आजबाट स्वस्थानी व्रत सुरु
काठमाडौं : हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना शुक्रबारबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। श्री स्वस्थानी परमेश्वरीको व्रत बसी कथा वाचन गर्ने र श्रवण गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मर्त्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको भन्ने प्रसंग स्वस्थानी कथामा छ।
यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । व्रत बस्नेले महिनाभरि प्रत्येकदिन नुहाई श्रीस्वस्थानीको पूजा कथा श्रवण गरेमा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले गत शनिबार (पुस १९) गते पत्रकार सम्मेलन गरी पूजाको विधि, पूजामा चाहिने सामग्री तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जानकारी दिएको थियो । पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले बताए।
समितिले गएको वर्ष लाखौँको सङ्ख्यामा भक्तालु दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका थिए । यो वर्ष पनि सोही अनुपातमा भक्तजन आउने अपेक्षा गरिएको छ। मेलाका लागि सम्पूर्ण व्यवस्थापनको तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् ।