काभ्रे र हेटौंडा दुवैतिर राजधानी बनाउन प्रस्ताव

काभ्रे र हेटौंडा दुवैतिर राजधानी बनाउन प्रस्ताव

हेटौंडा : नेकपा ३ नम्बर प्रदेश संसदीय दलको बैठक बिहीबार प्रदेशको नाम र स्थायी राजधानीबारे निर्णय नगरी सकिएको छ। निर्णयलगत्तै प्रदेशसभामा प्रक्रिया अघि बढाउन उसले बैठक लम्ब्याएको हो।

प्रदेशसभामा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनबारे बोल्ने क्रम सकिएको छैन। अन्य प्रक्रियामा पनि थप एक दिन लाग्ने देखिएको छ। ‘प्रदेश कमिटीका नेताहरू, प्रदेश सरकारका मन्त्रीहरू सबैले पार्टी केन्द्रको सुझावअनुसार अघि बढ्ने गरी धारणा राख्नुभएको छ’, नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले भने, ‘शुक्रबार बस्ने बैठकमा थप छलफलपछि निर्णय हुन्छ।’ प्रमुख प्रतिपक्षी कांग्रेससहित राप्रपा, नेमकिपा, विवेकशीललगायत दलसँग पनि छलफल गरी सर्वसम्मतिमा नाम र राजधानी तोकिने उनले बताए।

मुख्यमन्त्री निवासमा चार घण्टा चलेको बैठकमा नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज काशीनाथ अधिकारी, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, प्रदेश सरकारका मन्त्रीहरू र केही नेताले बोलेका थिए। बैठक आज बिहान ११ बजे बोलाइएको छ।मुख्यमन्त्री निवासमा बिहीबार बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठक।

प्रदेश इन्चार्ज शाक्यले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्राप्त निर्देशन सुनाएकी थिइन्। पार्टीको निर्णय विधिसम्मत नभए पनि यसलाई कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ थियो।

प्रदेश अध्यक्ष दाहालले सबै हिसाबले उपयुक्त हेटौंडा नै पार्टी केन्द्रले पनि सुझाव दिएकाले नेकपाका सबै प्रदेश सांसदले एकै ठाउँमा मतदान गर्नुको विकल्प नरहेको बताए। प्रदेश सरकारका मन्त्रीहरू सालिकराम जम्कट्टेल, युवराज दुलाल, अरुण नेपाल र दावा दोर्जे लामाले पनि पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए।

संसदीय दलमा निर्णयलगत्तै प्रदेशसभामा नाम र राजधानी टुंगो लगाउन खाली समय नराख्ने नेकपा प्रदेश कमिटीको तयारी छ। ‘प्रदेशसभामा पनि केही प्रक्रिया बाँकी छ। प्रदेश कमिटीमा निर्णय गरेर खाली समय राख्दा थप चलखेल हुन सक्छ’, एक नेताले भने, ‘त्यही भएर आज (बिहीबार) हामीले निर्णय गरेनौं। पार्टीले निर्णय गरेको एक दिनभित्र प्रदेशसभाबाट सबै प्रक्रिया टुंगो लगाउने हाम्रो तयारी छ।’

एउटै नाम लैजान रोक्ने प्रयास

केन्द्रको निर्देशनअनुसार प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती मात्र निर्णय गरेर प्रदेशसभामा लैजान रोक्ने प्रयास नेकपामा जारी छ। विशेष समितिले सिफारिस गरेको पाँचवटै नाम प्रदेशसभामा दर्ता गर्ने र फिर्ता लिने समयमा थप ‘बार्गेनिङ’ गर्ने केही नेताको तयारी छ। समितिले प्रदेश राजधानीका लागि मकवानपुर, काभ्रे, भक्तपुर, नुवाकोट र चितवन उपयुक्त हुने सिफारिस गरेको छ।

‘प्रदेश इन्चार्जले नै समितिले सिफारिस गरेका पाँचवटै नाम प्रदेशसभामा दर्ता गरौं र दर्ता गर्ने साथीहरूलाई पार्टीको निर्णय मान्दै फिर्ता लिन लगाऔं भन्ने प्रस्ताव गर्नुभएको छ’, प्रदेश सांसदसमेत रहेका नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘मुख्यमन्त्री, पार्टीका प्रदेश अध्यक्ष, नेताहरू भने पार्टी निर्णयअनुसार एउटै नाम मात्र लैजाने पक्षमा हुनुहुन्छ।’ राजधानी हेटौंडा र नाम बागमती राख्न केन्द्रको निर्देशनअनुसार निर्णय गरी ह्विप लगाइने प्रदेश कमिटीका एक नेताले बताए।

नेताहरूले खुट्टा कमाएको गुनासो

प्रदेश इन्चार्ज शाक्य, नेता राजेन्द्र पाण्डे, पशुपति चौलागार्इंलगायत नेताको साथ पाए केही प्रदेश सांसद ‘फ्लोर क्रस’ गरी काभ्रेको पक्षमा मतदान गर्ने तयारीमा थिए। ‘तर नेताहरूले पार्टी निर्णय मान्नुपर्ने बताएपछि एक्लाएक्लै फ्लोर क्रस गर्न गाह्रो हुन्छ’, काभ्रेका एक प्रदेश सांसदले भने, ‘नेताहरूले नै साथ छाडेपछि अब ह्विप लगाएर हेटौंडाको पक्षमा निर्णय गराउन सक्छ।’

नेकपाले नाम र राजधानीबारे ह्विप लगाए कांग्रेसले पनि ह्विप लगाउने तयारी गरेको छ। ‘नेकपाले नाम र राजधानीमा एकमत भएर एउटै निर्णय गर्‍यो भने हामी पनि उक्त निर्णयमा सहयोग गर्न सक्छौं’, कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले भने, ‘नेकपाले स्वतन्त्र मतदान गर्न दिएको खण्डमा कांग्रेसले पनि स्वतन्त्र मतदान गर्न दिन्छ।’

हेटौंडासँगै काभ्रेलाई राजधानी बनाउन माग

प्रदेश ३ को राजधानीलाई लिएर बिहीबार प्रदेशसभामा चर्काचर्की छलफल भएको छ। प्रदेश ३ को राजधानी हेटौंडा र काभ्रे हुनुपर्ने पक्षमा आवाज उठेको हो। नुवाकोटलाई पनि राजधानी बनाउन माग गरिएको छ।

विशेष समितिको प्रतिवेदनबारे दोस्रो दिनको बैठकमा नेकपा सांसद राजेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय अभ्यासको परिभाषा दिँदै काभ्रे र हेटौंडा दुवैतिर राजधानी बनाउन प्रस्ताव गरे। ‘प्रदेशको राजधानी काभ्रे र हेटौंडा राखौं’, उनले भने, ‘भौगोलिक रूपमा उपयुक्त भने काभे्र नै हो।’

बिहीबार नेपालको संसदीय इतिहासमै पहिलो पटक चेपाङ भाषा प्रयोग गरिएको छ। जातीय पहिचान जाबी झोलासहित उपस्थित कांग्रेस प्रदेशसभा सदस्य सन्त चेपाङले हेटौंडा राजधानीका लागि उपयुक्त रहेको बताएका थिए।

बिहीबार २० जनाले विशेष समितिको प्रतिवेदनबारे धारणा राखेका थिए। अर्को बैठक शुक्रबार दिउँसो ३ बजे बोलाइएको छ। प्रतिवेदनबारे बोल्ने क्रम सकिएपछि समिति सभापति दीपक निरौलाले जवाफ दिने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.