प्रदेश ३ : काभ्रे राजधानीको प्रस्तावमा ३ मत
हेटौंडा : ३ नम्बर प्रदेशको स्थायी राजधानी काभ्रेको धुलिखेलमा कायम गरियोस् भन्ने प्रस्तावमा ३ मत प्राप्त भएको छ। प्रदेशसभामा आइतबार बिहान भएको मतदानमा विवेकशील साझा पार्टीको ३ मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए। साझा पार्टीका रमेश पौडेल, शोभा शाक्य र बिराजभक्त श्रेष्ठले काभ्रेको धुलिखेलमा मतदान गरेका हुन्। काभ्रेको विपक्षमा १ सय १ मत परेको छ।
अब स्थायी राजधानी हेटौंडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान हुदैछ। विवेकशील साझाबाहेक अरू दल हेटौंडाको पक्षमा छन्। एक स्वतन्त्र मत तटस्त रहेको छ।
प्रदेश ३ को स्थायी राजधानी तथा नाम टुंगो लगाउन आइतबार बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । प्रदेशको स्थायी राजधानी र नाम प्रस्ताव दर्ता गर्न प्रदेशसभा सचिवालयले शनिबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकेकोमा प्रदेशको नाम बागमती मात्र दर्ता भएको थियो।
बागमती नामको प्रस्तावक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ र समर्थक नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँल, राप्रपाकी रीता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य छन्।