चिनियाँ पक्राउ प्रकरण : उपकरण चीनले लग्यो

चिनियाँ पक्राउ प्रकरण : उपकरण चीनले लग्यो

काठमाडौं : पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकबाट बरामद उपकरण चिनियाँ सुरक्षा अधिकारीले नै लगेका छन्। चीनको पब्लिक सेक्युरिटी मन्त्रालयको आग्रहमा बरामद उपकरण चिनियाँ सुरक्षा अधिकारीलाई बुझाएको नेपाल प्रहरी स्रोतले बतायो। चिनियाँ अधिकारीले बरामद सामग्रीबारे थप अनुसन्धान गर्नेछन्।

आगामी दिनमा यस्ता गतिविधि नदोहोरियोस् भनेर चीनले गम्भीर अनुसन्धान गर्न लागेको हो। सूक्ष्म अनुसन्धान गर्न र उनीहरूको अपराध पुष्टि गर्न बरामद उपकरण चिनियाँ सुरक्षा अधिकारीले प्रहरीसँग लैजाने अनुमति मागेको थियो। आफ्नो मुलुकको छवि धूमिल बनाउने गरी छिमेकी मुलुकमा शंकास्पद गतिविधि सञ्चालन गरेको पाएपछि चीन सरकार उनीहरूप्रति कठोर बनेको हो। ‘चिनियाँ पक्षले लिखित रूपमै बरामद उपकरण उपलब्ध गराउन आग्रह गरे,’ प्रहरीका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘थप अनुसन्धान गर्छाैं, सहयोग गर्नुपर्‍यो भनेपछि हामीले उपकरण दिएका हौं।’

ती चिनियाँले प्रयोग गरेका उपकरणमाथिको अनुसन्धानले उनीहरू केकस्ता गतिविधिमा संलग्न थिए भन्ने यकिन गर्न सजिलो हुने चिनियाँ सुरक्षा अधिकारीको तर्क छ। ती नागरिकबाट प्रहरीले कम्प्युटर, मोबाइल फोन, आइप्याडलगायतका सामग्री बरामद गरेको थियो। गृह मन्त्रालयले नेपाल प्रवेशमा चार वर्ष प्रतिबन्ध लगाउने निर्णय गर्दै एक सय २२ चिनियाँलाई बुधबार निष्कासन गरेको हो। हतियारधारी चिनियाँ सुरक्षाकर्मीसहित चाइना साउर्दन र चाइना इस्टनका दुई विमान निष्कासित चिनियाँलाई लिन बुधबार साँझ काठमाडौं आएको थियो।

जहाजमा झन्डै २ सय ३० जना हतियारधारी चिनियाँ सुरक्षाकर्मी काठमाडौं आएको प्रहरी स्रोतले जनाएको छ। संदिग्ध चिनियाँलाई लैजाँदा जहाजभित्र उच्छृंखल गतिविधि हुने आशंकामा चिनियाँ पक्षले हतियारधारी सुरक्षाकर्मी पठाएको थियो। नेपाल प्रहरीले ती चिनियाँ नागरिकलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याएको थियो। गाडीबाट ओर्लने क्रममा उनीहरूको हत्कडी फुकाइएको थियो। चीनबाट आएका सुरक्षाकर्मीले पक्राउ परेका ती चिनियाँको सुरक्षा जाँच गर्न खोजेका थिए। नेपाली पक्षले विमानबाट नझर्न चिनियाँ सुरक्षा अधिकारीलाई सुझाएको थियो।

जहाज चढ्दा त्रसित चिनियाँ

पक्राउ परेका चिनियाँ नागरिकको अनुहारमा जहाज चढ्दै गर्दा त्रासदी देखिन्थ्यो। विमानस्थलका एक प्रहरीले भने, ‘ती चिनियाँ नागरिकको अनुहार त्रासपूर्ण थियो। उनीहरूमा कडा कारबाहीमा परिने डर र चिन्ता देखिन्थ्यो।’ चीन सरकारले आफ्नो मुलुकबाहिर आपराधिक गतिविधि गरेको अभियोग लगाएर उनीहरूमाथि थप अनुसन्धान गर्नेछ। एक चिनियाँ सुरक्षा अधिकारीले अन्नपूर्णसँग भने, ‘पक्राउ परेकामाथि हामी विस्तृत अनुसन्धान गर्नेछांै। आरोप पुष्टि भए उनीहरू कम्तिमा ३ वर्ष जेल जान्छन्।’

चीनले पहिलो चरणमा भियतनाम, कम्बोडिया, फिलिपिन्स, लाओसलगायत मुलुकमा रहेका आफ्ना नागरिकविरुद्ध अप्रेसन चलाएको थियो। त्यहाँको अप्रेसनबाट अधिकांश नागरिक नेपाल छिरेको सूचना पाएपछि चिनियाँ सुरक्षा अधिकारी अनुसन्धान गर्न काठमाडौं आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.