राम शाहको प्रशस्तिमा बादशाह जहाँगिरको सम्पादन
‘स्वस्ति गिरिराजचक्रचुडामणिनरनारायणेत्यादिविविधविरुदावली..’
संस्कृतमा लेखिएको यो गद्यांशलाई केपी शर्मा ओलीले मण्डला थिएटरमा २०७४ आश्विन ८ गते ‘लाटीको छोरो’ नाटक हेरिसकेपछि परिहासका लागि स्मरण गरे। उनी त्यस बेला प्रधानमन्त्री थिएनन्, पहिलो कार्यकालको बीचैमा हटाइएर प्रतिपक्षी नेताका रूपमा आम निर्वाचनको तयारी गर्दै थिए। भनिहालौं, परिहासले स्वस्थ हास्य पस्कन्छ भने त्यसको विपरीतार्थक हास्य उपहासबाट जन्मन्छ, जसले सम्बोधितलाई होच्याएर दर्शक वा श्रोतालाई हँसाउन खोज्छ।
संस्कृतमा लेखिएको यस पंक्तिलाई विद्वान्हरूले बाटो बिराउँदा निस्कने चाकरीको रचना बताउँदै सुबाटो लिँदाचाहिँ ‘यो नेपाली शिर उचाली...’जस्तो प्रेरक हरफ रचना हुन्छ भन्ने ओलीको कथन थियो। सुलक्षण भारतीले निर्देशन गरेको उक्त नाटकले समाजको कथित सभ्य वर्गको पाखण्डमाथि कठोर व्यंग्य गरेको थियो।
समकालीन परिहासलाई एकैछिन पन्छाएर इतिहास खोतल्दाचाहिँ नेपालका शाह राजाहरूको प्रशस्तिका लागि संस्कृत गद्यमा लिखित यस पंक्तिको प्रचलनले करिब चार सय वर्षको जीवन बाँचेको देखिन्छ। यसको प्रयोग कसरी सुरु भयो भन्नेबारे वंशावली र ऐतिहासिक पाण्डुलिपिमा गोर्खाली राजा राम शाहले राखेका विदेश सम्बन्धका केही परिहासपूर्ण र कतिपय रहस्यमयी प्रसंगहरू अभिलिखित छन्— जसको छोटकरीमा चर्चा गर्नु यस आलेखको उद्देश्य हो।
राजाहरूलाई प्रशस्ति किन आवश्यक थियो भन्ने बुझ्न राजतन्त्रको समाजशास्त्रीय ऐतिहासिकीले सघाउँछ। मानव सभ्यता विकास हुने क्रमभित्र संगठित समाजको प्रागऐतिहासिक चरणमा राजतन्त्रको उदय भयो र सामन्तवादी प्रथाको उत्कर्षकाल पार गर्दै समयानुकूल नयाँ राजनीतिक पद्धतिहरू विकसित भए (जोन मिडलटन, वल्र्ड मोनार्किज एन्ड डाइनास्टिज, पृष्ठ १३४)। जुन राजतन्त्रले नयाँ पद्धतिलाई अस्वीकार गरे, उनीहरू नासिए। स्वीकार गर्नेहरू अद्यापि प्रासांगिक रहेकै छन्। सन् १७७६ मा अमेरिकी गणतन्त्र स्थापना हुँदा लगभग सम्पूर्ण बाँकी दुनियाँ राजतन्त्रात्मक थियो।
आज संसारका करिब दुई सय स्वतन्त्र राष्ट्रमध्ये अट्ठाइसवटामा राजा छन्। केवल सात जनासँग कार्यकारी अधिकार छ भने बाँकी नाम मात्रका छन्। उन्मूलित राजतन्त्रहरू पुनःस्थापना भएका दुइटा उदाहरण देखिन्छन्। बेलायतमा चार शताब्दीअघि ओलिभर क्रमवेलको छोटो गैरराजतन्त्रात्मक नेतृत्व (सन् १६५३-१६५८) विस्थापित गरेर राजा फर्के। आधुनिक गणतन्त्रको स्वरूप कतै पनि नदेखिएको क्रमवेलकालीन बेलायतमा राजतन्त्र नै अन्तिम शासकीय सत्य मानिनु नौलो थिएन। त्यहाँको आन्तरिक राजनीतिलाई विभाजित गर्ने ‘ब्रेक्जिट’ प्रक्रियाको नेतृत्व कुनै बेलायती राजाले गरेको हुँदो हो त त्यहाँ सायद यस बेला गणतन्त्र स्थापनार्थ आन्दोलन भइरहेको हुन सक्थ्यो।
इरानमा (सन् १९३३, १९५३) एकपटक मासिएर फर्केको राजतन्त्र दोहोर्याएर फ्याँकियो। राजा फर्केको भनिने आजको एक्लो अपवाद कम्बोडियामा सन् १९७० मा हटाइएको राजतन्त्र साँघुरिएको भूमिकासहित सन् १९९३ मा बहाली भएको हो।
आफ्नो उत्थापनकालमा शासन गर्ने एकाधिकार र दण्डका साधनको नैरन्तर्यका लागि राजाहरूले आफूलाई नागरिक भन्दा माथिल्लो दर्जाको, दैवी गुणले सम्पन्न, चामत्कारिक, अद्वितीय र असाधारण व्यक्तित्वका रूपमा पेस गरिरहनु पथ्र्याे। पूर्व र पश्चिम दुवैतिरका प्राचीन धर्म तथा साहित्यले राजालाई ईश्वरद्वारा पृथ्वीमा शासन गर्न छानिएको काल्पनिकीले सिँगारपटार गरिदिए। राजालाई सहयोग गर्ने भारदारले सत्तामा पहुँच कायम राख्न राजाको चमत्कारलाई थप विस्तार गरे। यसले समाजमा ‘डर’ पैदा गरिरह्यो, मिथकीय अतिरञ्जनाले सिँगारिएका राजाप्रति बफादारी अनिवार्य बनायो। नियन्त्रण कायम राख्न सघायो। छिमेकी राज्यबाट हुनसक्ने आक्रमणलाई पर धकेल्न सघायो।
बेलायती शासनअघि अस्तित्वमा रहेका भारतवर्षका सबैजसो राजतन्त्रले हिन्दू मिथकमा वर्णित अलौकिकताका कहानी मिसाएर दरबारी लेखकद्वारा आफ्ना वंशावली तयार गराउने चलन बसाए (पिटर बर्गर र फ्रयांक हाइडमानद्वारा सम्पादित द मोडर्न एन्थ्रोपोलोजी अफ इन्डिया पुस्तकभित्र उवे स्कोदा र टिना ओटेनद्वारा लेखिएको ओडिसा : राजा एन्ड प्रजा इन अ मल्टी सेग्मेन्टेड सोसाइटी, पृष्ठ २०७-२२२)।
अंग्रेजको विरासत धानेर आजको भारतले दक्षिण एसियाका साना छिमेकीसँग गर्ने व्यवहार तथा साना छिमेकीले भारततर्फ हेर्ने दृष्टिकोणको एउटा सानो ऐतिहासिक आँखीझ्याल यसबाट निर्माण हुन्छ।
सामाजिक जीवनमा प्रतीकात्मक कर्मबाट गरिने चमत्कारको पुनरुक्तिले राजाको दैवी शक्तिलाई जनविश्वासमा बदल्यो। नेपालका राजतन्त्रले पनि यसको सक्दो प्रयोग गरे। राजाको यसरी निर्मित छविलाई वैधानिकीकरण गर्ने एउटा प्रमुख औजार ‘राजप्रशस्ति’ अर्थात् राजाको व्यक्तिगत हैसियत र क्षमताको प्रशंसा हो, जसलाई विश्वका सबैखाले राजतन्त्रले कुनै न कुनै रूपमा अपनाएका देखिन्छन्।
नेपालका शाह राजाहरूले गोर्खा शासनकालको प्रारम्भकालदेखि नै प्रशस्तिको प्रयोग गरेका हुन्। गोर्खा राज्यको विस्तारसँगै फैलिन थालेको आकारलाई टिकाउने राजकीय व्यक्तित्व निर्माण गर्न राम शाहले आफ्नो प्रशस्तिलाई भारतवर्षका बलिया राज्यसँग तुलनीय बनाएको देखिन्छ। त्यसपछि नै आन्तरिक वा बाह्य पत्रव्यवहार, अभिलेख आदिको सिरानमा औपचारिक प्रशस्ति लेखिसकेपछि मूल बेहोरामा प्रवेश गर्ने चलन बसेको इतिहास प्रकाशमा दृष्टिगोचर हुन्छ। त्यसैको सिको गरेर वरिपरिका टुक्रे राजाहरूले पनि आफ्नो गच्छेअनुसारको प्रशस्ति चलाएका हुन्।
अन्तिम राजा ज्ञानेन्द्रको पालासम्म आइपुग्दा दरबारको अधीनमा रहेका मानपदवीहरू जोडिँदै लामो हुन गएको प्रशस्ति गोर्खाली राजा राम शाहको समयमा यस्तो थियो—
स्वस्ति श्रीगिरिराजचक्रचुडामणिनरनारायनेत्यादीविविधविरुदावलीविराजमानमानोन्नत श्रीमन्महाराजाधिराज श्रीमद्रामशाहदेवानाम् सदा समरविजयिनाम्’ (दिनेशराज पन्त, गोर्खाको इतिहास, चौथो भाग, पृष्ठ ९७६)।
यसको शाब्दिक अर्थ यस्तो हुन्छ :
पर्वतीय राजाहरूको समूहमा श्रेष्ठ, नर-नारायण इत्यादि अनेक विरुदले सुहाएका, सम्मानले उन्नत भएका, राजाहरूका पनि राजा श्री राम शाह देवको सधैं युद्धमा जित होस्।
इतिहासकार प्राज्ञ दिनेशराज पन्तका अनुसार राम शाहभन्दा अघिका राजा उनैका बाबु छत्र शाहको एउटा मात्र अभिलेख, त्यो पनि एक पंक्तिको मात्र पाइएको र त्यसमा ‘ श्रीमहाराज’ भन्ने प्रशस्ति मात्रै उल्लेख छ (गोरखाको इतिहास, पहिलो भाग, पृष्ठ ८८)। त्यसैले ऐतिहासिक सामग्रीहरूमा उल्लिखित राम शाहको प्रशस्ति नै शाह राजाहरूले यस स्वरूपमा चलाएको पहिलो प्रशस्ति हो भन्नेमा अझैसम्म फरक मत पाइएको छैन। पछिका राजाहरू पृथ्वीनारायण र महेन्द्रले यसमा केही सुधार गरे। अन्तिम शाह राजा ज्ञानेन्द्रको समयसम्म यही प्रशस्तिको मूल रूप चलिआएको देखिन्छ।
राम शाहले गोर्खा राज्यलाई आफ्ना पूर्वजहरूको तुलनामा धेरै फैलाएका थिए। उनी अघिका द्रव्य शाह र पूर्ण शाहका समयमा उत्तर भारतमा अकबर बादशाहको साम्राज्य फैलियो, जसको प्रभावले वर्तमान नेपालको सरहदभित्र पर्ने राज्यहरूलाई पनि विस्तारित हुन प्रेरित गर्यो (बाबुराम आचार्य, पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृष्ठ ८)। गोर्खा राज्यको दक्षिणी सिमानाले समथर भूभाग नछोए पनि राम शाह युवराज छँदै वा राजा भएपछि भारत चित्तौरका राजाहरूले अकबरको साम्राज्यसँग समेत लडेर राज्य जोगाइरहेको थाहा पाएका थिए। त्यसैले चित्तौरसँग सम्बन्ध विस्तार गर्न उनले चाहेका थिए भन्ने तथ्यलाई राम शाहको वर्णन भएको विस्तृत वंशावलीले उल्लेख गरेको छ (दिनेशराज पन्त, गोरखाको इतिहास, चौथो भाग, पृष्ठ ९५८-१०००)। यसका धेरैै कुरा कल्पित भएका, दन्त्यकथा र यथार्थ मिसाएर वंशावली लेख्ने चलनअनुसार कतिपय अविश्वसनीय कहानी लेखिएका हुनाले अन्य स्रोतबाट यसका धेरै प्रसंगको पुष्टि हुन सक्दैन। तर, चित्तौरका राजा महाराणा अमर सिंह प्रथम वा उनीपछिका शासक करण सिंहसँग दौत्य सम्बन्ध स्थापना गर्न राम शाहले दूत पठाएको तथ्यलाई चित्रविलासको राजवंशावली तथा योगी नरहरिनाथद्वारा प्रकाशमा ल्याइएको गोरक्षराजवंशावलीले थप पुष्टि गरेका छन्।
गोर्खाली शाहवंशका पुर्खाको गणना चित्तौरको राजवंशमा पैदा भएका राजकुमारहरू मिचा र खाँचा भनी बोलाइने अजयसिंह र हरिहरसिंहबाट सुरु हुन्छ (डा. महेशराज पन्तद्वारा सम्पादित ‘नयराज पन्तको दृष्टिमा श्री ५ पृथ्वीनारायण शाह’, पृष्ठ १)। यसर्थ, राम शाहले चित्तौर राज्यसँग सम्बन्ध जोड्न चाहनुमा पुख्र्याैली निकटता देखाएर द्विपक्षीय सम्बन्ध राख्ने उद्देश्य प्रकट हुन्छ। गोर्खाको विस्तार र सुरक्षाका लागि यसले थप बल दिनसक्ने राम शाहको हिसाब तर्कपूर्ण नै लाग्छ। विदेश सम्बन्धलाई आफ्नो राज्य रक्षामा लगाउने उनको उद्देश्य यसबाट देखिन आएको छ। यद्यपि खान्चा र मिचालाई मगर भाषाको कार्हान्चा र मिर्हान्चाका रूपमा अथ्र्याई कास्की र लमजुङबाट गोर्खाको राजा बनेका शाह राजाका पूर्वज नेपालको पश्चिम पहाडका मगरहरू थिए भन्ने अर्को पक्ष पनि नभएको होइन (हृषीकेश शाह, हिरोज एन्ड बिल्डर्स अफ नेपाल, पृष्ठ ४३)। धेरै पछि प्रकाशमा ल्याइएको यस तर्कले शाह वंशलाई नेपाली जनजाति समुदायसँग जोड्ने प्रयास गरे पनि पुष्टि हुन सकेको देखिँदैन।
वंश, गोत्र र कुलदेवताबारे विभिन्न प्रकारका मत प्रकाशमा आउनाले आफ्ना पुर्खाको विषयमा शाह राजाहरू धेरै कालसम्म द्विविधामा देखिन्छन्। उनीहरूका पुर्खा कुलमण्डनले वंशनाम जनाउने ‘खान वा खांड वा खाण’ छोडेर ‘शाह’ उपाधि धारण गरेको हुनाले यस्तो द्विविधा आइपर्नु स्वाभाविक देखिन आउँछ। ‘शाह’ शब्द फारसी भाषामा ‘विशाल’ वा ‘महान्’ भन्ने अर्थ जनाउन प्रयोग हुन्छ (एहसान यार्सातेर, द हिस्ट्री अफ अल-ताबारी, अंग्रेजी अनुवाद- फ्रान्ज रोजेन्थल, पृष्ठ १२-१३)।
फारसीकै प्रभावबाट अफगानिस्तानका राजाहरू आफ्नो नामको पछाडि ‘शाह’ लेख्थे, बंगालका वा मुगल साम्राज्यका शासकहरू त्यसै गर्थे भने फारसी सभ्यताको केन्द्र मानिने इरानका राजाहरू नामको अगाडि शाह लेख्थे। नेपाल र बेलायतबीच सम्पन्न सुगौली सन्धिको एउटा प्रति फारसी भाषामा तयार गरिनुले यसको प्रभाव लामो समयसम्म दक्षिण एसियामा रहेको देखिन्छ। यसरी फारसी भाषाको यताको भूगोलतिर भित्रिएको समयमा आफूलाई मानिसहरूमध्ये सबैभन्दा ठूलो अर्थात् ‘राजा’ भन्ने जनाउन कास्की र लमजुङका राजा कुलमण्डनले ‘शाह’को उपाधि धारण गरेको हुनुपर्छ। उनले अरू कसैबाट उपाधि लिएको पुष्टि भएको देखिँदैन। तर यसले शाहहरूको द्विविधाचाहिँ बढायो।
यस प्रसंगमा शाहवंशका दसौं पुस्तामा गोर्खाको राजा भएर नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहले सैन्य र धार्मिक उद्देश्य लिएर बनारस गई गोत्र परिवर्तन गरेको ऐतिहासिक अभिलेख महत्वपूर्ण छ। पुरातत्व विभागबाट वंशावलीको आधारमा प्रकाशित ‘ श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी’ पुस्तकमा लेखिएको छ ः
‘वहाँ देषिन् मणिकर्णिकामा स्नान् गरि पिण्डदान भैसकियापछि....गोत्र पनि भारद्वाज थियो त्यो गोत्र फेरि अव देषिन् हम्रा गोर्खाली साही जात्ति छन्। सबैले काश्य गोत्र चलाउनू भनि हुकुम हुँदो भयो’ (पृष्ठ ७)। त्यसपछि शाह राजाहरूले काश्यपगोत्र चलाए पनि नेपालका धेरै शाही ठकुरी अहिले पनि भारद्वाज गोत्र नै व्यवहार गर्छन् (बाबुराम आचार्य, ऐ., पृष्ठ १३५)।
पृथ्वीनारायणका पनाति राजेन्द्रका पालासम्म पनि गोर्खाली राजवंशावलीको नाम र पुर्खा निर्धारणमा अशुद्धि भेटिन्छन् भने धेरैअघि उदाउँदो गोर्खा राज्यको राजा भएका समयमा आफ्नो गोत्र वा कुलदेवताको विषयमा निर्णयमा पुग्ने चासो राम शाहलाई हुनु स्वाभाविक मान्नुपर्छ। कुलगोत्र निक्योैल गर्ने तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य लिएर उनले चित्तौरलगायत भारतीय राजपुतानाका अन्य राज्यमा छ थरी भनिने पाँडे, पन्त, खनाल, अज्र्याल, राना र बोहोरा दूत खटाएका थिए (दिनेशराज पन्त, गोरखाको इतिहास, पहिलो भाग, पृष्ठ ८६)। सरदार गंगाबल पाँडेको नेतृत्वमा गएको १२ जनाको टोलीले चित्तौरका राजासँग कुलदेवता र प्रशस्तिका विषयमा कुराकानी गर्यो। त्यसपछि खनाल, राना र बोहराहरू नुवाकोटतिरका शाही राजाहरूसँग सल्लाह गर्न फिर्ता आए भने पाँडे, पन्त र अज्र्यालचाहिँ दिल्लीका बादशाहलाई भेट्न गए भन्ने वंशावलीको वर्णन इतिहासकार दिनेशराज पन्तद्वारा लिखित गोरखाको इतिहासको पहिलो भागमा सविस्तार उल्लिखित छ (पृष्ठ ८२-१११)।
परराष्ट्र मन्त्रालयद्वारा संरक्षित राम शाहका पालाको वंशावलीको पूर्ण पाठ इतिहासकार दिनेशराज पन्तद्वारा लिखित गोर्खाको इतिहास, चौथो भाग (पृष्ठ ९५८-१०००) मा प्रकाशित भएको छ। यसअनुसार गोर्खाली टोलीले चित्तौरका राजासँग सल्लाह गर्दा दुवै राजपरिवारका पूर्वज एकै भएको निश्चय भयो भने शाह राजाको प्रशस्ति निर्धारण गर्न दिल्लीका बादशाहसँग भेट गर्नुपर्ने ठहर भयो। दिल्ली पुगेको गोर्खाली टोली आफूलाई चिनाउन हातमा धनुष र तरबार, लवेदा सुरुवालसहितको जंगी पोसाक लगाई कम्मरमा खुकुरी भिरेर गोर्खाली राजाको चिह्नसहित बादशाहको दरबारमा प्रवेश गर्यो। धनुषबाट सोझो र छड्के तीर लक्ष्यमा हानेर बादशाहलाई प्रभावित गर्यो। पुरस्कारस्वरूप टोलीलाई दिल्ली दरबारमा दोसल्ला ओढाई सम्मान गरियो। त्यसपछि भएको भेटमा गोर्खाली टोलीले चित्तौरबाट रुजु गरी ल्याएको प्रशस्ति बादशाहलाई देखायो, जसबारे विचार गर्न दरबारमा तुरुन्तै विद्वान्हरूको भेला भयो।
‘ श्री गोर्खेश्वर महाराजबाट हुकुम हुँदा चित्तौडगढमा रह्याका श्री राणाजी महाराजको प्रशस्ति कुन हो ... हाम्रो प्रशस्ति कस्तो हो.. श्री ५ पात्साहका मोहारबाट निकासा गरि ल्याउ भनि हुकुम भयो र हामी आयाका हुँ भनि बिन्ति गर्या र..प्रशस्ति पनि नजर गराया... पात्साहबाट पंडितहरू बोलाई राणाजी महाराजबाट गयाका प्रशस्तिमा अगाडि मोहडातरफ फेर्न लगाउनुहुँदा गिरिराजचक्रचुडामणि यति मात्रै फेर्नाले हुन्छ भनि पंडितहरूले बिन्ति गर्या र एही प्रशस्तिले श्री ५ पात्साहबाट... षल्तापत्र लेषी सर्सौगात तयार गरि वकीलहरूलाई षिल्लद बक्सी विदा बक्सनुभयो।’ (दिनेशराज पन्त, गोरखाको इतिहास, चौथो भाग, पृष्ठ ९७५-७६)।
वंशावलीमा गोर्खाबाट गएको टोलीले भेटेका दिल्लीका बादशाह अकबर हुन् भन्ने उल्लेख भए पनि राम शाह राजा नहुँदै अकबरको मृत्यु भइसकेकाले उनका छोरा जहाँगिर गद्दीनसिन थिए। यद्यपि मुगल साम्राज्यलाई अकबरको धार्मिक सहिष्णुताका कारण पछिसम्म पनि मुल्क-ए-अकबर (अकबरको देश) भनिएको हुँदा नेपाली वंशावली लेखकको अर्थ त्यतापट्टि हुनसक्ने तथ्यलाई पनि बिर्सन मिल्दैन।
किन मुगल सम्राट्ले गोर्खाली राजाको प्रशस्तिका शब्द फेरिदिए होलान् त ? यसबारे ठोस तथ्यहरू नभए पनि घटनाक्रमका आधारमा अनुमान गर्न सकिन्छ। राम शाह आफ्नो प्रशस्तिलाई कमसेकम उनका पूर्वज भनी विश्वास गरिएका चित्तौरका राजाहरूको जस्तै बनाउन चाहन्थे। त्यहीबमोजिम आफूलाई ‘चक्रवर्ती’ राजा भनाउने उनको इच्छा थियो।
हिन्दू धर्ममा विश्वास राख्ने, मेघदूत र राघवपाण्डवविजय जस्ता संस्कृत काव्य पढ्ने र पढाउने चाहना राख्ने राम शाहले (बाबुराम आचार्य, श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृष्ठ ४६-४७) चक्रवर्ती राजा कहलाउनुको अर्थ नबुझ्ने कुरा भएन। वैदिक मान्यताअनुसार राजसूय यज्ञ गर्ने र धेरै राजाहरू उपर शासन चलाउने सामथ्र्य भएको राजा ‘चक्रवर्ती’ अर्थात् ‘राजचक्रचुडामणि’ कहलिन्छ। राजसूय यज्ञलाई विश्वविजयी राजाको उद्घाटन यज्ञ मानिन्छ (आपस्तम्ब श्रौतसूत्र १८.८ देखि २५.२२ सम्म)। प्रशस्त दान गर्ने, मण्डलयोनिको अधिपतिलाई चक्रवर्ती सम्राट् भनिने तथ्य कौटलीय अर्थशास्त्रमा वर्णित छ। अर्थशास्त्रको छैटौं अधिकरणमा राजाहरूको सबैभन्दा बलियो र भित्री घेराको नाम मण्डलयोनि बताइएको छ। यहाँ चर्चा गरिएको राम शाहको वंशावलीमा राम शाहले नारायण मल्लसँग मिलेर सिद्धिबाट प्राप्त गरेको मन्त्र पुरश्चरणका लागि यज्ञ गर्दा त्यसलाई ‘राजसूय’ यज्ञसँग तुलना गरिएको छ, जसमा छिमेकका धेरै राजा पनि निम्त्याइएका थिए। तसर्थ, सानै भूगोलको राजा भए पनि आफ्नो प्रशस्तिमा राजचक्रचूडामणि लेखाउने उनको महत्वाकांक्षा प्रस्ट थियो भन्ने बुझ्न सकिन्छ।
यसविपरीत मुगल बादशाहलाई चाहिँ आफूभन्दा सानो पहाडी राजाको प्रशस्तिमा आफ्नो सरहको मान राखेको मन परेन। त्यसैले गिरिराजचक्रचूडामणि भन्ने पदावलीद्वारा ‘पहाडका राजा मध्येमात्र चक्रवर्ती’ भन्ने अर्थ कायम रहने गरी संशोधन गरिदिएको देखिन आउँछ। गोर्खाली राजाको जस्तै प्रशस्ति त्यस बेलाका कुमायूँ राजा बाजबहादुर चन्दको पनि थियो। समथर भूभागसम्म फैलिएको कुमाउ राज्यले आफ्नो जमिन जोगाउन मुगलहरूको खुसामद गरिरहनु पथ्र्यो। तर, गोर्खा राज्य त्यस बेलासम्म पहाडमा मात्रै सीमित थियो। निरन्तरको सम्बन्ध नहुनाले त्यस बेलाका मुगलकालीन अभिलेखमा गोर्खाराज्यसँग व्यवहार भएका प्रमाण भेटिएका छैनन्, न त राम शाहको प्रशस्तिको चर्चा नै भेटिन्छ।
मुगल साम्राज्यको आकार र विस्तारका अघिल्तिर सानो गोर्खा राज्यसँग घटित यो प्रसंगलाई त्यताका ऐतिहासिक सामग्रीले उल्लेख नगर्नु स्वाभाविक नै देखिन आउँछ। यद्यपि मुगल साम्राज्यप्रति नेपालको आकर्षणचाहिँ अकबर वा जहाँगिर भन्दा धेरैपछिसम्म कायम रह्यो। गोर्खाबाटै नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले समेत राम शाहको समयका तुलनामा धेरै कमजोर भइसकेको मुगल राज्यका राजा शाह आलम द्वितीयबाट ‘शमशेर बहादुर जंग’ भन्ने पदवी स्वीकारेका थिए। यसलाई उनीसहित उनीपछिका शाह राजाहरूले आफ्नो प्रशस्तिमा राख्दै आए। विक्रम संवत् १८२८ सालदेखि चलाइएको यो उपाधिलाई राजा महेन्द्रले २०१९ सालमा मात्रै हटाएका हुन् (बाबुराम आचार्य, ऐ., पृष्ठ ४८६-४९१)।
नेपालमा पाइएका तात्कालिक ऐतिहासिक स्रोतबाट पुनर्पुष्टि गर्न नसकिए पनि राम शाहले चित्तौर र मुगल सम्राट्सँग सम्बन्ध विस्तार गर्न चाहेको तथ्यलाई अस्वीकार गर्न सकिने अन्य प्रमाणहरू पाइएका छैनन्। त्यसैले राम शाहको प्रशस्ति गोर्खाली राजाहरूले त्यस बेलाको भारतभित्र अस्तित्वमा रहेका प्रभावशाली राज्यहरूसँग विस्तार गर्न चाहेको सम्बन्धको प्रमाणका रूपमा रहेको छ। आज केवल एक परिहासका लागि मात्र नभएर नेपालको आद्य वैदेशिक सम्बन्धको स्वरूपमा पनि यसलाई हेर्न सकिन्छ। अंग्रेजको विरासत धानेर आजको भारतले दक्षिण एसियाका साना छिमेकीसँग गर्ने व्यवहार तथा साना छिमेकीले भारततर्फ हेर्ने दृष्टिकोणको एउटा सानो ऐतिहासिक आँखीझ्याल यसबाट निर्माण हुन्छ।
@TikaDhakaa