विघटनको सँघारमा सांस्कृतिक पर्वहरू
यो वर्षको तिहार विशेष रह्यो- भाइटीकाको भोलिपल्ट किजापूजा। सांस्कृतिक रूपमा परापूर्व कालदेखि एक दिन मनाइँदै आएको पर्व दुई दिन मनाउन पाउनुलाई विशेष नै भन्नु पर्ला। दिदी भाइ, दाजु बहिनीबीच एक अर्काप्रति सम्मान, प्रेम, सद्भाव र स्नेहको यो पर्व दुई दिन किन पर्यो त ? प्रश्न उठ्नु स्वाभाविक हो।
किजापूजाका लागि बिदा घोषणा पछि गैरनेवार समुदायका थुप्रै साथीको कटाक्षपूर्ण तर्क गरे- ए ! तिमीहरू पात्रोअनुसार नमनाएर सरकारले जहिले मना भन्यो, त्यो दिन तिहार मान्ने ? यस्तो तर्क गर्नेहरू नेवारहरूभित्रै पनि थिए जसले पात्रोमा लेखिएअनुसार नै पर्व मनाए। सरकारले तोकेको पर्व बिदा र आफ्नै समुदायका एक पक्षले गरेको आह्वान उनीहरूले लत्याइदिए।
बेला बेला चाडबाडमा आउने यो विवाद यसपल्ट अलि बढी नै बल्झियो। बल्झिएको मात्रै होइन विवादले नेवार-नेवारबीच र नेवार र अन्य जातिहरूबीच परापूर्व कालदेखि चलिआएको विशेष सांस्कृतिक पर्व भाइचाराका साथ एकै दिन मनाउने चलन भाँडियो। लक्ष्मीपूजाको दीपावली बाँडिँदा सहरबजारमा बलेका झिलिमिली बत्तीको उज्यालो फिक्का फिक्का देखियो। सहरका केही भागमा लक्ष्मीपूजाको आरती चलिरहँदा बाँकी सहर गोवद्र्धन पूजा र म्ह :पूजाको विधिमा व्यस्त थियो। दिदीको हातबाट भाइटीकाको विधि सकेर निधारभरि टीका र घाँटीमा मखमली माला लगाएर मक्ख हुँदै घर फर्किंदै गरेका भाइहरू एकातिर सडकमा थिए भने अर्कोतर्फ म्ह : पूजाका सामग्री किन्नेहरू र न्हुदँया भिंतुनाको उत्सव मनाउनेहरूको भीड।
सामाजिक सञ्जालका भित्ताहरूमा कोही भाइटीकाको सुखद क्षणका तस्बिर टाँस्दै थिए। कोही म्ह :पूजा र न्हुदँको र्यालीमा सहभागी भएका क्षणहरूको। किजापूजा अर्थात् भाइटीकाको भोलिपल्ट बुधबार सहरमा चहलपहल बढे पनि अधिकांश नेवार समुदायका पसलहरू बन्द थिए। किनभने त्यस दिन नेवार समुदायको भाइटीका थियो। भाइटीका र किजापूजा एकै पर्व हो। हिमाल, पहाड, तराई सबैतिरका जातजातिले अपनाउन थालेको पर्वलाई नेवारको र बाहुन, क्षेत्रीको भनेर इंगित गरिनु कदापि स्वीकार्य हुन सक्दैन। एउटै संस्कृति र पर्वमा एकै दिन देखिएका दुई फरक दृश्यले मिलेर बसेको समाजलाई सांस्कृतिक विभाजनतर्फ धकेल्ने षड्यन्त्र हो कि भन्ने आशंका बढ्न थालेको छ।
एउटै संस्कृति र पर्वमा एकै दिन देखिएका दुई फरक दृश्यहरूले मिलेर बसेको समाजलाई सांस्कृतिक विभाजनतर्फ धकेल्ने षड्यन्त्र हो कि भन्ने आशंका बढ्न थालेको छ।
तिहारपूर्व नै विभाजनका प्रश्नहरूले समाज बाँडिन थालिसकेको थियो। तपाईंहरूको लक्ष्मीपूजा कहिले ? भाइटीका कुन दिन ? यस्ता प्रश्नहरूका जवाफमा आआफ्ना तर्कहरू राख्ने, पक्ष-विपक्षमा अभिव्यक्ति दिनेको संख्या तिहार नजिकिँदै जाँदा झन्झन् बाक्लिँदै थियो। चियापसल, सञ्चार जगत् र सामाजिक सञ्जाल यी विषयका तर्कवितर्क र प्रमाणहरूको व्याख्यामा तातियो। विज्ञहरू एवं संस्कृतिविद्हरू नै पक्ष विपक्षमा ओर्लिए। नेवार समुदायका केही विद्वान् एवं अभियन्ताहरूले तिथिका आधारमा दुई पर्व एकै दिन पारिनुलाई आफ्नो संस्कृति र परम्परा मास्ने षड्यन्त्रका रूपमा विरोध गरे। तर तिहारको पूर्वसन्ध्यामा सरकारले नेवार समुदायका एक पक्षको मागबमोजिम किजापूजाका लागि भनेर एक दिन बिदा दियो। विरोधका स्वरहरू साम्य भयो। उनीहरू आफ्नो जित भएको ठानेर गर्वित भए। तर्क गर्नेहरूले नेवार ज्वाइँले आफ्नो कुरा सुनेको पनि भन्न भ्याए। अर्कोतर्फ नेवार समुदायभित्रै पञ्चांग पात्रोकै आधारमा तिहार मनाउनुपर्छ भन्ने पक्षधरहरू पनि बाक्लै थिए। यसले कुन दिन लक्ष्मीपूजा गर्ने र कुन दिन किजापूजा गर्ने भन्ने अन्योल उत्पन्न गर्यो। एउटै टोलमा, छरछिमेकमा लक्ष्मीपूजा फरक फरक दिन पर्दा तिहार खल्लो हुन पुग्यो। माइतपट्टि पात्रोअनुसार श्रीमान्को घरमा अभियन्ता पक्षधरहरूका अनुसार तिहार मनाउनाले थुप्रै घर सांस्कृतिक विभाजनको चपेटामा परे। केही संस्कृतिविद् र अभियन्ताहरूले गरेको यमपञ्चक भएपछि तिहार पाँच दिन नै हुनुपर्छ भन्ने तर्कले नेवार समुदायमा पर्व मनाउने विषयमा कसको कुरा मान्ने भन्ने अन्योल ल्यायो।
यो अलमल किन भन्ने प्रश्नमा ज्योतिषहरूको प्रतिप्रश्न छ, ‘यहाँ अलमलको कुरा नै छैन। मुख्य कुरा ज्योतिषशास्त्र मान्ने कि नमान्ने ? तिथिमिति मान्ने कि नमान्ने ? भन्ने हो।’ दैवज्ञ ज्योतिष दुर्गादास जोशी भन्छन्, ‘ज्योतिषशास्त्र र तिथिमितिलाई मान्ने हो भने गणना गर्दा आउने टुटलाई पनि मान्नुपर्छ। किनभने ज्योतिषशास्त्र विज्ञान हो। यसमा प्रयोग हुने गणितले वैज्ञानिक तर्कसहित व्याख्या गर्छ।’ ज्योतिष विज्ञानका अनुसार ‘यसपटक औंसी कुकुर तिहारको बिहान ११ :५० देखि भोलिपल्ट बिहान ९ :४३ सम्म मात्रै थियो। त्यसपछि प्रतिपदा सुरु हुन्थ्यो। लक्ष्मीपूजा औंसीमै मनाउने रात्रिकालीन पर्व हो। यसलाई सुखरात्रि पनि भनिन्छ। त्यसैले कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन पर्यो। भोलिपल्ट, औंसी सकिएपछि लक्ष्मीपूजा के आधारमा राति मनाउने ? ११ गतेदेखि १३ गतेसम्म मनाउने निर्णय ज्योतिषशास्त्रसम्मत छैन। हुँदै नभएको तिथिमा पर्व मनाउँछु भन्न मिल्छ ? ’
तर संस्कृतिविद्हरू भन्छन्, ‘हाम्रा सांस्कृतिक पर्वहरू पूर्ण रूपमा तिथिमिति र साइतका आधारमा चल्न सम्भव छैन। हाम्रा पूजा विधि यति लामा छन् कि पञ्चाङ्गले तोकेको उत्तम साइत नेवार समुदायका लागि खासै अर्थ राख्दैन। त्यसैले न भाइटीकाका लागि साइत चाहिन्छ, न त दशैंको टीकाका लागि। नेवारहरूले बिहानै मूलढोकाअगाडि लिपेर बत्ती बाली लक्ष्मीको आह्वान गर्ने हुनाले लक्ष्मीपूजा रात्रिकालीन पर्वका रूपमा गरिने व्याख्या नेवार समुदायमा लागू हुँदैन।’ केही अभियन्ताको तर्क छ, ‘सूर्योदयको समयमा जुन तिथि छ, त्यस दिन त्यही तिथिअनुसारको चाड मनाउनुपर्छ। यसो गर्दा हाम्रा चाडपर्व जुध्ने, टुट्ने सम्भावना हुँदैन।’ यस विषयमा संस्कृतिविद् हरिराम जोशी भन्छन्, ‘हाम्रो संस्कृतिमा कुनै पनि कार्य प्रारम्भ गरेपछि त्यसलाई तोकिएको निश्चित दिनमा सम्पन्न गर्नुपर्छ। त्यसैले दसैंको नवरथा नौ दिन र यमपञ्चकमा पाँच दिन हुनैपर्छ। यसमा तिथि र टुटको अर्थ हुँदैन। सुरुको तिथि मिल्ने गरी लिएर चाडपर्व अघि बढे संस्कृति र परम्परामा कुनै विवाद रहँदैन। जस्तो दसैंमा घटस्थापनालाई लिने र तिहारमा काग तिहारलाई।’
दैवज्ञ ज्योतिषहरूले यस्ता तर्कमाथि गम्भीर प्रश्न उठाएका छन्। विवाह, व्रतबन्ध, जन्मदिनका बेला शुभ साइत जुराउन ज्योतिष विज्ञान मान्ने। चिना बनाउन र देखाउन, दिनदशा थाहा पाउन ज्योतिषले भनेको मान्ने, तर चाडबाडका बेला ज्योतिषहरूले गरेको निर्णयमा नेवार संस्कृति र परम्पराविरोधी षड्यन्त्र देख्ने ? तिथिमितिको अर्थ हुँदैन भन्ने ? त्यसो भए ज्योतिष विज्ञानलाई मान्दैनौं भने भैगो नि। व्यवहारमा समस्या पर्यो भन्दैमा विज्ञानलाई मान्दिनँ, गणितले देखाएको नतिजालाई लत्याउँछु भन्न मिल्छ ? चन्द्र ग्रहण र सूर्य ग्रहण घोषणा गर्दा फरक नपरेको ज्योतिष विज्ञान चाडबाडको तिथिमा कसरी फरक पर्छ ? बिहान केही बेर मात्रै द्वितीया भएको दिन दिउँसो जन्मेको बालकको चिना लेख्दा द्वितीया लेख्ने कि तृतीया ? तर अभियन्ताहरूको तर्क छ- तिथि जुध्यो, टुट भयो भन्दैमा म्ह :पूजा नै नगर्ने ? दस मिनेट मात्रै द्वितीया छ भने भाइटीका कसरी गर्ने ? दशमी टुट भयो भने दसैंको टीका नै नलाउने ? यी आममानिसका पञ्चांग निर्णायकहरूसँगको असहमतिका प्रश्नहरू हुन्।
काठमाडौं, पाटन र भक्तपुर सहरमा जात्रा पर्वको तिथि सोध्न क्रमश : जनबहा :, हिरण्य वर्ण महाबिहार र तलेजु जाने चलन छ। ती बिहारका गुर्जु र जोशीले दिएको तिथि नै चाडपर्व मान्ने आधिकारिक तिथि हुने गर्छ। यसपटक पनि बौद्ध धर्मावलम्बीहरू तिहारको तिथि सोध्न त्यहाँ पुगे। जनबहा :ले लगातार पाँच दिन मनाउने भन्यो अर्थात् ११, १२ र १३ गते। हिरण्य वर्ण महाविहारमा ज्योतिषले तोकेको तिथिअनुसारै मनाउने तिथि टाँस भयो।
दै. ज्योतिष दुर्गादास जोशी भन्छन्, ‘हामीले तिहारअघि नै यो समस्यालाई लिएर व्यापक छलफल चलाएका थियौं। पाटनका जोशी समाज, ज्यापू समाज, स्य :स्य : समाज, ताम्राकार समाज, राजकर्णिकार समाज आदि थुप्रै जातिका समाज र ज्योतिषहरू बसेर पटकपटक व्यापक छलफल गरेर तिहार १०, ११ र १२ गते नै गर्न उत्तम हुने निर्णय भयो। ज्योतिषहरूको तर्क समाजका अगुवाहरूले स्वीकार गरे। काठमाडौंका विभिन्न नेवार खल : र समाजसँग छलफल हुन पाएन। तर यसबीच वाङ्मय शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको तिहार पाँचै दिन मनाउनुपर्छ भन्ने अभिव्यक्ति आयो। जोशी नेवारहरूका सम्मानित संस्कृतिविद् हुन्। त्यसैले उनको कुरालाई मान्ने कि, पात्रोको भनेर पर्व मनाउने विषयमा विभाजन ल्यायो। सरकारको बिदा घोषणाले जोशीको अभिव्यक्तिमा लालमोहर लगाइदियो।’
विगत सय वर्षको चाडबाडको इतिहासलाई हेर्ने हो भने यसरी तिथि जुधेका र टुट परेका उदाहरण थुप्रै रहेको ज्योतिषाचार्यहरू बताउँछन्। तर पञ्चांग समिति र नेवार समुदायबीच चाडबाडका विषयमा भएको विवादको इतिहास अढाई दशकभन्दा अघि नभेटिने ज्योतिषहरूको दाबी छ। टुट पहिले पनि हुन्थे। मानिसहरू त्यहीअनुसार चाडबाड मनाउँथे। तर विगत केही वर्षदेखि यो विषयलाई उचालेर चाडबाड मास्न लागे भन्ने आरोप चर्को स्वरले लगाइरहेका केही अभियन्ताको स्वार्थ सांस्कृतिकभन्दा राजनीतिप्रेरित जस्तो देखिएको ज्योतिषहरू आशंका गर्छन्। दैवज्ञ ज्योतिष कीर्तिमर्दन जोशीले हालै एक अन्तर्वार्तामा अभियन्ताहरूसँग जिज्ञासा राखेका छन्- यो कुरा उठाउने अभियन्ताहरूलाई चाडबाड जुध्ने, मासिने, आशंका र डर थियो भने पञ्चांग निर्णायक समितिले पात्रो बनाउनुअघि गरेको छलफल आह्वानमा आआफ्ना असन्तोष, तर्कहरू राख्न किन आउनु भएन ? किन उहाँहरू चाडबाड नजिकिँदै गएपछि मात्रै आममानिसलाई रनभुल्लमा पार्ने गरी विरोधका स्वरहरू उठाउनु हुन्छ ?
विशेष गरी तिथि जुध्दा र टुट हुँदा यी विवादहरू सतहमा आउने गर्छन्। यी विवाद र प्रश्नहरूको जवाफ र निराकरण पात्रो तयार गर्दा नै गहन र बृहत् छलफल गरेर निकाल्नु पर्छ। नत्र सांस्कृतिक विभाजनतर्फ लम्किएको यो सामाजिक समस्या झन्झन् जटिल बन्नेछ। तिथि, मिति र घडी पलाका आधारमा मात्रै सांस्कृतिक पर्वहरूलाई हेर्दा व्यावहारिक समस्या आउने र संस्कृति नै लोप हुने खतरा देखिएपछि त्यसको निराकरण गर्न पहल गर्ने जिम्मेवारी पञ्चांग निर्णायक समितिको पनि हो। ज्योतिषशास्त्रका विद्वान्हरूले सबै पक्षसँग बसेर छलफल गरेर मध्य मार्ग निकाले यसपटक देखिएजस्तो अन्योल र सांस्कृतिक विभाजन फेरिफेरि हुँदैनथ्यो कि ?