भक्तपुरमा दुई प्रहरीसहित चार जनामाथि खुर्पा प्रहार
भक्तपुर : भक्तपुर नगरपालिका १० पाइपलाइनमा एक युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा ४ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरकाअनुसार जाजरकोटको नलगाढ नपा १ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार अन्धाधुन्ध खुर्पा प्रहार गरेर दुई प्रहरीसहित चारजनालाई घाइते बनाएका हुन्।
विकले सुरुमा ओखलढुंगा चम्पादेवी गाउँपालिका १० घर भई हाल भक्तपुर नपा १० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र स्थानीय ४५ वर्षीया राजमती जाकिबन्जारमाथि खुर्पा प्रहार गरेको परिसरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।
थापा र जाकिबञ्जारमाथि खुर्पा गरेलगत्तै स्थानीयको सूचनाको आधारमा खटिएको प्रहरीमाथिसमेत विकले खुर्पा प्रहार गरेको प्रहरी निरीक्षक गोलेले बताए ।
खुर्पा प्रहारबाट घाइते थापाको उपचार काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा भइरहेको छ । सुरुमा भक्तपुरको मध्यपुर थिमिस्थित मध्यपुर अस्पताल लगिएका उनलाई थप उपचारको लागि नेपाली सैनिक अस्पताल रिफर गरिएको प्रहरी निरीक्षक गोलेले जानकारी दिए ।
त्यस्तै घाइते जाकिबञ्जारको मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले नियन्त्रणमा लिँदा पनि विकले भक्तपुर नपा १० देकोचास्थित बा २ झ १८५ नम्बरको सीआरभी गाडीमा क्षति पुर्याएका छन् । प्रहरी निरीक्षक गोलेका अनुसार विकले सीआरभी गाडीको अगाडिको सिसा फुटाउनुका साथै सञ्चार बेस सेटमासमेत क्षति पुर्याएका छन् । विकलाई महानगरीय प्रहरी परिसर भक्तपुरको नियन्त्रणमा राखिएको छ । उनीमाथि थप अनुसन्धानको कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।