आगो निभाउन पाइपलाइन परीक्षण

आगो निभाउन पाइपलाइन परीक्षण

काठमाडौं : काठमाडौं महानगरपालिकाले साइरन बजाउँदै अकस्मात दमकल शनिबार बिहान जनबहाल चोकमा दौडाएर ल्यायो। त्यहीँ रोकिए। चोकबाट करिब सय मिटरभित्र अग्लो घरको चौथो तलामा आगो लागिरहेको थियो।

अग्नि नियन्त्रकले मांसगल्लीको मुखैमा छेउमा भएको फलामे पाइपमा दमकलको पाइप जोडे। अगाडि रहेको गल्लीमा भएको ड्राइराइजर (पाइप जोड्ने ठाउँ) मा पाइप जोडियो। यति गरेपछि दमकलमा भएको पानी सय मिटर परको अर्काे चोकमा पुग्यो। पाइपमार्फत आएको पानीको प्रयोग गरेर दमकल चालकले घरको चौथो तलामा लागेको आगो निभाए। आगो निभाउन पाइप चौथो तलासम्मै पाइप पुर्‍याइएको थियो। आगो समयमै नियन्त्रण भयो।

आगलागीका क्रममा आगोबाट घाइते भएका बिरामीलाई अग्नि नियन्त्रकहरूले उद्धार गरेका थिए। उद्धार गरिएका बिरामीलाई भुइँमा पुर्‍याएर प्राथमिक उपचार गरिएको थियो। प्राथमिक उपचारपछि स्टे«चरमा राखेर चोकमा निकालिएको थियो। चोकमा एम्बुलेन्स तयार थिए। बिरामीलाई त्यही एम्बुलेन्समा राखेर थप उपचारका लागि अस्पताल पठाइएको थियो। तर यो सबै घटना वास्तविक भने थिएन। महानगरपालिकाले वडा नं. २५ को मांसगल्लीमा दमकल नछिर्ने ठाउँमा आगो नियन्त्रण गर्न पाइप बिच्छाइएको थियो। जसको परीक्षण महानगरले यस्तो नाटकीय ढंगबाट गरेको हो। परीक्षण गर्दा वरपरका स्थानीयले पनि आफ्नो घरबाट हेरिरहेका थिए। महानगरपालिकाले आगो नियन्त्रण गर्न मांसगल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ््याइएको चार इञ्चको फलामे पाइपको सफल परीक्षण गरेको छ। करिब दुई सय मिटर दूरीमा बिच्छाइएको पाइपमा आठ ठाउँमा ड्राइराइडर राखिएको छ। जसबाट आगो नियन्त्रणका बेलामा पाइप जडान गर्न सकिन्छ।

पाइप नेपाल रेडक्रस सोसाइटी, वडा नं. २५ को विपत् व्यवस्थापन तथा नागरिक सुरक्षा समिति र अन्य संघसंस्था र उपभोक्ताको संयुक्त सहयोगमा बिच्छ्याइएको हो। पाइपलाइन कुल नौ लाख ४० हजार ६ सय १२ रुपैयाँ लागतमा बिच्छाइएको महानगरले जनाएको छ। जसअन्तर्गत नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रम (सियोर) को ५ लाख रुपैयाँ, वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट २ लाख रुपैयाँ र अन्य संघसंस्था र उपभोक्ताको २ लाख ४० हजार ६ सय १२ रुपैयाँ खर्च भएको छ।

पाइप लाइन परीक्षण कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले विपद् क्षति न्युनीकरण र विपद् व्यवस्थापन महानगरको उच्च प्राथमिकताको काम भएको बताए। यसका निम्ति नीति बनाएर काम गरेको उनले जानकारी गराए। ‘दमकल पुग्ने ठाउँ र दमकल पुग्न नसक्ने दुवै ठाउँको आगो नियन्त्रण गर्न छुट्टाछुट्टै नीतिअन्तर्गत काम भइरहेको छ’, उनले भने, ‘विपद् व्यवस्थापनका लागि थप दमकल खरिद प्रक्रियासमेत अगाडि बढाएका छौं।’

महानगर विपद्का समयमा आवश्यक पर्ने सामाग्री तथा उपकरणलाई वडास्तरमा भण्डारण गर्ने योजनामा रहेको उपप्रमुख हरिप्रभा खड्गीले बताइन्। पाइपलाइन विस्तार कार्यक्रमलाई भित्री सहरी क्षेत्रमा क्रमशः लैजानु पर्ने वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्यले बताए। ‘यस प्रणालीलाई अब क्रमशः अन्य भित्री सहरी ठाउँमा पनि विस्तार गर्दै लैजानुपर्छ’, उनले भने, ‘सबै गल्लीमा दमकल जान नसक्ने भएकाले यसको महत्व धेरै छ।’

समुदायलाई सुरक्षित बनाउन नेपाल रेडक्रस सोसाइटी महानगरसँगको साझेदारितालाई बलियो बनाउन तयार रहेको नेपाल रेडक्रस जिल्ला शाखाका सभापति मथुराम श्रेष्ठले बताए। परीक्षण गरिएको अग्नि नियन्त्रण पाइपलाइनको उपलब्धि हेरेर थप कार्यक्रम गर्न रेडक्रस तयार रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.