प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउन प्रस्ताव दर्ता
हेटौंडा : प्रदेश ३ को राजधानी काभ्रे हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । शनिबार विवेकशील साझाका सांसदले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन् ।
विवेकशील साझाका सांसद रमेश पौडेलले दर्ता गराएको प्रस्तावमा सांसद शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहेका छन् ।
शनिबार नै सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले हेटौंडालाई राजधानी बनाउने प्रस्ताव दर्ता गर्दैछन् । प्रदेशसभामा नेकपा र कांग्रेसको सहमतिपछि प्रदेश राजधानी हेटौंडा हुने पक्का भइसकेको छ ।
बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन्। राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहरूमा तीव्र मतभेद थियो।