विवाह  : एक दासप्रथा

विवाह  : एक दासप्रथा

‘देख्नुभयो मैले मेरा सिपाहीहरू जताततै छाडेको छु, तपाईंको निगरानीमा’, म सोफाबाट उठ्न लाग्दा सोफामा मेरो सलमा भएको झुम्का अड्किएर सल तानिएको देखेर सुरजले यसो भन्यो।

सुरज। खासै आकर्षक त छैन। तर, राम्रो छ भनिहाल्न भने मनले मान्दैन। मध्यम खालको भनुम् न। यसो भनिहाल्दा सुन्दरता या राम्रो नराम्रोको परिभाषा के हो भन्ने कुरा पनि उठ्ला। तर पनि मनले उसलाई देख्दा आहा पनि भन्दैन र दिक्क पनि मान्दैन। मेरो मनको रेटिङमा मध्यम खालको व्यक्तित्व छ उसको। ३० वर्ष कटेको छैन। अफिसमा मेरो सहकर्मी हो ऊ।

प्राय : अफिसहरूमा कर्मचारीबीच मनमुटाव, एकअर्कोका खिचातानी हुन्छ भन्ने सुनेकी हुँ। तर, हाम्रो अफिसमा अहिलेसम्म त्यस्तो भइहालेको थाहा छैन। हामी सबै कर्मचारीबीच आपसमा एकदम प्रेमभाव छ। त्यसैले अफिसमा पुग्दा मलाई पनि काम गर्ने जाँगर पलाउँछ। अफिसमा सबै हँसिला, सबै ऊर्जावान् देखिन्छन्। त्यसैले अफिसको माहोल जहिले पनि उत्साहित गरिरहने खालको छ।

सुरज मभन्दा एक तहमाथिको कर्मचारी हो। तर ऊ मलाई सधैं सम्मानजनक व्यवहार गर्छ। त्यसैले ऊसितको निकटता मलाई प्रिय लाग्छ।

सुरजले मलाई प्रेम गर्छु भन्छ। म भने पत्याउँदिनँ।

‘जुरिस्डिक्सनजस्तो कम्प्लेक्स विषयको इग्जाममा पनि तपाईं नै मेरो दिमागमा पूरै बसिदिनुहुन्छ। पढ्ने बेलामा त ठिकै हो, इग्जाममा पनि दिमागमा बसिदिनुहुन्छ र पो गाह्रो भा’छ।’

‘ओहो, यो त साह्रै नराम्रो भएछ। यस्तो गर्न हुँदैनथ्यो तिम्ले।’

सुरज मभन्दा चार वर्ष कान्छो छ। त्यसैले पनि होला, म उसलाई तिमी भनेर सम्बोधन गर्छु।

‘खै, इग्जाम बिगार्छु भनेर होइन नि। तर, दिमागमा हरदम तपाईं गजधम्म बसिरहनुहुन्छ। नआउनुस् पनि भन्न सक्दिनँ।’

एलएलएमको पहिलो सेमेस्टरको परीक्षा चलिरहेको बेला पनि यस्तै भनेको थियो उसले। अहिले थर्ड सेमेस्टरको परीक्षा हुँदा पनि त्यही पुरानो लाइन दोहोर्‍याइरहेको छ उसले। मेरो सम्झनाले परीक्षा बिग्य्रो भनेर गफ लगाए पनि ऊ सधैं क्लास टप गर्छ। यसमा दु :खी हुने हो कि खुसी, मेलोमेसो पाउँदिनँ म।

म कति सम्झाउँछु उसलाई। तर, मेरो कुरा एक कानले सुनेर अर्को कानले उडाइदिन्छ।

‘फ्रान्सका राष्ट्रपतिले पच्चीस वर्ष जेठी आफ्नै शिक्षकसँग विवाह गरेको थाहा छ तपाईंलाई ? ’

‘तर, यो नेपाल हो। हाम्रा आफ्ना मूल्यमान्यताहरू छन्। समाजका आफ्नै खालका सोचहरू छन्। मान्यताका सबै पर्खाल भत्काउँछु भनेर पनि कहाँ सकिन्छ र ? ’

म सम्झाउँछु उसलाई।

प्रेम गर्नु एउटा कुरा हो। विवाह अलग कुरा हो। तर, उसलाई प्रेममा होइन विवाहमा भरोसा छ। विवाह नै जीवनको उपलब्धि हो भन्ने ठान्छ। मलाई प्रेम मन पर्छ। विवाह मन पर्दैन। त्यसैले म विवाहबारे धेरै सोच्दिनँ। विवाह गर्नु एक खालको झमेलामा फस्नुजस्तो लाग्छ मलाई।

‘मैले शब्दमा भनेको भन्दा कयौं गुना धेरै प्रेम गर्छु म तपाईंलाई। कवितात्मक भाषामा भन्दा अवर्णीय प्रेम गर्छु म तपाईंलाई। मेरो प्रेम सबै खालका परिभाषाहरूभन्दा माथि छ।’

उसले गम्भीर भएर यसो भन्दा म उसका कुरालाई हावामा उडाइदिन्छु र भन्छु, ‘ उसोभए लियो सयरको गीत उल्था गरेर नसुनाऊ न मलाई। बच्चैमा सुनिसकेकी छु, आई लभ यु मोर देन आई क्यान से...’

‘मैले सुनेको छैन, मलाई थाहा पनि थिएन’, सुरज ठुस्स पर्‍यो।

कुन्नि कस्तो आदत लागेको छ मलाई पनि सुरजको। प्रेम पनि होइन। आकर्षण पनि होइन। केवल आदत। ऊसित मैले केही आशा राखेकी छैन। उसका कुरामा खासै भरोसा पनि गर्दिनँ र उसलाई आफ्नो सपनामा पनि देख्दिनँ। तर उसले मलाई गरेको माया भने मन पर्छ। आजसम्म मैले उसलाई उसको प्रश्नको जवाफ दिएकी छैन। न हुन्छ भनेर उसको प्रेम प्रस्तावलाई स्वीकार गरेकी छु न त हुन्न भनेर टारेकी छु। बस्, उसको संगत मन पर्छ मलाई। उसको सान्निध्य मन पर्छ मलाई। ऊ बोलेको पनि मन पर्छ।

तीन दिनदेखि निरन्तर पानी परिरहेछ। रोकिने छाँट पनि छैन। ऊ भन्छ,

‘यस्तो पानीमा पनि कस्तो मेकअप गरेर छातै नओढी हिँडेका छन् केटीहरू। के पारा होला हगि म्याम ? ’

‘वाटरपुफ्र मेकअप होला नि त’, म उसको कुरालाई हल्का रूपमा लिइदिन्छु। सोच्छु, सरोकारै नभएको कुरामा पनि के चाँसो होला यी पुरुषहरूलाई।

समय आफ्नै गतिमा चलिरहेको थियो। सुरजसितको सम्बन्धमा म खासै गम्भीर नबनेको भए पनि हाम्रो दोस्ती भने मजाले जमेको थियो। तर, उसले दिनैजसो राखिरहने प्रेम प्रस्तावलाई भने मैले अझै स्वीकारेकी छैन है।

रात परेपछि फोन गर्ने मान्छे होइन सुरज। फोनको मामिलामा उसले यो अनुशासन कायम राखेको छ। फोनमा प्रेमका लामालामा कुरा गर्ने बानी छैन उसको। जे भन्छ, अगाडि नै भन्छ। हाकाहाकी भन्छ। उसको यो बिन्दास बानी मलाई मन पर्छ। तर, बानी मन पर्नु भनेको प्रेम गर्नु होइन भन्ने पनि थाहा छ मलाई। सायद उसलाई पनि थाहा छ। ऊ दिनैजसो प्रेमप्रस्ताव राखिरहन्छ, म हाँसेर उसको कुरालाई टारिरहन्छु। यति हुँदा पनि उसले हरेश खाएको छैन। भन्छ पनि, ‘माया गरिराख्यो भने एक दिन ढुंगा पनि टुसाउँछ। फेरि तपाईं त ढुंगा पनि होइन।’

तर, हिजो लगभग रातको १२ बज्नै लाग्दा उसको फोन आयो।

‘काली, खाना खाइस् ? ’, मैले मोबाइल कानमा लग्न नभ्याउँदै उसले सोध्यो।

म अवाक् भएँ। ठानँ,े उसले रङ नम्बर डायल गर्‍यो।

‘कसलाई फोन गरेको ? ’, मैले जिल्ल परेर भनेँ। एक त उसले आधा रातमा मलाई फोन गरिरहेको थियो र दोस्रो, उसले यस्तो पाराले मसित कहिल्यै पनि बोलेको थिएन।

‘मैले मेरी बूढीलाई फोन गरेको नि।’

‘म तिम्री बूढी होइन’, मैले कडा स्वरमा भनिदिएँ।

‘थाहा छ काली, तिमी संगीता हौ, मेरो मनको मेरी स्वास्नी।’

यतिखेरसम्म मलाई आफ्नो मोबाइल नै फालिदिऊँझैं लागिसकेको थियो। फालिनँ। अरूको रिसले आफ्नो नोक्सानी किन गरूँ ? कल काटिदिएँ। मलाई यसपटक उसको कुरा गराइको पारा पटक्कै मन परेन। फेरि उसले स्वास्नी भनिरहेको थियो मलाई। त्यो सम्बोधन मलाई प्रिय लाग्दै लागेन। लाग्यो, उसले गाली गरिरहेछ मलाई।

तर, उसले फेरि फोन गर्‍यो।

‘फोन नकाट न काली। कति कुरा गर्नु छ तिमीसँग। आज, तिमीसित खुलेर कुरा गर्नका लागि अलिकति रक्सी खाएको छु। नत्र त कति कुरा मेरो ओठमै आएर रोकिन्छन्। तिमीलाई भन्नै सक्दिनँ।’

मलाई झनै रिस उठ्यो। के मैले उसको रक्सी खाएको बेलाको कुरा सुन्दिनुपर्ने ? उसको यस्तो अभद्रता मलाई पटक्कै मन परेन। मैले तुरुन्तै मोबाइल अफ गरिदिएँ।

पहिलोपल्ट मलाई सुरज मेरो सोचाइ र अपेक्षाभन्दा परको मान्छे लाग्यो। मलाई सबैभन्दा नमीठो लागेको चाहिँ उसले मलाई स्वास्नी भनेर गरेको सम्बोधन नै हो। उसलाई लाग्दो हो, त्यो शब्दमार्फत उसले मप्रति अथाह प्रेम प्रकट गर्‍यो। तर, मलाई अपमानको नमीठो आभास भएको थियो। मलाई लाग्यो, उसले मलाई दासीको रूपमा सम्बोधन गर्दैछ।

हुन त एउटा मात्र शब्दको कुरा हो तर मनले मानेन। यो शब्दको मात्र कुरा थिएन, सोचको कुरा थियो। ठूला कुरा गरेर कहाँ हुन्छ ? मान्छेका सोच सानासाना कुराबाट प्रस्टिन्छन्। दिउँसोसम्म सुरज मलाई साथीजस्तो लाग्थ्यो, तर राति उसले मेरो मालिक बन्न खोजेको आभास भयो मलाई।

अफिसमा भेट भयो। उसले पटकपटक मसित कुरा गर्न खोजिरह्यो। मैले उसलाई पूरै इग्नोर गरिरहेँ। यो क्रम महिना दिनभन्दा बढी चलिरहेपछि उसले पनि हरेश खायो। एक महिनापछि अफिसले मलाई काजमा विराटनगर पठायो।

एक महिना विराटनगरमा बिताएर आउँदा उसले बिहे गरिसकेको कुरा थाहा पाएँ मैले। मलाई पटक्कै नरमाइलो लागेन। भेटमा भनेँ, ‘बधाई। स्वास्नी पाएकोमा।’

ऊ मेरो कुरा सुनेर स्तब्ध भयो। यस किसिमको बधाईको सायद अपेक्षा थिएन उसलाई।

६ महिनापछि अर्को अप्रिय कुरा सुनेँ। साथीहरू गाइँगुइँ गर्दै थिए, ‘सुरजको त डिभोर्स हुँदैछ।’

यो कुरा सुनेर म दु :खी भइनँ। बरु खुसी भएँ। सोचेँ, एक महिला सुरजको दासत्वबाट मुक्त भइन्। विवाह  : एक दासप्रथा !
@nirupadhungana


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.