सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन माघ ६ गते
धनगढी : सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन माघ ६ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।
सभामुख अर्जुनबहादुर थापाले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर अधिवेशनको प्रदेश प्रमुखले आह्वान गरिसकेको जानकारी दिए। ‘प्रदेशसभामा कुनै पनि विधेयक दर्ता त भएको छैन्’, सभामुख थापाले भने।
प्रदेशसभाको आगामी अधिवेशनमा पेश गर्नका लागि प्रदेश सरकारले चार विधेयकको मस्यौदा स्वीकृत गरिसकेको छ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा, साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा, निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ को मस्यौदा र रेडियो एफएफ र टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।
सभामुख थापाले प्रदेश सभा गठन भएको दुई वर्ष पुगेको अवसरमा माघ ७ गते विशेष दिवसका रुपमा मनाइने बताए। दुई वर्षमा मुख्य उपलब्धि प्रदेश राजधानी र नामाकरण नै मुख्य उपलब्धि भएको जानकारी दिए। अबको बैठक प्रविधिमैत्री हुने सभामुख थापाको भनाइ छ। ‘प्रदेशसभा हल, मिडिया सेन्टर र सभामुखकक्षमा डिस्प्ले जडान गरिएको छ’, उनले भने।
उनले प्रदेशका ९ वटै जिल्ला र प्रदेशसभाको सम्बन्ध स्थापना गर्न हरेक जिल्ला समन्वय समितिको कार्यालय र प्रदेशसभाको भिडियो कन्फ्रेन्सको व्यवस्था मिलाएको बताए। अब बस्ने बैठकको प्रत्यक्ष प्रशारण युभटुभबाट समेत लाइभ हुने छ।
हरेक प्रदेश सभाका सांसदको टेवलमा डिजिटल माइकको व्यवस्था गरिएको सभामुख थापाले जानकारी दिए।