लोप भएको छैन ‘लुकुनी’
चरिकोट : फेसनेबल र आधुनिक कपडाको बजार जतिसुकै ठूलो भए पनि भेँडा र खरायोको ऊनबाट बन्ने लुकुनी अझै लोप भएको छैन। फेसन सुहाउँदो डिजाइन दिन नसक्दा स्थानीय उत्पादन लुकुनीलगायत कपडाको बजार साँघुरिँदै गए पनि लोप भने भएको छैन।
नयाँ डिजाइनका आधुनिक लत्ताकपडाबाट विस्थापित बन्दै गएको लुकुनी, राडीपाखी, बख्खुजस्ता घरेलु उत्पादन गाउँघरमा भने अझै लोकप्रिय छ। हिन्दू धर्मसंस्कारअनुसार भेँडाको ऊनबाट बुनिएका कपडा शुद्ध र चोखो मानिने तथा हिन्दू संस्कारमा ऊनबाट बनेको सामग्री अनिवार्य भएका कारण पनि लुकुनीजस्ता उत्पादन लोप हुनबाट जोगिएको बताइन्छ।
३० वर्षदेखि लुकुनी, राडीपाखी र बख्खुजस्ता ऊनजन्य कपडाको उत्पादन तथा बिक्री गर्दै आएका गौरीशंकर गाउँपालिका–५ सुरी काप्तीका श्यामकाजी गुरुङ दोलखा जिल्लाका गाउँबस्तीमा घरेलु उत्पादन अझै लोकप्रिय रहेको बताउँछन्। भेँडा र खरायोको ऊनबाट लुकुनी तथा राडीपाखी बुन्ने दोलखाकै करिब एक्लो बृहस्पति बनेका श्यामकाजी आफ्नो सीप अरुलाई हस्तान्तरण गर्न खोज्दासमेत चासो दिने मानिस नभेटेको गुनासो गर्छन्। घरेलु कार्यालयले लुकुनी तथा राडीपाखी बुन्ने तालिम दिए पनि सहभागीले आपूmले सिकेको सीपलाई व्यवसायको रूपमा अगाडि नबढाएको उनको भनाइ छ।
६१ वर्षको उमेरमा समेत उत्साहका साथ लुकुनी र राडीपाखीको व्यवसायमा निरन्तर लागिरहेका श्यामकाजी महिनामा ४०÷५० वटा लुकुनी तथा राडीपाखी तयार गरेर बिक्रीका लागि गाउँगाउँ पुग्छन्। ‘एक महिनासम्म घरमा बसेर लुकुनी तथा राडीपाखी बुन्छु’, उनले भने, ‘अनि एक महिना गाउँगाउँ पुगेर बिक्री गर्छु।’ लुकुनी, राडीपाखी र बख्खुको बिक्री गरेर मात्र वार्षिक करिब चार लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए। यो व्यवसायबाट राम्रैसँग गुजारा चलेको र परम्परागत सीपको संरक्षणसमेत भएकाले आफू सन्तुष्ट रहेको उनको भनाइ छ।
जिल्लामा सञ्चालन हुने विभिन्न अवसरमा चरिकोट, जिरी, सिंगटी, मैनापोखरीजस्ता बजार क्षेत्रमासमेत यसको व्यापार हुने गरेको उनको भनाइ छ। दोलखाको गौरीशंकर, मार्बु, चंखु र सुरीबाट भेँडा तथा खरायोको ऊन ल्याएर श्रीमती दलुमाया र आफूले लुकुनी, राडीपाखी तथा बख्खुको अन्य कपडा तयार गर्ने श्यामकाजी बताउँछन्। भेँडा र खरायोको ऊनबाट उत्पादित कपडा क्षेत्री, गुरुङ, तमाङ, थामी, जिरेल, सुनुवार, शेर्पा जातिका मानिसले बढी मात्रामा प्रयोग गर्ने गरेको पाइएको छ।
स्थानीय बजारमा भेँडाको ऊनबाट बुनेको लुकुनी भए पाँच हजार तथा खरायोको ऊनको बुनेको भए ६ हजार पर्ने श्यामकाजीको भनाइ छ। त्यसैगरी राडीपाखी दुईपाटे भए एउटाको तीन हजार, तीनपाटे भए चार हजार र चारपाटे भए पाँच हजार पर्ने उनले बताए। लुकुनी र राडीपाखीको व्यवसायबाटै श्यामकाजीले चरिकोटमा घर बनाएर चार जना छोराछोरीको लालनपालन र पढाइ खर्च जुटाएका छन्।