छोरोसँगै जले बुढेसकालका सपना

छोरोसँगै जले बुढेसकालका सपना

थाक्रे (धादिङ) : २१ वर्षका सन्तोष कार्की बाआमालाई घर गुजारामा सघाउन थालेका थिए। छोरो हुर्केर काम गर्न थालेपछि थाक्रे गाउँपालिका-२ घलेगाउँ कार्कीटोलका सरस्वती कार्की र शरण कार्कीले बुढेसकालको सहारा सम्झिँदै थुप्रै सपना बुनेका थिए। तर एकाएक लक्काजवान छोराको जलेको अवस्थामा शव फेला परेपछि कार्की दम्पतीको सपना पनि छोरासँगै जलेका छन्।

छोरा गुमाउनु पर्दा आमा सरस्वतीको पीडा खपिनसक्नुको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ, न रातमा निन्द्रा। कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन्। 

घटना गत मंसिर २४ गतेको हो। मिलमा गएका आमा तथा खेतमा गएका बुबा र बहिनी बेलुकी मात्रै घर आए। त्यतिबेला छोरा घरमा थिएन। छरछिमेकमा गयो होला भनेर त्यति खोजी पनि गरेनन्। रात बढ्दै गयो छोरा घर नफर्किएपछि छरछिमेकमा खोजी गरियो तर भेटिएन। आफन्त, साथीभाई सबैतिर खोजी भयो तर छोराको अत्तोपत्तो लागेन। 

हराएको १५ दिनपछि पुष ९ गते घर नजिकै जंगलमा आधा जलेको अवस्थामा सन्तोष कार्कीको शव भेटियो। गाउँका बालबालिका खेल्न गएको बेला थाक्रे गाउँपालिका-२ गणेशथान नजिकैको जंगलमा जलेको अवस्थामा सन्तोषको शव भेटिएपछि आमा र बुबा बेहोसजस्तै बने। रुवाबासी चल्न थाल्यो। चिन्नै नसक्ने गरी जलेको शव आमाले हेर्न सकिनन्।

घटना भएको १ महिनापछि पनि सन्तोषको घर पुग्दा आमा सरस्वतीका आँखा ओभाना थिएनन्। भक्कानिँदै सरस्वतीले भनिन्, ‘मेरो छोराले कसैको केही बिराएको थिएन, किन र कसरी हामीले यो नियती भोग्नु पर्‍यो ?, छोरा अब आउँदैन भन्ने विश्वासै लागेको छैन। छोराले आँफै त्यसो गर्नै सक्दैन, कसैले मारेर आगो लगाइदिएको हो।’

न्यायको पर्खाइमा कार्की परिवार

बुवा शरण कार्कीका अनुसार सन्तोष चार वर्ष अघिदेखि गाडी लाइनमा सह चालकको रुपमा काम गर्थे। डेढ वर्षअघि गाडी लाइनमा हिँड्दा सामान्य झगडा हुँदा अर्को ट्रकका मानिसहरु आएर कुटपिट गर्न थालेपछि भागेर ज्यान बचाएका थिए। गएको दशैँ यताबाट आमाबुबासँग घरमा बस्दै आइरहेका सन्तोषको एकाएक जलेको अवस्था शव फेला परेको थियो। 

बुवा शरण भन्छन्, ‘कतै छोरा आइहाल्छ कि भन्ने लाग्छ तर के गर्नु मरेर गएको छोरा फर्किने आश त छैन तर जसले मेरो छोरालाई यो हालतमा पुर्‍यायो उसले सजाय पाएको हेर्न पाए थोरै भए पनि आँसु थामिन्थ्यो।’

घटना भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा आए र मुचुल्का उठाएर काठमाडौं स्थित टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि सन्तोषको शव लगियो। पोष्ट मार्टम रिर्पोटमा पनि अस्पतालले मारेर आगो लगाइएको पुष्टि गरेको सन्तोषका बुबा शरणले बताए। 

‘मेरो छोराको ज्यान लिएर मेरो बुढेसकालको सहारा खोस्ने को होला ?’, शरणले भने, ‘जो सुकै होस् हत्याराले सजाय नपाइ मेरो छोराको आत्माले शान्ति पाउँदैन।’

प्रहरीले घटना भएदेखि निरन्तर अनुसन्धान मात्रै गरिरहेको छ। हत्यारा चाडै पत्ता लाग्ने आश्वासन प्रहरीले दिइरहेको छ। तर यति लामो समय हुँदा पनि हत्यारा पत्ता नलाग्दा कतै न्याय नै नपाउने हो कि भन्ने चिन्ता लागिरहेको कार्की दम्पतीले बताए। 

यता जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रूपक खड्काले भने घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। प्रहरीहरुले सुचना संकलन गर्ने काम गरिरहेको र घटनासँग सम्वन्धित पक्षहसँग सोधपुछ तथा अनुसन्धान भइरहेकाले चाडै नै सन्तोष कार्कीको बास्तविक अवस्थाबारे टुङगोमा पुगिने खड्काले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.