधिकांश क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन् ।
बुधबार राती भएको हिमपातले जनजीवन प्रभावित भएको छ। चिसोका कारण बाहिर कठिन भएको स्थानीयले बताएका छन् । हिमपातले वस्तुभाउ स्याहारमा समेत समस्या भएको सुर्नया ६ की जयन्ती अवस्थीले बताइन् । उनले भनिन्, 'यो वर्ष अहिले सम्मकै बढी हिमपात भएको छ ।हिमपातका कारण जनजीवन कष्टकर भएको छ।'
जिल्लाको खोड्पे क्षेत्रमा पनि भारी हिमपात भएको स्थानीय मोहन बिष्टले बताए । हिमपातका कारण पाइपबाट आउने खानेपानी समेत अवरुद्ध भएको उनले बताए । 'हिमपातले निकै समस्या भएको छ । खानेपानीको समस्या एकातिर भएको छ भने अर्कोतिर चिसोले बाहिर निस्किन मुस्किल भएको छ ।'
हिमपातका कारण सवारी साधन आवागमन प्रभावित भएको छ। हिमपातका कारण दशरथचन्द राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्लाबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिमपातले बैतडीमा बुधबार रातीदेखि विद्युत सेवा अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । पुस दोश्रो साता परेको हिउँ पग्लन नपाउँदै तेश्रो पटक हिमपात भएको दशरथचन्द नगरपालिका १ पुस्कर भट्टले बताए ।