घोषणामै सीमित पर्यटकीय गन्तव्य
कालिकोट : नेपालकै अग्ला झरनाका रूपमा परिचित पचालझरना जिल्लाको पचालझरना गाउँपालिकामा पर्छ। कर्णाली प्रदेश सरकारले तय गरेका ४० पर्यटकीय गन्तव्यकोे सूचीमा समेत यस झरना उल्लेख छ। तर, पचालझरना अवलोकन गर्न आउने बाह्य पर्यटकको संख्या भने शून्य छ।
सधैं पर्यटकको पर्खाइमा रहेको यस झरनासम्म पुग्न सहज पूर्वाधार विकास नहुँदा यहाँ पुग्न खोज्ने पर्यटकको संख्या शून्यमा झरेको हो। भौगोलिक बिकटतासँगै पूर्वाधार अभावले झरना हेर्न आउन चाहाने पर्यटकसमेत यहाँ पुग्न सकेका छैनन्। सरकारले सुरु गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा कालिकोटको पचालझरना पर्यटकको आकर्षक केन्द्रका रूपमा उल्लेख छ। तर, हालसम्म झरना अवलोकन गर्न पर्यटक आएका छैनन्।
पचालझरना गाउँपालिका ३ का वडाध्यक्ष लोकबहादुर कठायले पचालझरना अवलोकनका लागि एक जना पनि पर्यटक भिœयाउन नसकिएको बताए। प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा पचालझरना पुग्न ८ किलोमिटर सडक र होमस्टे निर्माण गरिएको छ। पचालझरना हेर्न आउने पर्यटकलाई लक्षित गरी गत वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा अहिलेसम्म पर्यटक बसेका छैनन्। हाल उक्त होमस्टे प्रयोगविहीन बनेको छ।
संघीय सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा ६४औं स्थानमा समावेश भएपछि यहाँका स्थानीय घुम्न आउने पर्यटक वृद्धि हुने अपेक्षामा थिए। पचालझरनाले हालसम्म नेपालको अग्लो झरनाका रूपमा मान्यता पनि पाएको छैन। तीन सय ८१ मिटर अग्लो झरना अवलोकन गर्न सन् २०२० सम्म पाँच हजार पर्यटक भिœयाउने गाउँपालिकाको योजना छ। गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले पचालझरनामा पर्यटक भिर्याउन पूर्वाधार निर्माणका काम जारी रहेको बताए। गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले पचालभरनाको प्रचारप्रसार गरी पर्यटकहरुको आगमन बढाइने बताइन्। जिल्लाको सान्नीत्रिवेणी गाँउपालिकामा पर्ने त्रिवेणी पाटनमा समेत पर्यटक आउँदैनन्। खाँडाचक्र नगरपालिकाकै लेकमा चुली हिमाल, कोटदरबार क्षेत्र, माओबादी द्वन्द्वको अन्तिम लडाइ भएको ठाँउ युद्ध पर्यटकीयस्थल पिली, तिलागुफा नगरपालिकामा रहेको तिलागुफा, रुडुबन्चु पाटन, पलाँता गाउँपालिकाको बेलक्या ढुंगा, चिनाराशी, रास्कोट नगरपालिकाको सिप्टी विशाली, देउरा पाटनलगायत पर्यटकीयस्थल पर्यटकको पर्खाइमा छन्।