शूली चढ्दा जिससले जुत्ता लाका थिएनन्

शूली चढ्दा जिससले जुत्ता लाका थिएनन्

आइरिस-अमेरिकी लेखक फ्य्रांक म्याककोर्ट (सन् १९३०-२००९)को संस्मरणात्मक किताब ‘एन्जिलाज एसेज’ सन् १९९६ मा प्रकाशित हुनासाथ यसले ‘क्लासिक’को दर्जा हासिल गर्‍यो। अर्काे वर्ष यसले पुलिट्जर पुरस्कार पायो। केही समीक्षकले यसलाई म्याक्सिम गोर्कीको ‘मेरो बाल्यकाल’ जत्तिकै सशक्त संस्मरण पनि ठहर्‍याए।

म्याककोर्टकी आमा एन्जिला किताबैभरि उपस्थित छिन्, चुल्होको ‘चिसो र मृत खरानी’सहित। अतीत (बाल्यकाल) सम्झिन लेखकले वर्तमान काल प्रयोग गरेका छन्। उनले आविष्कार गरेको भाषा कति सरल छ भने किताब पढिरहँदा पाठक कुनै अबोध बालकलाई डोर्‍याएर हिँडिरहेझैं ठान्छन्।

किताबको सुरुमै म्याककोर्ट भन्छन्, ‘जब-जब म बाल्यकालका दिनहरू सम्झन्छु, म कसरी बाँचेँ होला भनेर छक्क पर्छु। बिरलै मान्छेको बाल्यकाल सुखद हुन्छ। सबैभन्दा दु :खद र दयनीय बाल्यकाल आइरिस बाल्यकाल हो। त्योभन्दा पनि दु :खद आइरिस क्याथोलिक बाल्यकाल हो। गरिबीग्रस्त जिन्दगी, गफाडी जँड्याहा बाबु, सधैं चुलोछेउ आँसु झारी बस्ने धार्मिक स्वभावकी परास्त आमा, पाखण्डी पादरीहरू, कठोर शिक्षकहरू, अंग्रेज र आठ सय वर्ष पुराना तिनका भयानक कर्तुतहरू : दु :खद बाल्यकालको आइरिस संस्करणसँग अन्य कुनै बाल्यकालको तुलना हुन सक्दैन।’

लिमरिकका चिसा गल्लीहरूमा भोक, रोग र शोकका भँगालासँगै म्याककोर्टको कलिलो पुस्ताको जिन्दगी बगिरहन्छ। यो ‘ट्र्याजी-कमिक’ संस्मरणमा तत् कालखण्डमा आइरिस समाजले जे भोग्यो, चित्रात्मक वर्णनमार्फत त्यसलाई खुद्रा र मिहिन ढंगले प्रस्तुत मात्र गरिएको छैन, जीवनवादिताका पक्षमा जोरदार वकालत पनि गरिएको छ।


ओ’निल सर चार कक्षामा पढाउँछन्। हामी उनलाई थोप्ले मास्टर भन्छौं। किनभने, उनी सानो काँटीका छन्। टाढाबाट हेर्दा थोप्लोजस्तै देखिन्छन्। कक्षाकोठाको अगाडिको भाग अलिक अग्लो छ। त्यहाँ उभिएर उनी हामीलाई पढाउँछन्। थर्काउँछन्, हप्काउँछन्, आतंकित बनाउँछन्। उनको हातमा सधैं लट्ठी हुन्छ। एक दानो स्याउ पनि हुन्छ।

सेप्टेम्बरदेखि स्कुल सुरु हुन्छ। थोप्ले मास्टर स्कुलको पहिलो दिन कालो पाटीमा तीन शब्द लेख्छन् : युक्लिड...ज्यामिति...मूर्ख। यी तीन शब्द कालो पाटीमा वर्षैभरि रहन्छन्। ‘कसैले यी शब्द मेट्ने साहस गरे त्यसले आफ्नो एउटा हात गुमाउनेछ’- हरेक दिन उनी चेतावनीपूर्ण उर्दी जारी गर्छन्।

‘जसले युक्लिडको साध्य बुझ्दैन, त्यो मूर्ख हो। बुझ्यौ केटा हो ! युक्लिडको साध्य नबुझ्ने मूर्ख हो। युक्लिडको साध्य नबुझ्ने के हो रे ? ’

‘मूर्ख हो, सर !’ हामी एक स्वरमा भन्छौं।

हामीलाई सबै शिक्षक मूर्ख भन्छन्। मूर्ख के हो, को हो, हामी भलिभाँती जान्दछौं।

ब्रेन्डन क्विग्ली हात उठाउँछ। ‘सर, साध्य भनेको के हो ? अनि युक्लिड भनेको के हो ? ’   

‘ब्रेन्डनले आज थोप्ले मास्टरको दह्रो भेट्ने भो’, हामी सोच्छौं। किनभने, प्रश्न सोध्ने विद्यार्थीले शिक्षकको लट्ठी खान्छ। यो स्कुलको नियम हो। तर, ओ’निल सरको ओठमा हलुका मुस्कान नाच्छ। ‘एउटा होइन, दुइटा प्रश्न गर्‍यो, यो केटाले। अँ, तेरो नाम के रे ? ’

‘ब्रेन्डन क्विग्ली, सर।’

‘यो केटो धेरै माथि पुग्छ। भन त केटा हो, यो केटो कहाँ पुग्छ रे ? ’

‘धेरै माथि, सर !’

‘नि :सन्देह, यो केटो धेरै माथि पुग्छ। युक्लिडको शोभा, भव्यता र सौन्दर्यबारे जान्न चाहने यो केटो माथि नपुगेर कहाँ पुग्छ त ? यो केटो कहाँ पुग्छ रे, केटा हो, फेरि भन त।’

‘माथि, सर !’

‘ध्यान दिएर सुन केटा हो ! युक्लिडबिना गणित कमजोर र बिचरा हुन्थ्यो। युक्लिडबिना हामी यताउता जान सक्दैनथ्यौं। युक्लिडबिना साइकलले पांग्रा पाउँदैनथ्यो। युक्लिडबिना सन्त जोसेफ सिकर्मी हुन सक्दैनथे, किनभने सिकर्मी काम भनेको ज्यामिति हो र ज्यामिति भनेको सिकर्मी काम हो। युक्लिडबिना यो स्कुलै बन्न सक्दैनथ्यो।’

मेरो पछाडि बसेको प्याडी क्लोहेसी सुस्तरी बर्बराउँछ- ‘युक्लिड भाते !’

थोप्ले मास्टर उसलाई हप्काउँछन्, ‘ओई केटा, तेरो नाम के रे ? ’

‘क्लोहेसी, सर।’

‘तेरो क्रिस्चियन नाम छैन ? ’

‘प्याडी।’

‘प्याडी के ? ’

‘प्याडी, सर !

‘अँ त प्याडी, अघि म्याककोर्टलाई के भन्दै थिइस् रे ? ’

‘हामीले घुँडा टेकर युक्लिडका निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ भन्दै थिएँ, सर !’

‘खूब पत्याएँ ! तेरो दाँतमा झुट भरिएको देखिरहेको छु म। केटा हो ! म के देखिरहेको छु ? ’

‘झुट, सर !’

‘कहाँ ? ’

‘दाँतमा, सर !’

‘भुरा हो ! युक्लिड ग्रिक थिए। भन् त क्लोहेसी, ग्रिक भनेको के हो ? ’

‘विदेशी होला, सर !’

‘तँलाई मन्दबुद्धि ! अँ, ब्रेन्डन, तँलाई थाहा होला, भन् त ग्रिक के हो ? ’

‘थाहा छ, सर ! युक्लिड ग्रिक हुन्।’

थोप्ले मास्टर ब्रेन्डनलाई हेरेर मुस्कुराउँछन्। उनी क्लोहेसीलाई ब्रेन्डनजस्तै बन् भन्छन्, जसलाई ग्रिक के हो, थाहा छ। उनी कालो पाटीमा दुई समानान्तर रेखा कोर्छन् र भन्छन्, ‘यी समानान्तर रेखा हुन्। शानदार र रहस्यपूर्ण कुरा के छ भने यी दुई रेखाको भेट कहिल्यै हुँदैन। यी रेखालाई लम्ब्याएर परमेश्वरको काँधसम्म पुर्‍याइयो भने पनि यिनको भेट हुँदैन। तर, केटा हो, अल्बर्ट आइन्स्टाइन भन्ने एक जना जर्मन यहुदी छ। त्यो यहुदीले यी भव्य रेखाबारे चाहिँदो÷नचाहिँदो कुरा गरिरहेको छ। संसारको बुद्धि भुट्न खोजिरहेको छ।’

हामी थोप्ले मास्टरका कुरा ध्यान दिएर सुन्छौं। यतिखेर जर्मनी राइँदाइँ गरिरहेको छ। बम खसालिरहेको छ। सहरका सहर धूलोपीठो पारिरहेको छ। यस्तो बेलामा युक्लिड पढ्नुको के अर्थ ? हामीले बुझ्न सकेका छैनौं। सरलाई सोध्न चाहन्छौं, तर हाम्रो हिम्मत पुग्दैन। हामी सबैलाई थाहा छ, ब्रेन्डन थोप्ले मास्टरको पाल्तु हो। ऊ जे पनि सोध्न सक्छ। उसको नामै हामीले ‘प्रश्नकर्ता क्विग्ली’ राखिदिएका छौं। छुट्टी भएपछि घर जाने बेलामा हामी उसलाई भन्छौं, ‘भोलि तैंले थोप्ले मास्टरलाई एउटा प्रश्न सोधेस्। जर्मनहरूले जहीँतहीँ बम खसालिरहेको बेलामा युक्लिडको के काम ? कहिल्यै एकअर्कालाई नभेट्ने रेखाको के अर्थ ? ’ ब्रेन्डन रुँलाजस्तो गरी भन्छ, ‘म थोप्ले मास्टरको पाल्तु हुन चाहन्नँ। म तिमीहरूको प्रश्न पनि सोध्न चाहन्नँ। मैले त्यस्तो प्रश्न सोधेँ भने थोप्लेले मलाई भकुर्छ।’

‘तैंले सोधिनस् भने हामी तँलाई भकुर्छौं।’ हामी उसलाई तर्साउँछौं।

भोलिपल्ट कक्षामा ब्रेन्डनको हात उठ्छ।

थोप्ले मास्टर हल्का मुस्कुराउँछन्।

‘सर, जर्मनहरूले बमले सबथोक ध्वस्त बनाइरहेको बेलामा युक्लिड र ती रेखाको के काम ? ’

स्मित मुस्कान गायब हुन्छ। ‘के भनिस् नि, क्विग्ली ! हत्तेरी, केटा हो !’ हातको लट्ठी टेबलमा बिसाएर सर आँखा चिम्लन्छन्। ‘युक्लिडको के काम ? युक्लिडको के प्रयोजन ? भुरा हो, म तिमीहरूलाई कसरी बुझाऊँ ? युक्लिडबिना मेसरस्मित कम्पनीका लडाकू विमानले आकाश कब्जा गर्न सक्दैनथे। युक्लिडबिना ब्रिटिस जहाजले कहाँ बादलमा युद्ध गर्न सक्थे ? युक्लिडले संसारलाई कला, सुन्दरता र भव्यता दिएका छन्। केटा हो, उनले के दिएका छन् ? ’

‘कला, सर !’

‘अनि ? ’

‘सुन्दरता, सर !’

‘अनि ? ’

‘भव्यता, सर !’

‘युक्लिड आफैंमा सम्पूर्ण छन् र उनको प्रयोजन दिव्य छ। कुरा बुझ्यौ त, केटा हो ? ’

‘बुझ्यौं, सर।’

‘मलाई त लाग्छ- युक्लिडलाई प्रेम गर्नु भनेको यो संसारमा एक्लो पर्नु हो।’ उनी आँखा खोल्छन् र सुस्केरा हाल्छन्। उनका आँखा रसाएका छन्।

त्यो दिन प्याडी क्लोहेसी घर जाँदै गर्दा पाँच कक्षामा पढाउने ओ’डी सर उसलाई रोक्छन् र सोध्छन्, ‘यता सुन् त केटा, त्यो तिमीहरूको मास्टर छ नि, ओ’निल भन्ने। त्यसले तिमीहरूलाई युक्लिडबारे केही भन्यो ? ’

‘भन्नुभयो, सर !’

‘के भन्यो त्यसले ? ’

‘युक्लिड ग्रिक हुन्।’

‘त्यति त मलाई पनि थाहा छ नि, छुसी ! अरू के भन्यो, त्यो भन् न।’

‘ओ’निल सरले भन्नुभएको, युक्लिडबिना हाम्रो स्कुल हुँदैनथ्यो रे।’

‘उसले कालो पाटीमा केही कोर्‍यो कि ? ’

‘दुइटा रेखा कोर्नुभएको थियो। तिनीहरूको कहिल्यै मिलन हुँदैन रे। परमेश्वरको काँधसम्म लम्ब्याए पनि।’

‘हे परमेश्वरी !’

‘परमेश्वरीको होइन, सर ! परमेश्वरको काँधसम्म।’

‘मलाई थाहा छ, मूर्ख। घर जा।’

अर्काे दिन हाम्रो कक्षाकोठाबाहिर चर्काे होहल्ला हुन्छ। ओ’डी सर चिच्याइरहेका छन्, ‘बाहिर निस्की, ए ओ’निल भाते ! तँलाई अवसरवादी, तँलाई लाछी !’ ढोकाको सिसा फुटेकाले हामी सबै कुरा सुन्छौं। नयाँ प्रधानाध्यापक ओ’हालोरान भनिरहेका छन्, ‘ओ डी सर, आफूलाई सम्हाल्नुस्। विद्यार्थीका अगाडि यसरी झगडा गर्नु राम्रो होइन।’

‘हालोरान सर, त्यो निलेलाई भन्दिनुस्, ज्यामिति पढाउन छोड् भनेर। ज्यामिति चार कक्षामा होइन, पाँच कक्षामा पढाउने हो। त्यसलाई भाग-गुणन पढा भन्दिनुस्। युक्लिड मेरो जिम्मा हो। भाग-गुणनले त्यसको बौद्धिकता बढाउनेछ। त्यसको हैसियत त्यत्ति हो। हे ईश्वर ! त्यो अवसरवादी ! त्यसले केटाहरूको दिमाग ध्वस्त बनाउनेछ। स्याउका बोक्रा बाँडेर बच्चाहरूलाई पखाला चलाउने त्यो बेवकुफ ! हालोरान सर, त्यसलाई भन्दिनुस्, युक्लिड मेरो हो। हैन भने त्यसको खुट्टा भाँच्दिन्छु म।’

प्रधानाध्यापक झगडा जसोतसो साम्य बनाउँछन्। उनी ओ’निल सरलाई आफ्नो अफिसमा बोलाउँछन्।

केही बेरपछि ओ’निल सर कक्षामा फर्कन्छन्। उनका आँखा फेरि रसाएका छन्। ‘उहिले ग्रिकहरूको पालादेखि अहिलेसम्म खासै केही बदलिएको छैन। किनभने, असभ्य बर्बरहरू हाम्रो ढोकैमा आइपुगेका छन्।’

ओ’निल सरले हरेक दिन स्याउ ताछिरहेको हेर्नु यातना हुन्छ। उनको हातमा कहिले हरियो स्याउ हुन्छ, कहिले रातो। नाकमा ठोक्किन आउने स्याउको ताजा बास्ना असह्य हुन्छ। दिनभरि कक्षामा जो ज्ञानी बालक भएर बस्छ, सरले सोधेका प्रश्नहरूको सही उत्तर दिन्छ, स्याउ उसैले पाउँछ। सर त्यो भाग्यमानी छात्रलाई कक्षामै स्याउ खान लाउँछन्। किनभने, स्याउ लिएर ऊ बाहिर गएछ भने साथीहरूले उसलाई ‘एक टुक्रा दे न, एक टुक्रा दे न’ भनेर हत्तु बनाउँछन्। यसलाई एक टुक्रा, उसलाई एक टुक्रा बाँड्दाबाँड्दै उसको हातमा एक टुक्रा बचे धन्य !

कहिलेकाहीँ प्रश्नहरू कठिन हुन्छन्। कक्षामा कसैले उत्तर दिन सक्दैनन्। त्यो दिनको स्याउ रद्दीको टोकरीमा जान्छ। ओ’निल सरले स्याउ यसरी फ्याँक्दा हाम्रो मन कटक्क हुन्छ। स्कुलमा सरसफाइ गर्ने दिदी नेली आहिम ठूलो झोलामा कागज र फोहोरसँगै त्यो स्याउ पनि लिएर जान्छिन्। ती सबैलाई लगेर आगोमा हालिदिन्छन्। हामी उनलाई ‘स्याउ चाहिँ हामीलाई दिए हुने नि’ भनेर झिँजो लगाउँछौं। उनी झर्काे मानेर भन्छिन्, ‘यत्रो स्कुल म एक्लैले सफा गर्नुपर्छ। तिमी खानका कालहरूलाई स्याउका बोक्रा खुवाएर बस्ने फुर्सद मलाई छैन।’

ओ’निल सर बिस्तारै स्याउ तास्छन्। उनी समुस्कान कक्षाको चारैतिर हेर्छन्। हामीलाई जिस्काउँछन्, ‘केटाहरू हो, यो स्याउ आज म कसलाई दिऊँ ? तिमीहरूले मेरो प्रश्नको उत्तर दिन सकेनौ भने यो स्याउ म परेवालाई दिन्छु।’

‘परेवाले स्याउ खाँदैन, सर !’ हामी भन्छौं।

प्याडी क्लोहेसी चिच्याउँछ, ‘सर, स्याउ खायो भने परेवालाई पखाला लाग्छ। स्याउ खाएको परेवाले हाम्रो टाउकोमाथि बिस्टा खसाल्छ।’

‘क्लोहेसी, तँ अमादाउन होस्। अमादाउन भनेको के हो, थाहा छ तँलाई ? ’

‘थाहा छैन, सर।’

‘यो आइरिस शब्द हो। तेरो मातृभाषाको शब्द। अमादाउन भनेको मूर्ख हो। पटमूर्ख क्या ! तँ अमादाउन होस्, क्लोहेसी। केटाहरू हो, ऊ के हो रे ? ’

‘अमादाउन, सर !’

स्याउधारी ओ’निल सर संसारभरिका प्रश्न सोध्छन्। जे पनि सोध्न सक्छन्। जसले उत्तम उत्तर दिन्छ, स्याउ उसैको। कहिलेकाहीँ प्रश्न साह्रै सामान्य हुन्छ। ‘अमेरिकाको राष्ट्रपतिको नाम के हो ? ’

सबैले हात उठाउँछन्। ‘रुजबेल्ट, सर।’ कक्षाकोठा गुञ्जिन्छ।

त्यसपछि उनी कसैलाई उठाउँछन् र सोध्छन्। ‘मुल्काही, ईश्वरलाई शूली चढाउँदा क्रुसको मुन्तिर को उभिएका थिए ? ’

लट्ठक मुल्काही के जान्दछ र ? भन्छ, ‘बाह्र धर्मदूत उभिएका थिए।’

‘मुल्काही, मूर्खलाई आइरिस भाषामा के भन्छन् ? ’ सर सोध्छन्।

‘अमादाउन, सर।’

‘अनि तँ के होस् ? ’

‘म अमादाउन हुँ, सर।’

यसरी स्याउ फोहोरदानीमा पुग्छ।

०००

टाइफाइडले थलिएर मैले पाँच कक्षा दोहोर्‍याउनु परेको छ। मेरो भाइ मालाकी र म एउटै कक्षामा छौं। भाइसँग एउटै कक्षामा हुनु लाजमर्दाे कुरा हो। ओ’डी सर क्रिस्चियन धार्मिक-प्रश्नोत्तरी पढाइरहेका छन्। अघिल्लै वर्ष पढेका कुरा पढ्नुपर्दा झर्काे लाग्छ। कुनै प्रश्नको जवाफ दिन हात उठाउन पाउँदिनँ। ‘तँ चुप लागेर बस्, तेरो भाइलाई जबाफ दिन दे’, सर डाँकोले निल्छन्।

उनी कक्षालाई गणितका प्रश्न दिन्छन् र मलाई कापी जाँच्न लगाउँछन्। आइरिस भाषामा श्रुति लेखन गर्न लगाउँछन्। त्यसलाई जाँच्ने जिम्मा पनि मेरै हो। सानोतिनो मास्टर भइटोपलेको छु। सर मलाई विशेष प्रबन्ध लेख्न लगाउँछन् र त्यसलाई कक्षामा पढेर सुनाउन अह्राउँछन्।

‘फ्य्रांक म्याककोर्टले पोहोर यो विषय पढिसकेको छ। अब ऊ तिमीहरूलाई सिकाउँछ’, ओ’डी सर भन्छन्, ‘भोलि उसले ईश्वरमाथि एउटा प्रबन्ध लेखेर ल्याउनेछ। लिमरिक सहरमा जिसस हुर्केको भए के हुन्थ्यो ? त्यसबारे म्याककोर्टले लेख्नेछ। आयरल्यान्डको पवित्रतम सहर लिमरिकमा पवित्र परिवारको भ्रातृसमाज छ। हाम्रा परमेश्वर लिमरिकमा हुर्केका भए उनले शूली चढ्नु पर्दैनथ्यो। किनभने, लिमरिकका मान्छेहरू असल क्याथोलिक थिए। उनीहरूले जिससलाई शूलीमा चढ्न कहाँ दिन्थे र ? म्याककोर्ट, तैंले भोलि यस विषयमा केही लेखेर ल्याएस्।’

घरमा बाबाले मलाई सघाउँछन् कि भन्ने लागेको छ। तर, उनी भन्छन्, ‘तेरो ओ’डी सरको कल्पना सुन्दर छ, तर हाम्रो ईश्वरले क्रुसमा पर्याप्त दु :ख भोगेका छन्। उनलाई लिमरिकसँग जोडेर थप पीडा किन दिनु ? त्यसमाथि स्यानन नदीको ओस !’ उनी टोपी लगाउँछन् र बाहिर निस्कन्छन्। मैले ईश्वरबारे आफैं सोच्नुपर्ने भएको छ। भोलि के पो सुनाउने हो ?

भोलिपल्ट ओ’डी सर आदेश दिन्छन्। ‘साथीहरूलाई तेरो प्रबन्ध सुना, म्याककोर्ट।’

म सुरु गर्छु, ‘मेरो प्रबन्धको नाम...’

‘शीर्षक, म्याककोर्ट, शीर्षक।’

‘मेरो प्रबन्धको शीर्षक हो- जिसस र मौसम।’

‘के ? ’

‘जिसस र मौसम, सर।’

‘ल, ल पढ।’

‘हाम्रा प्रभु जिससलाई लिमरिकको मौसम मन पथ्र्याे होला भन्ने मलाई लाग्दैन। किनभने, यहाँ सधैं झरी पर्छ। स्यानन नदीले सिंगै लिमरिकलाई ओसिलो बनाएको छ। मेरो बाबा स्याननलाई हत्यारा नदी भन्नुहुन्छ। किनभने, यसले मेरा दुई जना भाइको ज्यान लिएको थियो। जिससका तस्बिरहरू हेर्दा हामी उनलाई प्राचीन इजरायलमा एक सरो लुगा लगाएर निष्फिक्री घुमिरहेको देख्छौं। त्यहाँ कहिल्यै पानी पर्दैन। त्यहाँ कसैलाई खोकी लागेको वा क्षयरोग भएको सुनिँदैन। कोही काम नपाएर भौंतारिइरहेका पनि हुँदैनन्। किनभने, त्यहाँ कामै गर्नु पर्दैन। उनीहरू त बस् देउताले खाने मन्ना भन्ने खानेकुरा खान्छन्, मुर्मुरिन्छन् र क्रुसमा टाँगिइन जान्छन्। भोक लाग्दा जिससले अञ्जीर वा सुन्तलाको रूखसम्म पुगे भइहाल्यो। बियर खान मन लागे ठूलो गिलास लिएर त्यसमाथि हात घुमाउँदा बियर हाजिर भइहाल्छ। मेरी म्यागालिन र मार्था दिदीबहिनीको घर गए पनि भो। उनीहरूले जिससलाई यता-उता केही नसोधी एक थाल पस्केर दिइहाल्थे। हामीले पो खानुअघि अनेक प्रश्न झेल्नुपर्छ- ‘प्रार्थना गरिस् ? गृहकार्य गरिस् ? हातखुट्टा धोइस् ? ’ जिससलाई सोध्न सक्ने कसले ? उनको खुट्टा धोईवरी म्यागालिन आफ्ना कपालले पुछिदिन्थिन्। उता मार्था भाँडा माझिरहेकी हुन्थिन्। यही त मलाई ठीक लाग्दैन। मार्था जुठो भाँडा माझ्ने, म्यागालिनचाहिँ हाम्रा परमेश्वरसँग गफ चुटेर बस्ने ! न्यानो ठाउँमा, यहुदीको घरमा जन्मने निर्णय गरेर जिससले बुद्धि पुर्‍याए। लिमरिकमा जन्मेका भए उनलाई क्षयरोग लाग्थ्यो र उनी एक महिनामै मर्थे। त्यसपछि न क्याथोलिक चर्च हुन्थ्यो, न कम्युनियन र कन्फर्मेसनजस्ता रीतिरिवाज हुन्थे। न त हामीले धार्मिक प्रश्नोत्तरी कण्ठ गर्नुपथ्र्याे, न जिससबारे कुनै प्रबन्ध नै लेख्नुपथ्र्याे। समाप्त। धन्यवाद !’

ओ’डी सर मौन छन्। मलाई अनौठो पाराले हेर्छन्। म चिन्तित छु। उनी मौन हुनु भनेको अरूले सासना पाउनु हो। ‘म्याककोर्ट, नढाँटी भन्, यो प्रबन्ध कसले लेखेको हो ? तँ आफैंले लेखिस् कि बाउलाई लेखाउन लाइस् ? ’

‘म आफैंले लेखेको हुँ, सर !’ म भन्छु।

उनी मलाई हेडमास्टरकहाँ लैजान्छन्। मेरो लेखोट देखाउँछन्। हालोरान सर पनि मलाई उस्तै अनौठो पाराले हेर्छन् र उही सवाल गर्छन्, ‘यो तँ आफैंले लेखेको होस् ? ’

‘हो, सर।’

त्यही दिनदेखि म छ कक्षामा उक्लन्छु।

मलाई थाहा छैन- मैले के लेखेँ ? राम्रो लेखेँ कि नराम्रो लेखेँ ? तर, त्यस लेखोटले मलाई आफूभन्दा कान्छो भाइसँग पढ्नुपर्ने बाध्यताबाट मुक्ति दिलायो। फेरि आफ्नै पहिलेका साथीभाइसँग पढ्न पाएको छु।

०००

आमा बाबासित भन्छिन्, ‘छोराहरूको जुत्ता फाटेर लाउनै नहुने भइसक्यो।’

बाबा भन्छन्, ‘म मर्मत गरिदिऊँला।’

‘तिमी निकम्मा छौ। तिमीबाट कुनै काम हुँदैन।’

अर्को दिन बाबा साइकलको थोत्रो टायर ल्याउँछन्। मलाई छिमेकी काकी ह्याननकहाँ हम्मर माग्न पठाउँछन्। चक्कुले टायरलाई टुक्रा-टुक्रा पार्छन्, जुत्ताको तलुवा र कुर्कुच्चामा टाँस्न मिल्ने गरी। किला ठोकेर फाटेका ठाउँमा टायरका टुक्रा खापिदिन्छन्। हाम्रा जुत्ता अनौठा र भद्दा देखिन्छन्। आमालाई बाबाको मर्मत ठ्याम्मै मन पर्दैन। उनी यसै पनि बाबालाई निकम्मा ठान्छिन्। ‘बरु यत्तिके छोडिदिएको भए थोत्रै भए पनि छोराहरूले इस्टरसम्म लाउन पाउँथे’, उनी भन्छिन्, ‘तिमीले जान्ने पल्टिएर हुँदाखाँदाका जुत्ता बिगारिदियौ।’

मालाकी र म बाबाले मर्मत गरेको जुत्ता लगाई हेर्छौं। तलुवामा थपेको टायरको वर्गाकार टुक्राले हाम्रो उचाइ बढाइदिएको छ। जुत्ता लगाएर हिँड्न मुस्किल हुन्छ। सन्तुलन बिग्रिएर लरखराउँछौं। हम्मर पुर्‍याउन जाँदा मेरो हिँडाइ देखेर ह्यानन काकी मुच्र्छा परेर हाँस्छिन्। ‘यस्ता नौला जुत्ता त मैले देखेकै थिइनँ’, उनको हाँसो थामिँदै थामिँदैन। म लाजले भुतुक्क हुन्छु। यस्तो भद्दा र हाँसउठ्दो जुत्ता लगाएर भोलि स्कुल कसरी जानु ?

बाबा हामीलाई ढाडस दिन्छन्, ‘तिमीहरूको स्कुलमा खाली खुट्टा आउने केटाहरू पनि छन्। पुरानै भए पनि तिमीहरूसँग एक जोर जुत्ता त छ। यसका निम्ति तिमीहरूले ईश्वरलाई धन्यवाद दिनुपर्छ।’

हामी स्कुल जाँदै छौं। जुत्ताको तलुवा र कुर्कुच्चामा थपिएको टायरले हामी केही इन्च अग्ला भएका छौं। दाजुभाइ विचित्र तालले हिँडिरहेका छौं। साथीहरू हामीलाई हेरेर हाँस्छन्। जिस्क्याउँछन्। ‘यस्ता शानदार जुत्ता हामीले कहिल्यै देखेका थिएनौं’, उनीहरू भन्छन्, ‘दुई-चार इन्ची अग्लो हुँदा मज्जै आउँदो हो, होइन त फ्य्रांक ? कि कसो मालाकी ? ’

मेरो कक्षामा छ-सात जना छन्, नांगो गोडा हिँड्ने। अरूले जिस्क्याए पनि उनीहरू मलाई केही पनि भन्दैनन्। टायर गाँसेको जुत्ता लगाउनु ठीक कि खाली खुट्टै हिँड्नु ठीक ? म निधो पाउँदिनँ। बरु खाली खुट्टा हुँदा कक्षाका अरू खालीखुट्टे साथीहरूको साथ पाइन्थ्यो।

साथीहरूको घोचपेच म सहन सक्दिनँ। स्कुलको चौरमा रहेको बेन्चमा बसेर जुत्ता फुकाल्छु। नांगो गोडा कक्षामा छिर्छु। थोप्ले मास्टरलाई थाहा छ- म खाली खुट्टे परिवारको मान्छे होइन। जुत्तावाल परिवारको छोरा हुँ। उनी मलाई जुत्ता लगाएर आउन अह्राउँछन्। म बेन्चमा छोडिराखेको जुत्ता लगाएर फर्कन्छु।

‘यो स्कुलमा के भइरहेको छ, हँ ? अरूको दुर्भाग्यमाथि किन उपहास भइरहेको छ ? अरूलाई ठट्टामा उडाउँदा खूब मज्जा आउँछ, हैन ? यो कक्षामा आफूलाई परिपूर्ण ठान्ने कोही छ ? छ भने हात उठाओ !’ ओ’निल सरको आवाज डरलाग्दो छ।

कसैले हात उठाउँदैन।

‘जुत्तामा टन्न पैसा खर्च गर्न सक्ने धनी परिवारको छोरो कोही छ भने त्यसले हात उठाओस् !’ सर कड्किन्छन्।

कुनै हात उठ्दैन।

‘यो कक्षामा त्यस्ता केटाहरू छन्, जो थोत्रो जुत्ता जसोतसो टालटुल पारेर लगाउँछन्’, सर भन्छन्, ‘अनि, यो कक्षामा केही यस्ता केटा पनि छन्, जसको जुत्ता छैन। जुत्ता नहुनु उनीहरूको गल्ती होइन। जुत्ता नहुँदैमा लाज मान्नु पर्दैन। हाम्रा परमेश्वरको पनि जुत्ता थिएन। उनी खाली खुट्टै लिएर शूली चढेका थिए। शूली चढ्दा जिससले जुत्ता लगाएका थिएनन्। तिमीहरूले क्रसमा टाँगिएका जिससलाई जुत्तामा ठाँटिएको देखेका छौ ? कि देखेका छौ ? ’

‘छैनौं, सर।’

‘जिससले के गरेको देखेका छैनौ रे ? ’

‘क्रसमा जुत्तामा ठाँटिएको देखेका छैनौं, सर।’

‘आइन्दा म्याककोर्टलाई जसले जिस्क्याउँछ, त्यसले लट्ठी खान्छ। के खान्छ रे, केटा हो ? ’

‘लट्ठी, सर।’

अब हामी दाजुभाइ टायरवाला जुत्ता लगाएर निर्धक्क हिँड्न पाउँछौं। लिमिज हाइस्कुलका कसैले हामीलाई जिस्क्याउने दुस्साहस गर्दैनन्।

अनुवाद : विनोदविक्रम केसी

@binodbikramkc


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.