मिथ्याले सत्य छोप्न सकेन
यहाँ विदेशीको निर्देशनमा कयौं नाटक मञ्चन भए । ढोंगीहरूले सत्य छोप्ने प्रपञ्च रचे । पछिल्लो राजनीतिक परिवर्तनपछि उनको विषयमा नानाभाँती भ्रम छरिए । अग्रगमनका नाममा इतिहासको हुर्मत लिने काम भयो । अन्ततः सत्य शाश्वत हुन्छ । अचेल नागरिकस्तरमा यथार्थ पुनर्जागरण भएको छ । पृथ्वीनारायण शाहकै अभियानमार्फत नेपालको जग हालिएको हो ।
प्रजातान्त्रिक हरेक मुलुकमा राष्ट्रिय दिवस उल्लासका साथ मनाइन्छ तर हामीकहाँ पृथ्वीजयन्ती मनाउन छाडिएको छ । फ्रान्सको राज्यक्रान्तिअगावै नेपाल र नेपालीको पहिचान युरोपीय महाद्वीपमा फैलिएको थियो । त्यो शौभाग्य पृथ्वीनारायणकै नेतृत्वबाट हामीलाई प्राप्त भएको हो । उनको निधनपछि केही युरोपियन मुलुकले नेपाललाई स्वतन्त्र देश मान्न तयार भएनन् । बेलायतले भने सहजै नेपालको स्वतन्त्र अस्तित्व स्विकार्यो । यसको मूल कारण गोरखाली सेनाको इमानदारी एवं बहादुरी छवि थियो । जसको निर्माण उनै पृथ्वीनारायणबाट भएको हो । यस प्रकारको धरातलीय यथार्थलाई यहाँ बुझ पचाउने अभिनय गरियो । राज्यले पुस २७ लाई एकता दिवस मनाउन अद्यापि कन्जुस्याइँ गरेको छ, आखिर किन ?
अंगे्रजले पृथ्वीनारायणको राष्ट्र निर्माण अभियान रुचाएको थिएन । एकातिर इस्ट-इन्डिया कम्पनी सरकारको दबदबा थियो भने अर्कोतर्फ राष्ट्रनिर्माण अभियान जसरी पनि सफल पार्ने उनको ध्येय थियो । यस्तो परिस्थितिमा उनले त्यो महान् कार्य प्रारम्भ गरेका थिए । नुवाकोट पराजय व्यहोरेपछि आफू दह्रो हुनुपर्छ भन्ने पाठ सिके उनले । त्यसका लागि गोरखाली जनताको सल्लाहमुताविक जोहो गरेको सम्पत्ति बोकी उनी भारत पुगे । भारतबाट हतियार खरिद गरि फर्किए । फर्किंदा हतियार मर्मत र सैन्य तालिमका लागि केही मुसलमान कारिगरसमेत ल्याए । उनको अभियान कमजोर बनाउन इसाई पादरीहरूले काठमाडौंमा जयप्रकाश मल्ललाई उक्साइरहेका थिए ।
अंग्रेजको सहयोगविना गोरखालीलाई हराउन सकिँदैन भन्ने जयप्रकाशको ठम्याइँ थियो । त्यसैले उनले आफ्नो दूत भारतको बेतिया पठाए । यो घटनाले अंग्रेजमा उत्साह छायो । कलकत्तास्थित हाइकमिसनले नेपालमा बेलायती प्रभाव जमाउने सही अवसर यही हो भन्ने ठान्यो । अंग्रेजले गोरखाली हराउन पूर्ण सहयोग गर्ने वचन दियो । अंग्रेज हौसिएर पृथ्वीलाई धम्की दियो । मल्लहरूको राज्यबाट पछि हट्नु भन्दै आदेशले भरिएको चिठी लेख्यो । पृथ्वीनारायणले त्यो धम्कीको वास्ता गरेनन् । त्यो घटनाले अंग्रेजलाई असह्य भयो । सन् १७६७ अगस्टमा कप्तान किनलेकको नेतृत्वमा सेनाको ठूलो जत्था नेपाल पठायो । त्यो फौज दरभंगा हुँदै सिन्धुली पुग्यो । त्यहींबाट आक्रमणको निधो गर्यो । यता पृथ्वीले समयमै त्यसको भेउ पाए । पहिला वीरभद्रपछि श्रीहर्ष र वंशराज पाण्डेको नेतृत्वमा गोरखाली पल्टनलाई खटाए । त्यस युद्धमा गोरखाली सेनाको सामुन्ने अंग्रेज सेना टिक्न सकेन । किनलेकका धेरै सेना मारिए ।
सिन्धुली युद्धमा अंग्रेजको नराम्रो हार भयो । किनलेकले पुनः काठमाडौं छिर्ने योजना बनायो । गोरखाली सेनामा जनताको पूर्ण भरोसा थियो । जनसहयोगद्वारा त्यहाँ पनि अंग्रेजको षड्यन्त्र तुहेर गयो । पृथ्वीनारायण देशभक्त एवं जनभावना बुझ्ने कूटनीतिक राजा थिए । युद्धमा जनधनको क्षति न्यून होस् भन्ने चाहन्थे । कतै युद्धबाट त कतै कूटनीतिक तवरले एकीकरण अभियानलाई निरन्तरता दिए । यसै प्रसंगमा पर्सादेखि महोत्तरीसम्मको गुमेको भूमि फिर्ता लिन उनी सधैं प्रयत्नशील रहे । युद्धबाट भन्दा फकाएर लक्ष्य हासिल हुन्छ भन्ने बुझे उनले । त्यसका लागि कूटनीतिक पहल गर्दै दिननाथ उपाध्यायलाई खटाए । दिनानाथले पृथ्वीको सन्देश पटना पुर्याए । उनको प्रस्ताव स्वीकार गरियो । परिणामस्वरूप शान्तिपूर्ण बाटोबाट गुमेको भूभाग नेपालमा मिलाइयो ।
पृथ्वीनारायणले काठमाडौं विजय गरेको कम्पनी सरकारलाई असह्य भयो तर त्यतिबेलासम्म उनी शक्तिशाली भइसकेका थिए । अंग्रेजले उनलाई आफूसँग मिल्न धेरै प्रयत्न गर्यो । उनी प्रभावमा कहिल्यै परेनन् । अंग्रेजलाई नेपालमा खेल्न दिने हो भने भारत र चीन दुवैको हित हुँदैन । त्यस्तो अवस्थामा नेपाल सधैं अस्थिर रहन्छ । यो यथार्थ उनले बुझेका थिए । भोट र अंग्रेज दुवैसँग लड्न सक्ने सामथ्र्य हुँदा पनि उनमा दम्भ थिएन । अंग्रेजी साम्राज्यवादको सिकार हुन नदिँदा मात्र नेपाल स्वतन्त्र रहन्छ भन्ने विश्वास थियो उनको । उनले अंग्रेजसँग मित्रता पनि नगर्ने शत्रुता पनि नसाँध्ने निति अवलम्बन गरे । त्यही नीतिमा उनी पूर्ण सफल रहेको पाइन्छ ।
यो मुलुक पृथ्वीनारायणको नेतृत्वमा निर्माण भएको हो । यथार्थमा पृथ्वीनारायणले देखाएको प्रजातान्त्रिक चरित्र अहिलेका शासकहरूमा देखिएन । बहुसंख्यक नेपालीले राष्ट्रनिर्माणका महानायकको सम्मान चाहेका हुन् । लोकतान्त्रिक भनिएको कुनै सरकारले त्यो नागरिक चाहना पूरा गर्ने आँट देखाएन । पृथ्वीनारायणको प्रजातन्त्रको परिभाषा यस्तो थिएन । उनी त्यो बेला पनि नागरिक समर्थनविना राजा अर्थहीन हुन्छ भन्ने मान्यता राख्थे । त्यसबेला राज्य भनेको राजाको निजी सम्पत्तिसरह मानिन्थ्यो । तर उनले राज्यको भागबन्डा गरेनन् । त्यस्तो युगमा पनि उनले प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शको अनुसरण गरे । कडा परि श्रमले निर्माण भएको राज्य जोगाउनु उनको एकमात्र ध्येय रह्यो । उनले जीवनको अन्त्यतिर राज्य थामिखाने जुक्ति निकाल्न छोराहरूको सल्लाह लिएनन् । बरु गोरखाका मुख्य भारदार र परिवारको सल्लाहमा रहे । राष्ट्रको अखण्डता जोगाउने मार्ग निर्धारण गरे ।
२०४७ सालको संविधानमा पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसमा राखियो । त्यतिबेला पनि नेपाललाई धर्मनिरपेक्ष लेखाउन विदेशीद्वारा पैसाको खोलो बगाइएको हो । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र मदन भण्डारीले त्यसको कडा प्रतिवाद गरे । विदेशीको प्रभावमा पर्नु हुँदैन भन्दै अडान लिए । अन्ततः उनीहरूकै अडानले संविधानमा हिन्दुराष्ट्र लेखिएको थियो । यो वास्तविकता तत्कालीन राजनीतिका अग्रजहरूले उजागर गरेका छन् । पृथ्वीनारायणको समयमा पनि केही विकृति नदेखिएको होइन । स्वार्थी र अहंकारीहरूले विग्रह निम्त्याउन खोजेकै थिए । उनको कार्यकुशलता र क्षमताले खराब प्रवृत्ति निस्तेज भयो । उनको उमेर लडाइँमै बितेकाले शासन सत्ता चलाउने अवसर त्यति प्राप्त भएन । जेजति गरे मुलुक र मुलुकवासीका लागि मात्र गरे । उनको देहवसानपछि उनको नीतिभन्दा फरक ढंगले हिँड्न खोज्दा सुगौली सन्धिको पीडा नेपालीले भोग्नुपर्यो । यसबाट पनि बुझिन्छ कि पृथ्वीनारायण कतिसम्म दुरदृष्टि एवं विवेकशील राजा थिए । तर उनको योगदानलाई मिथ्या प्रमाणित गर्न खोजियो, अन्ततः त्यो असफल भएरै छाड्यो । राष्ट्रका यी धरोहरलाई साँचो अर्थमा सबै नेपाली र सिंगो राज्यले पनि एक दिन यो वास्तविकतामा फर्किनै पर्छ ।
हाइलाइट
साँचो अर्थमा सबै नेपाली र सिंगो राज्यले राष्ट्रका धरोहर पृथ्वीनारायण शाहको योगदानलाई मिथ्या प्रमाणित गर्न खोज्नेहरूले पनि अन्ततः वास्तविकतामा फर्किनै पर्छ ।