पुरुषोत्तम र सन्‍न्‍यास

पुरुषोत्तम र सन्‍न्‍यास

१३औं सागमा पुरुषोत्तमका चेलाहरू दीक्षा तामाङ, सिक्का सुवाल श्रेष्ठ र संयोग कपालीले खेलेका थिए । यी तीनै जनालाई पुरुषोत्तमले आदर्श विद्या मन्दिर स्कुलमा सिकाएका थिए ।


पुरुषोत्तम वज्राचार्य (३६) लाई बाइपास गर्ने हो भने नेपालको टेबुल टेनिस इतिहास पनि अपूरो हुनेछ । नेपाली खेलकुदमा दुई दशकभन्दा बढी सक्रिय योगदान पु¥याएका पुरुषोत्तम नेपाली टेबुल टेनिसका सिद्धहस्त खेलाडी मात्र होइनन, कुशल प्रशिक्षक पनि हुन् । टेबुल टेनिसको श्रीवृद्धिमा २२ वर्ष बिताएका पुरुषोत्तम हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा प्राप्त सफलतापछि सक्रिय खेल जीवनबाट सन्न्यास लिने योजना बुनिरहेका छन् ।

सन्न्यास किन ?

बेलायती कवि ए.ई. हाउसम्यानको बहुचर्चित कविता ‘टु एन एट्लिथ डाइङ योङ’मा खेलकुदको सर्वोच्च स्थानमा पुगेर जताजतै वाहवाही बटुलिरहेका युवा खेलाडी एक्कासि मर्न चाहन्छन् । उनी आफूले हासिल गरेका उपलब्धि आफू जीवित छँदै अरूले तोडेको हेर्न चाहँदैनन् । त्यसैले उनी सानो उमेरमै मर्न चाहन्छन् ता कि सधैं उनलाई सबैले स्मरण गरिरहून् । उनी त्यसलाई नै उचित र ठीक समय मान्छन् ।

गत महिना सम्पन्न १३औं सागमा पुरुषोत्तमले नयाँ इतिहास बनाए । साग खेलकदुअन्तर्गत टेबुल टेनिसमा अहिलेसम्म नेपाली खेलाडी फाइनलमा पुगेका थिएनन् । पुरुषोत्तमले आफ्नै भूमिमा आयोजना भएको १३औं सागमा यो दुर्लभ इतिहास बनाए । सागमा पुरुषोत्तम सम्मिलित टिमले रजत पदक जित्यो भने पुरुष सिंगलमा उनले कांस्य पदक जिते । रजत विजेता टोलीमा पुरुषोत्तमसँगै शिवसुन्दर गोथे, स्यान्टु श्रेष्ठ, संयोग कपाली र दिनेश खानी सहभागी थिए । यो टोली फाइनलमा भारतसँग ३–० ले पराजित भएको थियो । यसबाहेक पुरुष एकलमा पनि नेपाल अहिलेसम्म सेमिफाइनलमा पुग्न सकेको थिएन । यसपटक पुरुषोत्तमसँगै स्यान्टु श्रेष्ठ सेमिफाइनलमा पुगेका थिए ।

दुई दशक खेलकुदमा बिताएका पुरुषोत्तमले टेबुल टेनिसमा अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरे । यस्तो दुर्लभ उपलब्धिका लागि आफूलाई सदैव सम्झिरहून् भनेर नै हाउसम्यानको कवितामा जस्तै पुरुषोत्तमले सन्न्यासको उपयुक्त समय ठानेका छन् । यसका साथै उनी सक्रिय खेलाडी हुँदा नै आफूले बनाएको इतिहास अरूले नतोडून् भन्नेमा पनि उत्तिकै सतर्क छन् । १३औं सागमा पुरुषोत्तमका चेलाहरू दीक्षा तामाङ, सिक्का सुवाल श्रेष्ठ र संयोग कपालीले खेलेका थिए । यी तीनै जनालाई पुरुषोत्तमले आदर्श विद्या मन्दिर स्कुलमा सिकाएका थिए । पुरुषोत्तमकै पदचाप पछ्याउँदै तीनै खेलाडीले १३औं साग खेलेका थिए ।

पुरुषोत्तमलाई अहिलेका नयाँ खेलाडीसँग जित्न सकिन्छ भन्ने नलागेर पनि सन्न्यासको योजना बनाएका हुन् । पछिल्लो समय उत्कृष्ट खेलाडीहरू टेबुल टेनिसमा भित्रिएकाले उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकिने ठम्याइ उनको छ । ‘पछिल्लो समय धेरै राम्रा खेलाडीको आगमन भएको छ’, पुरुषोत्तम भन्छन्, ‘उनीहरूसँग प्रतिस्पर्धा गर्न पनि निकै गाह्रो छ ।’ उनी पछिल्लो समय ‘टेक्निक’ र ‘ट्याक्टिस’ दुवैमा उत्कृष्ट खेलाडीहरू आइसकेको बताउँछन् ।

राष्ट्रिय च्याम्पियन नहुँदाको चुकचुकी

पुरुषोत्तमले टेबुल टेनिस बोर्डमा २२ वर्ष बिताए । अहिलेसम्मको जीवन टेबुल टेनिसमै समर्पित पनि गरे । तर पनि उनलाई एउटा कुराले भने सदैव खड्किरह्यो, राष्ट्रिय च्याम्पियन हुन नसक्नु । उनले राष्ट्रिय च्याम्पियन बन्न धेरै मेहनत गरे । दिनरात नभनी बोर्डमै रटान पनि दिए । तैपनि उनले आफ्नो इच्छा पूरा गर्न सकेनन् ।

‘धेरै पटक दोस्रो भएँ तर च्याम्पियन हुन सकिएन’, पुरुषोत्तम भन्छन्, ‘राष्ट्रिय च्याम्पियन बन्ने सपना अधुरै रह्यो ।’ शिवसुन्दर गोथेदेखि अहिलेका स्यान्टु श्रेष्ठसम्मले उनलाई राष्ट्रिय च्याम्पियन बन्न दिएनन् । अझ आफूले नै सिकाएका खेलाडीले नै विस्थापित गर्ने अवस्था आइसकेकाले पनि उनी जतिसक्दो चाँडो उनीहरूलाई ठाउँ छाडिदिने अभियानमा छन् । ‘पछिल्लो समय धेरै राम्रा खेलाडी आइसकेका छन्’, उनी भन्छन्, ‘अब उनीहरूसँग खेल्न सकिँदैन कि भन्ने पनि लागेको छ ।’

पुरुषोत्तमले ११औं, १२औं र १३औं गरी लगातार सागका तीन संस्करण खेले । उनले तीनवटै संस्करणमा टिम, डबल्स र सिंगल्समा प्रतिस्पर्धा गरे । उनले पदकचाहिँ १३औं सागमा मात्र जित्न सके । पुरुष डबल्समा भने उनको टोली क्वार्टरफाइनलमा पराजित भएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता उपलब्धि

पुरुषोत्तमले सक्रिय खेलाडीका रूपमा धेरै प्रतियोगिता खेले । सागको लगातार तीन संस्करण खेलेका उनले तीन पटक वल्र्ड च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरे । सन् २०१० को गोन्जाओ र सन् २०१४ को इन्चोन एसियाली खेलकुदमा पनि सहभागी भए । यसैगरी एसियन टेबुल टेनिस च्याम्पियनसिपमा पनि उनले दुई पटक सहभागी हुने अवसर पाए ।

यसैगरी पुरुषोत्तम पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदसम्म लगातार सहभागी भए । २०६० सालमा पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका उनी त्यसपछि लगातार रूपमा टेबुल टेनिसमा छाइरहे । उनले सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए ।

यसरी लागे खेलकुदमा

पुरुषोत्तम ललितपुरका स्थायी बासिन्दा हुन् । पाटन सुन्धारामा खेलकुद गतिविधि भइरहन्थ्यो । टोलका दाइहरूले खेलेको उनी हेरेर बसिरहन्थे । कहिलेकाहीँ उनीहरूजस्तै खेलाडी बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । टोलको वातावरण र परिवेशले उनी पनि खेलकुदमा लागे । सुन्धारामा अरू खेलसँगै टेबुल टेनिसका खेलहरू पनि निकै हुन्थे । अझ समय समयमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सके पुरस्कार पनि पाइने र साथीभाइबीच लोकप्रिय हुन पाइने भएपछि पुरुषोत्तमले खेलकुद नै रोजे । उनले खेलकुदमा लाग्ने प्रेरणा र प्रोत्साहन आफ्नै टोलबाट पाए ।

 योजना

पुरुषोत्तम खेलसँगै प्रशिक्षणमा पनि सक्रिय रहँदै आएका छन् । विगत लामो समयदेखि आदर्श विद्या मन्दिर (एभीएम) स्कुल र त्यहीँको क्लबमा टेबुल टेनिसको प्रशिक्षण गराउँदै आएका उनले लेबल वान कोर्स गरेका छन् । यसका साथै राष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित एनएस कोर्स पनि पूरा गरेका छन् ।

त्यसैले उनी अब पूर्ण रूपमा प्रशिक्षणमा लाग्ने अभियानमा छन् । एभीएम क्लबबाट पुरुषोत्तमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् । क्लबकै दीक्षा तामाङ, सिक्का सुवाल श्रेष्ठ र संयोग कपालीले पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसैले यीजस्तै अरू खेलाडी उत्पादनमा सक्रिय हुने योजना उनले बनाएका छन् । यसका साथै एपीएफमा पनि प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने सोच उनको छ । यसका साथै राष्ट्रिय टोली सम्हाल्न पनि आफू सक्षम रहेको उनी बताउँछन् ।

खेलकुदमा लागेर सन्तुष्ट

उनी खेलकुदमा लागेर आफूले ठीकै गरेको बताउँछन् । त्यसैले अहिलेसम्म खेलकुदबाट पाएको उपलिब्धप्रति उनी सन्तुष्ट पनि छन् । ‘खेलकुदबाटै धेरै कुरा पाएको छु । यसैबाट आफ्नो गुजारा पनि चलाइरहेको छु’, पुरुषोत्तम भन्छन् । उनी खेलकुदमा लागेर पनि राम्रोसँग जीवन गुजारा चलाउन सकिने बताउँछन् । ‘खेलकुदबाट पनि राम्रोसँग आफ्नो गुजारा चलाउन सकिन्छ’, उनी भन्छन् ‘स्कुल, कलेज र क्लबहरूमा राम्रै अवसर छ ।’ हरेक खेलाडीले खेलका साथै विभिन्न विद्यालय र क्लबमा पनि सिकाउने गरेकाले टेबुल टेनिसको स्कोप पनि राम्रै रहेको उनी बताउँछन् ।

उनी टेबुल टेनिसमै आफ्नो जीवन समर्पित गर्ने बताउँछन् । ‘अब यस क्षेत्रबाट अलग रहन सक्तिनँ । जतिन्जेल सक्छु, टेबुल टेनिसकै विकास र विस्तारमा समर्पित हुन्छु’, उनी भन्छन् । उनी पारिवारिक सहयोगले आफू यो स्थानसम्म आइपुगेको बताउँछन् । ‘परिवारले सधंै सहयोग गरिरह्यो । परिवारबाट साथ र सहयोग नभएको भए यो स्थानसम्म पक्कै पनि आइपुगिँदैनथ्यो’, उनी भन्छन् । ३६ वर्षीय पुरुषोत्तम खेलकुदमै समर्पित हुँदा विवाहको योजना बनाउन नपाएको बताउँछन् । ‘खेलकुदबाहेक अरू कुरा सोच्नै पाइएन । अब भने विवाह गर्ने सोचाइ छ’, उनी ठट्यौलो पारामा भन्छन् ।

कहाँ छ टेबुल टेनिस ?

पुरुषोत्तम नेपालमा पछिल्लो समय टेबुल टेनिसको अवस्था निकै राम्रो रहेको देख्छन् । पहिले एउटै लेबलका खेलाडी भए पनि पछिल्लो समय निकै राम्रा खेलाडी टेबुल टेनिसमा लागेको उनको बुझाइ छ । अझ पछिल्लो समय प्रविधिका कारण पनि धेरै राम्रा खेलाडी यस खेलमा लागेका छन् ।

अहिलेका खेलाडीले प्रशिक्षकबाट मात्र होइन, इन्टरनेटबाट पनि टेक्निकहरू सिक्ने गरेका छन् । यसले गर्दा पनि निकै प्रतिभावान् र क्षमतावान् खेलाडीको प्रवेश भएको बुझाइ उनको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.