बिनालाइसेन्स चल्छन् अटोरिक्सा
सुर्खेत : ट्राफिक नियम पालना नगरेकै कारण कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा सडक दुर्घटना बढ्दै गएका छन्। सुर्खेतमा सडक दुर्घटनाकै कारण चालु वर्षको हालसम्म १४ जनाको ज्यान गएको छ। उच्च सवारी चापका कारण अस्तव्यस्त बन्दै गरेको वीरेन्द्रनगर नगरक्षेत्रमा करिब १ हजार ९ सय अटोरिक्सा चल्छन्।
तर, त्यसमध्ये झन्डै १५ अटोरिक्सा चालकसँग सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छैन। बिनालाइसेन्स वीरेन्द्रनगरमा चल्ने अटोरिक्सा नियन्त्रण गर्न ट्राफिक प्रहरीलाई समेत हम्मेयहम्मे छ। सवारीसाधन चलाउँदा वा हिँड्दा नै किन नहोस् वीरेन्द्रनगरमा ट्राफिक नियमको व्यापक उल्लंघन हुन थालेपछि स्थानीय प्रशासनको समेत ध्यानाकर्षण भएको छ। वीरेन्द्रनगरमा चल्ने बिनालाइसेन्सका अटोरिक्सा चालकलाई तीव्र गतिमा सवारी हाँक्नु, संकेत नमान्नु, जथाभावी गाडी रोक्नु, सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नुजस्ता ट्राफिक नियम सामान्य लाग्न थालेको हो।
वीरेन्द्रनगरमा चल्ने अटोरिक्सा चालकले यात्रुबाट मनलाग्दी भाडा असुल्न थालेपछि स्थानीय प्रशासनले अटोरिक्सामै अनिवार्य भाडादर टाँस्न ताकेतासमेत दिएको छ। वीरेन्द्रनगर नगरपालिकाले कायम गरेको भाडादर कार्यान्वयन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिरहेको सुर्खेतका प्रहरी उपरीक्षक डिल्लीराज पन्तले बताए। बिनालाइसेन्सका अटो चालकलाई बारम्बार जरिवाना तोकिँदासमेत उनीहरू सचेत नभएको उनको भनाइ छ। जिल्ला प्रशासनले नगरपालिकालाई पिपिरा चोक, मंगलगढी, यरीचौकलगायत प्रमुख चोकमा भाडादर स्पष्ट देखिनेगरी राख्नसमेत अनुरोध गरेको छ।
चालकलाई नियन्त्रणमा लिने रणनीति
वीरेन्द्रनगरमा गुड्ने अटोरिक्सा चालकले अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स)बिना अटो चलाउन नपाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिनालाइसेन्स अटो चलाउने चालकलाई नियन्त्रणमा लिने रणनीति अपनाएको छ। वीरेन्द्रनगरको आवश्यकताभन्दा अटोरिक्साको संख्या बढेको र अनिवार्य लाइसेन्सबिना सवारी चलाउन थालेपछि चालकलाई नियन्त्रणमा लिने रणनीति अपनाएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।
‘अटोरिक्सा चालकलाई बारम्बार प्रहरीले ट्राफिक नियम सिकाए पनि टेरेका छैनन्’, उनले भने, ‘दुर्घटना घटाउन र ट्राफिक नियम सिकाउन बिनालाइसेन्सका अटो चालकलाई नियन्त्रणमा लिएर आवश्यक ज्ञान दिनुका साथै कारबाही गरिनेछ।’ उनका अनुसार वीरेन्द्रनगरमा करिब १९ सय अटोरिक्सा छन्। जसमा तीन सय जना अटो चालकसँग मात्रै सवारीचालक अनुमतिपत्र छ। सवारी चलाए पनि अधिकांश अटो चालकलाई कुन–कुन कागजात बनाउनुपर्छ भन्ने ज्ञान नभएको अधिकारीले बताए।
माघपछि सुर्खेतबाटै लाइसेन्स
नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन अहिले पनि बाँके जिल्लाको नेपालगन्ज धाउनुपर्ने बाध्यता छ। प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा पनि सुर्खेतबाट नयाँ सवारीचालक अनुमतिपत्र वितरण हुन सकेको छैन। लाइसेन्सकै लागि बाहिर जिल्ला जाँदा खर्च धेरै हुने भएकाले सुर्खेतका अधिकांश अटोरिक्सा चालकले लाइसेन्स लिन नसकिएको तर्क गरेका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले माघपछि सुर्खेतबाटै सवारीचालक अनुमतिपत्र वितरण गर्न समन्वय गरिरहेको छ। प्रशासनले यातायात विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग माघपछि यथाशीघ्र सुर्खेतबाट सवारीचालक अनुमतिपत्र वितरण गर्न पहल गरेको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।
सुर्खेतबाटै लाइसेन्स दिँदा लाइसेन्सविहीन अधिकांश सवारीचालकले चालक अनुमतिपत्र पाउने अपेक्षा गरिएको छ। यातायात व्यवस्था कार्यालयले प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर) को जिम्मा बुद्ध मोटर ड्राइभिङ सेन्टरलाई समेत दिइसकेको छ। चालक अनुमति पत्र दिँदा स्वास्थ्य परीक्षणका लागि चिकित्सकमा वीरेन्द्रनगर–५ का डा. शिव तिवारीलाई छनोट गरिएको छ।