बौद्धस्थलबारे सूचना खै ?

बौद्धस्थलबारे सूचना खै ?

भैरहवा : बुद्धजन्मस्थल लुम्बिनी आउने अधिकांश पर्यटकलाई बुद्धसँग सम्बिन्धत अन्य स्थलबारे जानकारी नहुने गरेको पाइएको छ। यहाँ आएका अधिकांश पर्यटकलाई बुद्धको घर तिलौराकोट, मावली देवदह र अष्टघातु रहेको राम्रगामको विषयमा कुनै जानकारी हुँदैन।

लुम्बिनीमा बौद्धस्थलको परिचय दिने सूचना प्रणाली कमजोर भएका कारण पर्यटक मायादेवी मन्दिर घुमेर मात्रै फर्किने गरेका छन्। ‘खै यी स्थल कहाँ छन् मलाई थाहा छैन’, लुम्बिनीमा भेटिएका लन्डनका पर्यटक क्रिस रिग्लेसफोर्डले अन्नपूर्णसँग भने, ‘कतै पनि यी स्थलबारे पूर्ण जानकारी राखिएको पाइएन।’

मायादेवी मन्दिर अगाडि यी स्थलको नाम र तस्बिर अंकित बोर्ड मात्र राखिएको छ। जसमा पूर्ण जानकारी नहुँदा पर्यटक अनविज्ञ छन्। लुम्बिनी आएका पर्यटक तिलौराकोट, देवदह र राम्रगाम नजाने गरेको त्यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका छन्।

लुम्बिनी आउन यातायात व्यवस्था राम्रो नरहेको पर्यटकको गुनासो छ। सडकको अवस्था पनि सुधार गर्नुपर्ने उनीहरूको सुझाव छ। लन्डनमा सेफको काम गर्ने रिग्लेसफोर्डले लुम्बिनी राम्रो रहे पनि यहाँ मूल्य अनुसार खान, बस्न सुविधा नरहेको गुनासो गरे।

लुम्बिनीमा केही होटल व्यवस्थित रहे पनि अधिकांश अव्यवस्थित छन्। होटल व्यवसायीले चर्को मूल्य लिने गरे पनि त्यसअनुसार सुविधा भने नदिने गरेको पर्यटकको गुनासो छ। यता पर्यटन व्यवसायीले लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन नसकेकोमा सरकारको आलोचना गर्दै आएका छन्।

बुद्धसगँ सम्बन्धित स्थलबारे लुम्बिनीमा सूचना प्रवाहको कमी देखिएको बताउँदै उनले मायादेवी मन्दिर क्षेत्रमा सबै स्थलको पूर्ण जानकारी पाउनेको व्यवस्था हुनुपर्ने सुझाव दिए। उनले सरकारले २०२० लाई भ्रमण वर्ष घोषणा गरेको विषय केहीले जानकारी गराएको बताए।

त्यस्तै इटालीकी एलेसस्यान्ड्राले आफू लुम्बिनी भ्रमण आउनुअघि धेरैले लुम्बिनी नजान आग्रह गरे पनि लुम्बिनी राम्रो रहेको बताइन्। लुम्बिनीमा बालबालिकाले पर्यटकसँग भिक्षा माग्नु राम्रो पक्ष नभएको उल्लेख गर्दै यसलाई सम्बन्धित निकायले रोक्नुपर्ने सुझाव दिइन्। ‘बालबालिकाले यहाँ भिक्षा माग्छन् त्यो राम्रो पक्ष होइन्’, उनले भनिन्, ‘नेपाल सुन्दर छ, भारत जस्तो गराउनु भएन।’

पोखरामा भेटघाटका लागि नेपाल आएको बताउने उनले नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाइरहेको अभियानबारे आफूलाई कुनै जानकारी नभएको बताइन्। उनले पनि छिमेकी बौद्धस्थलबारे अनविज्ञता प्रकट गरिन्।

दोस्रो पटक लुम्बिनी आएका रसियाका इभगेन माक्सिनले पाँच वर्षको अन्तरालमा लुम्बिनी खासै परिवर्तन नदेखेको बताए। आफ्नो बहिनी म्यारिना रोमानेन्कोको साथ भेटिएका उनले यहाँ खान, सुत्न र यातायातको समस्या रहेको बताए। बास बसेको होटलमा हिटर, तातो पानीलगायत कुनै सुविधा नरहेकोमा गुनासो पोखे।

बुद्धसँग सम्बन्धित अन्य स्थलबारे आफूलाई कुनै जानकारी नगराइएको र कतै सूचना नदेखिएकाले आफूलाई छिमेकी स्थलबारे जानकारी नरहेको बहिनी म्यारिना रोमानेन्कोले बताइन्। उनले यहाँभन्दा बढी पर्यटक बोधगयामा जाने गरेको बताइन्। गुम्बा, मन्दिर क्षेत्रमा सरसफाइ रहे पनि बाहिर धेरै फोहोर रहेको माक्सिनले बताए। उनले आफ्नो मुलुकमा प्रत्येक शनिबार सबैले सरसफाइ गर्ने गरेको अनुभव सुनाउँदै यहाँ पनि सबै मिलेर लुम्बिनीलाई सफा राख्न आवश्यक रहेको सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.