संसार चहार्दै ‘टुकटुक घर’

संसार चहार्दै ‘टुकटुक घर’

‘तपाईंको घर कहाँ हो ? ’ भनेर कसैले सोध्दा तपाईंको प्रतिक्रिया कस्तो हुन्छ ? धेरैले, धेरैलाई सोधिने यो साझा प्रश्न सिल्भन तिहोनका लागि भने ‘मूर्ख जिज्ञासा’ लाग्ने रहेछ ! र ‘एउटा ठूलो प्रश्न’ पनि।

सिल्भन तिहोन, बेल्जियमका नागरिक हुन्। जो एउटा सिंगै घर बोकेर संसार डुल्दैछन्। जापानबाट आर्किटेक्चरमा मास्टर्स ग्य्राजुएटेड सिल्भनलाई धेरै वर्षसम्म ‘घर कहाँ हो ? ’ र 'घर भनेको के हो ?' भन्ने प्रश्नले पछ्याइरहेछ।

त्यसो त, २७ वर्षको उमेरसम्म उनले धेरै ठाउँलाई आफ्नो घर ठानिरहे। यो अवधिमा धेरैजसो समय उनले जाम्बिया, बेल्जियम र रुवान्डामा बिताए। उनकी आमा बेल्जियममा छिन्। धर्मबाबुचाहिँ जाम्बियामा।

दुई वर्षअघि आमालाई घुम्न जान्छु भनेर सोधेछन्। आमाले भनिछन्, ‘जान त जाऊ, तर मलाई पनि लैजाऊ !’ सिल्भन आफैंलाई थाहा थिएन, कहाँ जाने भनेर। खासै योजना पनि थिएन। लामो यात्रा गर्न सवारी साधनको खर्च पनि उनका लागि चुनौती थियो। कार महँगो हुन्थ्यो, बाइक असुरक्षित।

थाइल्यान्ड आइपुग्दासम्म उनले धेरै ठाउँमा धेरै पटक देखेको साधन थियो, टेम्पो। अर्थात् टुकटुक। यही टुकटुक सिल्भनको सहयात्री बनेको छ अचेल। उनै यायावर थाइल्यान्डबाट मलेसिया, म्यानमार, बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका छन्।

यहाँबाट उनी भारत हुँदै पाकिस्तान, चीन, किर्गिस्तान, ताजकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, अजरबैजान, जर्जियासहित १७ देश छिचोलेर बेल्जियम पुग्दैछन्। यो यात्रा करिब दुई महिनापछि सुरु हुनेछ। यसरी बेल्जियम पुग्न उनलाई थप एक वर्ष लाग्नेछ।

‘क्रेजी’ सपना बोकेर हिँडेका यी विदेशीको संघर्षपूर्ण यात्रा रोमाञ्चक त होला नै, कठिन पनि छ। टुकटुक बनाउनकै लागि उनलाई तीन महिना लागेको थियो। यसमा एक हजार डलर जति खर्च नै भएछ। सिल्भनले ‘स्पोन्सर’को सहायताबाट ६ सय डलर जतिमै टुकटुक निर्माण गरे। थाइल्यान्डमा यो टुकटुक निर्माण गर्दा अरू तीनजना साथीले पनि साथ दिएका थिए रे। थाइल्यान्डबाटै सुरु भएको उनको संघर्ष यात्राको बेला पनि टुंगिएको छैन।

सिल्भन सुनाउँछन्, ‘म्यानमारको एउटा पहाडमा एक साँझ ठूलो पानी परेको थियो। त्यसै बेला म पनि त्यहाँ पुगेको थिएँ। एउटा गाउँबाट अर्को गाउँ पुग्न चार किलोमिटर हिँड्नुपथ्र्यो। मचाहिँ ती दुई गाउँको बीचमा थिएँ। ठ्याक्कै टुकटुक बिग्रियो। टुकटुक नबनिसक्दै साँझ पर्‍यो। केही बेरपछि त गाउँका केटाकेटी त्यहाँ आएर रमाउन थाले। मलाई देखेर सबै दंग परे। उफ्रिन थाले। मैले सहयोग मागेँ तर अंग्रेजी बुझ्ने कोही थिएनन्।’

त्यस्तै जटिल बाटा काट्दै सिल्भनको टुकटुक यति बेला काठमाडौंको ठमेलस्थित एउटा होस्टेलमा आएर रोकिएको छ। त्यसो त, टुकटुकलाई एक देशबाट अर्को देश छिराउन झनै कठिन हुने रहेछ। करदेखि अनेक कागजात मिलाएर सीमा पार गराउनु आफैंमा जटिल प्रक्रिया हो।

यो टुकटुकलाई म्यानमारको सीमा पार गराउन मात्रै सिल्भनले तीनपटक प्रयास गर्नु परेछ। ‘खासमा म यति बेला स्पोन्सरको खोजीमा काठमाडौंमा छु। टुकटुकको टायर, इन्जिन र टेन्ट फेर्नुपर्नेछ।’

दुई वर्षको दौडाइमा अब त यो टुकटुकसँग सिल्भनको आत्मीय सम्बन्ध गाँसिएको छ। उनी टुकटुकलाई सवारी साधनसँगै एउटा घरको रूपमा चिनाउन पनि चाहन्छन्। वर्षौंदेखि घोचिरहने घरको प्रश्नको जवाफ सिल्भनको यही टुकटुकभित्रै छ; जहाँ ड्राइभरको सिटको ठ्याक्कै पछाडिपट्टि काठको लामो टेबुल जडान गरिएको छ। टेबुलको बायाँपट्टि स्टोभ राखेर पकाउने ठाउँ, दायाँपट्टि थाल अड्याएर खाने ठाउँ।

टेबुलको अर्को भागमा सिट छ, जहाँ ६ जना मुस्किलले अटाउँछन्। बीचको टेबलमा ड्राइभर र प्यासेन्जर दुवैतर्फ बसेर सँगै खान मिल्छ। माथिचाहिँ काठकै पातलो छत छ। छतमाथि र छेउछाउमा टेन्ट र डन्डी। देख्दा र चलाउँदा त यो टुकटुक नै हो। सिल्भनका लागि लगभग एउटा घर, ‘मोबाइल हाउस’।

त्यसो त उनी धेरै रात यही टुकटुकभित्र सिरानी हालेर सुतेका छन्। सिट र काखमा समेत बस्दा १५ जनासम्म अटाउँछन् यहाँ। सिल्भनलाई थाहा छैन, संसारमा घर नहुने मान्छे कति छन् ? तीमध्ये जोखिमपूर्ण जीवन बिताइरहेका बालबालिकासँग आफ्नो यो सपना साझा गर्न चाहन्छन्।

अबको एक वर्षमा बेल्जियम पुग्ने योजनामा छन् सिल्भन। ‘बेल्जियम पुगेपछि त रुन्छु होला म !’, उनले भने, ‘त्यसपछिको यात्रा जाम्बियाका लागि हुनेछ। जाम्बिया पुगेपछि त चिच्याएर उफ्रिन्छु !’

कंगो र जिम्बाब्वेको बीचमा पर्ने अफ्रिकी मुलुक जाम्बियामा सिल्भनले बाल्यकालका ११ वर्ष बिताएका थिए। त्यहाँ उनका धर्मबाबु सिल्भनको पर्खाइमा छन्। एउटा सानो गाउँमा उनले थुप्रै गाई पालेका छन्। तीमध्ये एउटा गाई पछिल्लो पटक सिल्भन त्यहाँ पुगेका बेला उपहार दिएका थिए।

‘एउटा गाई मलाई उपहार भन्दै जिम्मा लगाइदिनुभयो। त्यस बेला त खुसी नै लाग्यो। तर अहिले त्यो गाईका थुप्रै सन्तान भइसकेका छन्। ती सबै मैले सम्हाल्नु पर्नेछ’, सिल्भनले सिनाए।

त्यही बाल्यकालको रमाइलो गाउँसम्म पुग्न उनले अझै पाँच वर्ष यही टुकटुकबाट गुड्नुपर्नेछ। जहाँ पुगेपछि घरबारविहीन अफ्रिकी बालबालिकालाई समेटेर एउटा ‘आर्किटेक्ट स्कुल’ खोल्ने सपनामा छन् उनी। जहाँ जोखिमयुक्त जीवन भोगिरहेका धेरै बालबालिकालाई सिल्भन यस्तै दौडने घर बनाउन सिकाउन आतुर छन्। यही संघर्षको यात्रा सुनाउन आतुर छन्।

यसबीचमा सिल्भन टुकटुक यात्राका लागि आवश्यक कागजात बनाइसकेका छन्। केही अन्तर्राष्ट्रिय मिडियाले उनको यात्राबारे लेखेका छन्। पत्रकार र अन्य सहयोगीसँग उनी यही ‘टुकटुके घर’भित्रै बसेर कुरा गर्न रुचाउँछन्।

यसपटक ठमेलको साँघुरो गल्ली हुँदै पुगिने कालधाराको एउटा होस्टेलमा उनको टुकटुक पार्किङ भएको छ। हिँड्नुअघि मोबाइलमा खिचेका केही तस्बिर पाँच वर्षपछि अर्थात् जाम्बियामा पुगेर थकाइ मारिरहेका बेला पठाइदिन आग्रह गरे। #TukTuk

@poudelraman2


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.