'दिव्योपदेश’को आधिकारिकता

'दिव्योपदेश’को आधिकारिकता

‘उप्रान्त,

यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ। चीन बादशाहसित ठुलो घाहा राष्नु। दखिनको समुद्रका बादशाहसित घाहा ता राषनु। तर त्यो महाचतुर छ।’

पृथ्वीनारायण शाहले भनेको भनिएको दिव्योपदेशको यो उक्तिले नेपालको परराष्ट्र सम्बन्धलाई अझै पनि कुनै न कुनै रूपमा निर्देशित गरेको छ। एक्काइसौं शताब्दीमा दुवै मुलुकको अर्थतन्त्र शक्तिशाली भएपछि यो भनाइ अझै सान्दर्भिक भएको हुनसक्छ। सान्दर्भिक हुँदाहुँदै पनि यो कुरा पृथ्वीनारायण शाह आफैंले भनेका हुन् कि होइनन्, प्रश्न गर्न सकिने ठाउँ छ।

पृथ्वीनारायण शाहको मृत्यु १८३१ माघमा भएको हो। दिव्योपदेशमा भएका कुरा उनले आफ्नो मृत्युको केही दिनअघि भनेका हुन् भन्ने इतिहासकारहरूको दाबी छ।

उनको जीवनको अन्तिम कालखण्डमा नेपालको सिमाना छवटा राज्यसँग जोडिएको देखिन्छ। ‘दुई ढुंगाबीचको तरुल’को उपमा दुईवटा ठूला र शक्तिशाली देशको बीचमा चेप्टिएको सानो र कमजोर मुलुकका लागि नै उपयुक्त हुन्छ। तत्कालीन मानचित्रले न नेपालको आकार तरुलजस्तो देखाउँछ, न सिमानाले दुई ढुंगाबीच देखाउँछ। यस्तो बेला पृथ्वीनारायण शाहले कसरी नेपाललाई दुई ढुंगाबीचको तरुल भने त ?

पृथ्वीनारायण शाहले दिव्योपदेशमा यही एक ठाउँमात्र चीनको नाम लिएका छन्। अर्को एक ठाउँमा भने उनले भोट (तिब्बत)को नाम लिएका छन्। ‘भोटको घाहा कालु पांडेका सन्तानलाई नछुटाउनु’ भन्ने उनको अर्ति छ।

तिब्बतसँग नेपाल (तत्कालीन नेपाल मण्डल)को खास व्यापारिक सम्बन्ध थियो। नेपाल उपत्यकाको सम्पन्नता र वैभवको महत्वपूर्ण स्रोत तिब्बतसँगको व्यापार थियो। तिब्बतमा नेपालीहरू व्यापार गर्न जाने र उतै बस्ने प्रचलन पनि थियो। तिब्बतका लागि आवश्यक मुद्रा काठमाडौंले नै पठाउने गथ्र्याे। पृथ्वीनारायण शाहले नेपाल उपत्यका जित्नुअघि काठमाडौंका राजा जयप्रकाश मल्लसँग तिब्बतको विवाद भएको थियो। शुद्ध चाँदीका सिक्का पठाउनुपर्ने भए पनि मल्लले मिसावटयुक्त सिक्का पठाएको भन्दै तिब्बतले असन्तुष्टि जनाइरहेको थियो। यही समयमा नै शाहले उपत्यकामाथि आक्रमण गरेका थिए। उपत्यका जितेपछि तिब्बतसँग सन्धि गरी उनले यो विवाद टारेका थिए। (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त, पृ.१९५-१९६।)

पृथ्वीनारायण शाहको राज्यकालमा तिब्बतमाथि चीनको खास नियन्त्रण थिएन। यो समय तिब्बतले आफ्नो सार्वभौमिकता अधिकतम प्रयोग गरिरहेको थियो। इतिहासकार आचार्यकै ‘चीन, नेपाल र तिब्बत’ नामक पुस्तकमा उनले यो विषय स्पष्ट पारेका छन्। ‘दुई जना चिनियाँ अम्बानहरू तिब्बती पदाधिकारीलाई परामर्श दिन भनी तिब्बतमा स्थायी रूपमा रहिरहेका थिए। तिब्बतभित्रको आन्तरिक प्रशासनमा भने यतिन्जेलसम्म खास नियन्त्रण कायम हुन सकिरहेको देखिँदैन। यसैले नै इ.सं. १९७५ मा तिब्बत सरकार र नेपाल सरकारबीचमा वाणिज्य सन्धि सम्पन्न हुँदा यिनीहरू तटस्थ नै भएर रहेका थिए।’ (आचार्य, चीन, तिब्बत र नेपाल, पृ.१८७)

पृथ्वीनारायण शाहको मृत्यु भएको लामो समय नबित्दै नेपाल-तिब्बतबीच युद्ध सुरु भयो। युद्धमा तिब्बत हारनजिक पुगेपछि चीनसँग गुहार माग्यो। चीनले तिब्बतलाई सहयोग गर्न आफ्ना सैनिक पठायो। तिब्बतमाथि आफ्नो नियन्त्रण बढाउने उद्देश्यले नै चीनले तिब्बतमा सैनिक पठाएको आचार्यको निष्कर्ष छ। ‘चीन सरकार यति बेला तिब्बती भूभागमा आफ्नो पकड अझ दरिलो पार्न दाउ हेरेर बसिरहेको थियो। यसैले तिब्बतबाट पठाइएको प्रार्थनापत्र पुग्नेबित्तिकै सम्राट् छियाङ-लुङले आफ्नो एउटा विशाल सैन्य दलका साथमा आफ्ना ज्वाइँ फू तुङथ्वाङलाई मुख्य सेनापतिका रूपमा नियुक्त गरेर तिब्बतर्फ पठाइ पनि हाले।’ (आचार्य, चीन, तिब्बत र नेपाल, पृ.२०८)

पृथ्वीनारायण शाहको राज्यकालमा भने नेपाल र चीनको कुनै व्यवहार भएको छैन, न त नेपाललाई चीनबाट कुनै खतरा महसुस भएको संकेत पाइन्छ। इतिहासकार आचार्यकै अनुसार नेपाललाई नियन्त्रण गर्न चीनको न कुनै रुचि थियो, न दूरीका हिसाबले सहज नै। हजारौं किलोमिटर टाढाको बेइजिङलाई हिमालय दक्षिण आउन कुनै रुचि थिएन। पृथ्वीनारायणको मृत्युभन्दा केहीपछि भएको नेपाल-चीन युद्धको परिणामस्वरूप भएको सन्धिबारे समीक्षा गर्दै आचार्य लेख्छन्, ‘हजारौं किलोमिटर दूरीमा रहेको यतिबेलाको चीनले परेको बेला न नेपाल अधिराज्यलाई संरक्षण गर्न सक्थ्यो, न त संरक्षकको भूमिका निर्वाह गर्ने नै उसको आन्तरिक चाहना थियो। यो कुरा चीन र नेपाल दुवै पक्षले राम्रोसँग जानेका तथा बुझेका थिए।’ (आचार्य, चीन तिब्बत र नेपाल, पृ.१४२)

दिव्योपदेशको पहिलो पाण्डुलिपि कसले र कहिले तयार गर्‍यो ? पृथ्वीनारायण शाहले भनेका कुरा कति छन् ? थपघट गरिएको कति छ ?

आपसमा युद्ध भइसकेपछि त यस्तो स्थिति थियो भने त्यसभन्दा दुई दशकअघि पृथ्वीनारायण शाहले कसरी एकाएक चीनलाई सम्झन पुगे ? जब कि उनले आफ्नो राज्यकालभरि चीनसँग खास प्रकृत्तिको व्यवहार गर्नु परेन। तर, तिब्बतसँग भने तीतामीठा व्यवहार गर्नु परिरह्यो। त्यसैले, एउटा प्रश्न सिर्जना हुन्छ, उनले किन तिब्बतको नाम नलिएर चीनसँग सन्धि गर्न अर्ति दिए ? त्यो समयका लागि सान्दर्भिक त तिब्बतसँग बिग्रिएका सम्बन्ध सुधार गर्नु वा सिक्का विवाद सन्धिमार्फत मिलाउनु भन्ने हुन सक्थ्यो, जुन उनी आफैंले केही समयका लागि टारेका थिए।

पृथ्वीनारायण शाहको छिमेक नीतिको दोस्रो सन्दर्भ भारतसँगको सम्बन्धबारे चर्चा आवश्यक छ। दिव्योपदेशमा उल्लेख छ, ‘दषिन समुद्रको बादशाह सित पनि घाहा त राख्नु। तर त्यो महाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमी मा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ।’ (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादन, आचार्य र नाथ, पृ.४५)

शाहको समयमा भारतको पूर्वतिर अंग्रेजको शासन जमिसकेको थियो भने पश्चिमतिर मुगल शासक थिए। कतिपय स्थानमा स्थानीय रजौटाहरूको राज चलिरहेकै थियो। शाहको जीवनको अन्तिम समयमा अंग्रेजहरू बंगालबाट अघि बढेर बिहारसम्म आइपुगेका थिए। अवध र मराठाहरूसँग लडाइँ चलिरहेकै थियो।

पृथ्वीनारायण शाहले यसअघि नै अंग्रेजसँग लडाइँ लडिसकेको हुनाले उनले दक्षिणका मुलुकसँगको सम्बन्धबारे कुरा गर्दा अंग्रेजलाई उल्लेख गर्नु स्वाभाविक छ। अंग्रेज बढ्दो शक्ति अवश्य थियो। तर, यतिबेला भारत एउटा राष्ट्रको रूपमा विकास भइसकेको थिएन। अंग्रेज, मुगल वा आफ्नै राजतन्त्र जसको शासनमा रहे पनि ससाना राज्यहरू आफ्नै पहिचानमा बाँचेका थिए। अझ रोचक कुरा त यस बेला भारतीय महाद्वीपको सबैभन्दा ठूलो भूभागमा मराठाहरूको शासन थियो। यति बेलासम्म भारत वा इन्डिया भन्ने राज्यको अवधारणा नै स्थापित भएको थिएन। यो सबै क्षेत्रलाई इन्डिया भनेर पछि अंग्रेजहरूले नामकरण गरिदिएका हुन्। भारत भन्ने नाम त अझ पछिको हो।

यस्तो अवस्थामा नेपाललाई दुई ढुंगाबीचको तरुल भन्न यी अलग अलग राज्यलाई एउटा सिंगो शक्तिशाली राज्य मान्न पर्छ। पृथ्वीनारायण शाहले उपदेश दिएको भनिएको समयमा यो सम्भव देखिँदैन। गोरखा राज्यको सिमाना पूर्व र पश्चिममा पनि अहिलेजस्तो एउटा देशसँग मात्रै थिएन। पूर्वमा इलाम विजय गरिसकेपछि नेपालको सिमाना सिक्किमसँग जोडिएको थियो। इलामबाहेक तराईका केही भूभाग पनि उनले सिक्किमबाट जितेका थिए, यसले ब्रिटिस नियन्त्रित बंगालसँग नेपाललाई जोड्थ्यो। पश्चिममा बाइसीचौबीसी राज्यहरूको अस्तित्व कायमै थियो। तत्कालीन गोरखा राज्यको सिमाना लमजुङ र तनहुँसँग जोडिएको थियो। दक्षिणमा चितवनको समथर भूमि तनहुँकै नियन्त्रणमा थियो।

त्यसैले, पृथ्वीनारायण शाहको राज्यकालको अन्तिम कालखण्डमा नेपालको सिमाना छवटा राज्यसँग जोडिएको देखिन्छ। पूर्वमा सिक्किम, दक्षिणमा बंगाल र बिहार, उत्तरमा तिब्बतसँग नेपालको सिमाना थियो। पश्चिममा तनहुँ र लमजुङसँग जोडिएको थियो। छवटा राज्यसँग सीमा जोडिएको नेपाललाई शाहले कसरी दुई ढुंगाको तरुल भने त ? यसबाहेक अवधको स्पष्ट सिमाना त नेपालसँग जोडिएको थिएन तर दूरी त्यति धेरै थिएन। त्यसैले, शक्तिशाली राज्य अवध पनि नेपालको एक छिमेकी थियो।

 कसले लेख्यो दिव्योपदेश ?

दिव्योपदेशको पाण्डुलिपि इतिहासकारहरू नयराज पन्त र बाबुराम आचार्यले आफैं नै भेटेको दाबी गरेका छन्। वि.सं. २०२५ मा प्रकाशित पृथ्वीनारायण शाहको उपदेशमा पन्तले यो भन्दा ३०-३२ वर्षअगाडि सरदार केहरसिंह बस्नेतका सन्तान बखतमानसिंह बस्न्यातबाट प्राप्त गरेको उल्लेख गरेका छन्। (नयराज पन्त र अन्यद्वारा सम्पादित श्री ५ पृथ्वीनारायण शाहको उपदेश) त्यसैले उनले यो पाण्डुलिपि वि.सं. १९९३-१९९५ आसपास प्राप्त गरेको बुझिन्छ। बाबुराम आचार्यले पनि उनै बखतमानसिंहबाट प्राप्त गरेको ‘बडामहाराजाधिराज श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्यउपदेश’को दोस्रो संस्करणको भूमिकामा उल्लेख गरेका छन्। दुवै इतिहासकारले बस्नेतको घरमा रहेको पाण्डुलिपि नै नलिएर सारेर प्रतिलिपि मात्र लिएको उल्लेख गरेका छन्।

दिव्योपदेशको पाण्डुलिपि पृथ्वीनारायण शाहले प्रवचन गरेकै बेला तयार गरिएको होइन। नयराज पन्तको दाबीअनुसार दिव्योपदेश रणबहादुर शाह राजा भएको समयमा लेखिएको हो। आचार्य र नाथले सम्पादन गरेको ‘बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश’को ‘पूर्व पीठिका’मा यो पाण्डुलिपि वि.सं. १८६० को आसपास तयार गरेको अनुमान गरिएको छ। उनीहरूले लेखेका छन्, ‘यस उपदेशको जुन प्रतिबाट अहिले यो पुस्तिका सम्पादन गरिन लागिएको छ, त्यो प्रति १८६० को आसपासतिर मात्र लिपिबद्ध भएको देखिन आएको छ।’ (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादन, आचार्य र नाथ, पृ.ख)

बखतमान सिंहबाट आफूले प्राप्त गरेको यो प्रति नै पहिलो पाण्डुलिपि नहुनसक्ने उनीहरूको अनुमान छ। उक्त पिठिकाको सुरुमा नै सम्पादकद्वयले लेखेका छन्, ‘पछिल्लो पटक नुवाकोटमा गएका बेला आफ्नो अन्तिम समयमा राजा पृथ्वीनारायण शाहले आफ्ना भाइ तथा भारदारहरूलाई जुन किसिमका अर्ति एवं उपदेश दिएर गएका थिए, ती अर्ति तथा उपदेशहरू निकै नै मार्मिक भएकाले यिनका भाइ तथा भारदारहरूले ती अर्ति तथा उपदेशहरूलाई त्यति बेला नै टिपोट गरेर राखिराख्नु र पछि पनि यी उपदेशहरूलाई एकअर्काले श्रद्धापूर्वक सार्दै आउनु पनि स्वाभाविक नै हुन आएको थियो। यसै क्रममा ‘बख्शी’ अभिमानसिंह बस्नेतले पनि यस उपदेशलाई सारेर राखेका रहेछन्।’ (बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश, सम्पादन, आचार्य र नाथ, पृ.क)

त्यसैले नै हुनपर्छ, कमलप्रकाश मल्लले दिव्योपदेशलाई ‘अ लेट म्यानुस्कृप्ट’ अर्थात् पछि लेखिएको पाण्डुलिपि भनेका हुन्। मेरी स्लसरको पुस्तक ‘नेपाल मण्डल’को समीक्षा गर्ने क्रममा उनले लेखेका छन्, ‘यो (दिव्योपदेश) जम्मा १० पानाको ‘लेट म्यानुस्क्रिप्ट’ हो।’ (द लिमिट्स अफ सर्फेस आर्कियोलोजी, कन्ट्रिव्युसन्स टु नेपाल स्टडिज, भोल्युम ११, नम्बर १, १९८३)

दिव्योपदेशको पाण्डुलिपि पृथ्वीनारायण शाहको मृत्युको निकैपछि तयार भएको स्पष्ट छ। त्यसैले त्यहाँ सबै उनले भनेका कुरा दुरुस्तै उतारिएका छन् भन्ने कुनै ग्यारेन्टी छैन। बरु आफ्नो समयको चेतना र बुझाइअनुसार केही थपघट गरिएको हुनसक्छ। कति मात्रामा थपघट भएको छ भन्ने कुरा यसको भाषाशास्त्रीय परीक्षणबाट केही हदसम्म पुष्टि पनि गर्न सकिन्छ। तर, आजसम्म यस्तो प्रयास भएको पाइँदैन।

नेपाली भाषाका अन्वेषक बालकृष्ण पोखरेलले ‘पाँच सय वर्ष’ नामक आफ्नो पुस्तकमा भने यस्तो संकेत गरेका छन्। उनले लेखेका छन्, ‘(दिव्योपदेशका) प्रतिलिपिकारहरूले पृथ्वीनारायणको भाषालाई जस्ताको तस्तै सार्ने चेष्टा गरेका छन्, तैपनि विचाराहरू कति ठाउँमा चिप्लिएका छन्। तिनीहरू कुन कुन ठाउँमा चिप्लिएका छन्, त्यो आंैल्याएर देखाउन सकिन्छ...।’ (पोखरेल, पाँच सय वर्ष, पृ.१६१) व्याकरणमा त्रुटि हुनसक्छ भने विवरणमा पनि फरक पर्न सक्ने सम्भावना जीवित रहन्छ। उनले ती त्रुटि औंल्याउने जमर्को भने गरेनन्।

बहादुर शाहको नायबी कालसम्म आइपुग्दा नेपालले बाइसी र चौबिसी राज्यहरू जितेर आफ्नो आकार बढाइसकेको थियो। यसै समय दिव्योपदेशको पाण्डुलिपि पनि तयार गरिएको इतिहासकारहरूको अनुमान छ। यसले दिव्योपदेशको पाण्डुलिपिकारले नै पृथ्वीनारायण शाहको प्रवचनलाई आफ्नो चेतनाअनुसार लेख्ने प्रयास गरेको हुनसक्ने सम्भावनालाई अझ बलियो बनाउँछ। अझ तिब्बत युद्धमा चीनसँग हार खाएपछि र ब्रिटिसहरूसँग युद्धमा नराम्ररी झुक्दै असमान सुगौली सन्धिमा हस्ताक्षर गरेपछि पो नेपालले आफूलाई दुई विशाल ढुंगाबीचको कमजोर तरुलका रूपमा कल्पना गरेको हो कि ? तत्कालीन सन्दर्भहरूलाई हेर्दा पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुलका रूपमा कल्पना गर्ने आधार भेटिँदैन। बरु अहिलेसम्म इतिहासकारहरूले गरेको अनुमानलाई आधार बनाउँदा यो वाक्यांश पाण्डुलिपिकालमा अथवा अझपछि थपिएको हुनसक्ने सम्भावना देखिन्छ।

 दिव्योपदेशको महिमामण्डन

दिव्योपदेश नेपालमा सबैभन्दा धेरै महिमामण्डन गरिएको रचना हो। इतिहासकार महेशराज पन्तका अनुसार सुरुमा प्राप्त पाण्डुलिपिको कुनै शीर्षक थिएन। बाबुराम आचार्यले सुरुमा यसलाई ‘पृथ्वीनारायण शाहको व्याख्यान’ शीर्षक दिएका थिए। यसलाई दिव्योपदेश भनी नामकरण योगी नरहरिनाथले गरेका हुन्।

विभिन्न स्रोतसामग्री उल्लेख गर्दै एक लेखमा महेशराज पन्तले लेखेका छन्, ‘ बाबुराम आचार्यले यसलाई पृथ्वीनारायण शाहको व्याख्यान भनी काम चलाएका छन्। सूर्यविक्रम ज्ञवालीले पनि बाबुराम आचार्यकै अनुसरण गरी यसलाई पृथ्वीनारायण शाहको व्याख्यान नै भने । बाबुराम आचार्य र सूर्यविक्रम ज्ञवालीले व्याख्यान भनी उपयोग गरेको त्यही पुस्तक वि.सं. २००९ मा प्रकाशित गर्दा नरहरिनाथले ‘दिव्योपदेश’ भनी त्यसको नाम राखे  । यसैको अर्को संस्करण वि.सं. २०१० मा प्रकाशित गर्दा बाबुराम आचार्य र नरहरिनाथले यसको नाउँ ‘पृथ्वीनारायण शाहदेवको दिव्य उपदेश’ भनी राखे।’ (के पृथ्वीनारायण शाहको उपदेश नक्कली हो ? , राजधानी दैनिक, २०७० माघ १)

इतिहासकार नयराज पन्तले पनि ‘पृथ्वीनारायण शाहको उपदेश’ नै नाम दिएका छन्। तर, पञ्चायतकालसम्म आइपुग्दा यसको शीर्षक नै ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहदेवको दिव्योपदेश’ र कतैकतै ‘ श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको स्वर्णमय दिव्योपदेश’ भनी नाममै महिमामण्डित गरियो।

महत्व बढाउनलाई नै पन्तले १० पृष्ठको उपदेशलाई १३५० पृष्ठको किताब बनाएको आरोप कमलप्रकाश मल्लले लगाएका छन्। यसमा भाषा वंशावलीको ठूलो खण्ड र पृथ्वीनारायण शाहका चिठीपत्रमात्र होइन, दिव्योपदेशको संस्कृत पद्य उल्था पनि गरे। मल्ल लेख्छन्, ‘यो संस्करण पाँच भागको छ, जम्मा १३५० पृष्ठको भएको छ, यसका सम्पादकहरूका आधारमा यो नै समूह (संशोधन मण्डल)को सबैभन्दा महत्वपूर्ण काम (म्यागनम अपुस) हो। पहिलो भाग संस्कृत छन्दशास्त्रमा आफ्नो क्षमता प्रदर्शन गर्दै अनौठो किसिमले नयराज पन्तले गर्नुभएको पृथ्वीनारायण शाहको रसविहीन पद्यव्याख्याबाट सुरु हुन्छ। (द लिमिट्स अफ सर्फेस आर्कियोलोजी, कन्ट्रिब्युसन्स टु नेपाल स्टडिज, भोल्युम ११, नम्बर १, १९८३) यसपछि दिव्योपदेशको पद्य अनुवाद, भाषा वंशावली र चिठीपत्रहरू समावेश गरिएको छ। १०९ पृष्ठको शुद्धिपत्र थपेर आकार ठूलो बनाइएको भन्दै मल्लले यसै लेखमा संशोधन मण्डललाई व्यंग्य गरेका छन्। शासकहरूको विरुदावली लेख्ने परम्परामा हुर्किएका इतिहासकारले कुनै शासकले दिएको भनिएको अर्तिलाई पद्य अनुवाद गर्नु यही परम्पराकै निरन्तरता भएको देखिन्छ।

जे भए पनि दिव्योपदेशलाई जनसमक्ष ल्याउन आचार्य र पन्तको भूमिका महत्वपूर्ण छ। यसको अन्वेषणमा उनीहरूले जेजति योगदान गरे, त्यसयता थप उल्लेखनीय काम भएको छैन। दिव्योपदेशको पहिलो पाण्डुलिपि कसले र कहिले तयार गर्‍यो ? त्यो उपलब्ध हुनसक्छ कि सक्दैन ? त्यसमा पृथ्वीनारायण शाहले भनेका कुराहरू कति छन्, थपघट गरिएको कति छ ? इतिहासमा कलम चलाउनेहरूले अब यी प्रश्नको जवाफ खोज्नु आवश्यक छ। दिव्योपदेशलाई गीता नबनाऔं, इतिहासकै रूपमा रहन दिऔं।
@RohejKhatiwada


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.