फरार अभियुक्त पक्राउ गर्दै सीआईबी

फरार अभियुक्त पक्राउ गर्दै सीआईबी

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ महिनामा १४ वटा मुद्दाका फरार ६६ अभियुक्त पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५८ पुरुष र ८ महिला छन्। अदालतको फैसला कार्यान्वयन इकाईको पत्राअनुसार सीआईबीले फरार अभियुक्त पक्रँदै आएको छ। ०७५ कात्तिकदेखि पुस अन्तिम सातासम्म सीआईबीले पक्राउ गरेका फरार अभियुक्तको जेल सजाय र जरिवाना धेरै छ। ६६ अभियुक्तले बस्नुपर्ने जेल सजाय नै १ सय ७९ वर्ष २ महिना २६ दिन छ। उनीहरूले तिर्नुपर्ने जरिवाना कुल रकम जोड्दा २२ करोड ३ लाख ८६ हजार ६ सय ३० रुपैयाँ ३ पैसा छ।

सीआईबीका एसपी आभूषण तिम्सिनाका अनुसार फरार हुने धेरै अभियुक्त ठगीका छन्। १४ महिनामा पक्राउ परेकामध्ये १४ जना ठगी मुद्दाका छन्। ठगीपछि वैदेशिक रोजगार ठगी, बैंकिङ कसुर र चोरी मुद्दाका फरार अभियुक्त धेरै पक्राउ परेका छन्।

सीआईबीले नेपालमा मात्र होइन अमेरिकामा समेत गम्भीर अपराध गरेर फरार अभियुक्त पक्राउ गरेको छ। गत भदौ १८ गते गोंगबुबाट पक्राउ परेका माकोस्की नाथन वेडफोर्ड अमेरिकी हुन्। बाल यौन दुव्र्यवहारको अभियुक्त अमेरिकाबाट आएर लुकीछिपी बस्दै आएका थिए। उनले ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप छ। अमेरिकाले इन्टरपोलमार्फत उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। प्रहरीले अमेरिकामै बुझाउन उनलाई अध्यागमन विभाग बुझाएपछि उनी अहिले अमेरिकी कानुनअनुसार सजाय भोग्दै छन्।

एसपी तिम्सिनाका अनुसार जबर्जस्ती करणी मुद्दामा १२ वर्ष कैद ठेकिएका सुनसरी धरानका मोटे विश्वकर्मा भनिने भीमबहादुर विश्वकर्मालाई सीआईबीले घटनाको १३ वर्षपछि पक्राउ गरिएको छ। ०६२ भदौ २५ गते धनकुटाबाट खुर्सानी बिक्री गर्न धरान आएका दुई नाबालिकालाई मोटेसहितका पाँच जनाले मूलघाट तमोरसम्म पुर्‍याइदिने बहानामा टेम्पो चढाएका थिए। धरान-धनकुटा सडकखण्डको एकान्तस्थल आँपगाछी पुगेपछि जंगलमा लगेर सामुहिक बलात्कार गरेको अभियोगमा उनीहरू फरार थिए। जिल्ला अदालत सुनसरीले ०७१ पुस १७ गते पाँचै जनाविरुद्ध १२ वर्षको कैद सुनाएको थियो। सीआईबीले मोटेलाई गत कात्तिक १५ गते सुनसरीको इनरुवामा लुकेर बसेका बेला पक्राउ गरेको हो।

सीआइबीले कर्तव्य ज्यान मुद्दामा फरार भएका सुनसरीको बराह क्षेत्र ठाकुरबारीबाट राजेन्द्र राईलाई पक्राउ गर्‍यो गत कात्तिक १७ गते। ०५२ कात्तिक ४ साँझ सुनसरी प्रकाशपुरमा उदयपुर कोसीटप्पु बस्ने राईले सोही स्थान बस्ने नर्सरीमा काम गर्ने नारायण शाहलाई मुक्का र लठ्ठीले हिर्काइ हत्या गरेको अभियोग थियो। काठ तस्करी गर्ने राईको सूचना शाहले अरुलाई चुहाएको भन्दै रिसमा कुटपीट गर्दा मृत्यु भएको थियो। राईविरुद्ध ०६२ चैत ५ मा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

राईपछि जन्मकैद फैसला भएका अर्का फरार अभियुक्त झापा चन्द्रगढीका लिलाराज गौतमलाई सीआईबीले इन्टरपोलको सहयोगमा अमेरिकाबाट पक्रन सफल भयो। फैसलापछि उनी अमेरिकाको मयामीमा लुकेर बस्दै आएका थिए। ०५७ असोज २९ गते राति ८ बजे गौतमसहितका व्यक्तिले सन्ध्या राजवंशीलाई घरमा बोलाएर बलात्कारपछि हत्या गरेर रुखमा झुन्ड्याएर भागेका थिए।

‘हामीले पक्राउ गरेमध्येका यी केही ठूला घटनाका फरार अभियुक्त हुन्,’ एसपी तिम्सिनाले भने, ‘अदालतको फैसला कार्यान्वयन इकाइको पत्रानुसार हामीले विशेष टोली परिचालन गरेर फरारको खोजी गरिरहेका छौं।’


मुद्दा पक्राउ संख्या                   कैद

कर्तव्य ज्यान ४                 ६५ वर्ष

जबर्जस्ती करणी ४            २४ वर्ष ५ महिना १ दिन

ठगी १४                   ७ वर्ष २ महिना

बैंकिङ कसुर ९            ७ वर्ष ३ महिना १० दिन

वैदेशिक रोजगार ठगी ११      २१ वर्ष

लागुऔषध २            ३ वर्ष ७ महिना

चोरी ९                १५ वर्ष ९ महिना १५ दिन

सवारी ज्यान ३          साढे ४ वर्ष

वन्यजन्तु २          १० वर्ष

सरकारी छाप दस्तखत किर्ते २  साढे ४ वर्ष

मानव बेचबिखन       २ मुलतबी

अपहरण तथा शरीर बन्धक १   ९ वर्ष

बहुविवाह १       २ वर्ष

स्रोत : सीआईबी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.