‘साधनासम्पन्न’ महायोद्धा

‘साधनासम्पन्न’ महायोद्धा

राष्ट्रनिर्माण अभियानमा लम्कनुपरेका बेला ‘सबैको साथ, हरेकको माथ’ चाहिन्छ भन्ने पृथ्वीनारायण शाहको सिद्धान्त हो। राष्ट्रनिर्माणका लागि शक्ति र राजनीतिक कुशलता मात्र होइन, प्रारब्ध, दैवी ऊर्जा र चरित्रबलको पनि त्यत्तिकै आवश्यकता हुन्छ भन्ने उनले बुझेका थिए। पृथ्वीनारायण बौद्ध धर्मप्रति पनि आस्था र श्रद्धावान् थिए। तन्त्र, मन्त्र र ज्योतिषको प्रभाव एवं महत्वको बारेमा उनी दक्खल थिए। राजा महेन्द्रका पालासम्म दरबारमा गुरुपुरोहित राखेर राजकुमारलाई पढाउने व्यवस्था भएकाले पृथ्वीनारायणमा नेपाली ग्रन्थ र देवीदेवतामाथि ठूलो आधार बनेको पाइन्छ।

सांस्कृतिक रूपले समेत एकीकरण गरी हिन्दु पहिचान जोगाउन सफल भएकाले पनि पृथ्वीनारायण ‘हिन्दुपति’ समेत मानिन्छन्। फलतः नेपालले कुनै दाग नलागेको पौरस्त्य दर्शनको उज्यालोबाट संसारलाईसन्देश दिन सक्यो। परिमाणतः ‘वीर गोर्खाली’ का नामले प्रसिद्ध भई पुर्खाको विरासत थाम्न अग्रज सफल भए। हिन्दुस्थान भनेर उनले अरू धर्मलाई कहिल्यै अपमान गरेनन्; बौद्ध, किराँत सबैलाई समदृष्टिले हेरे। ॐकार परिवारलाई मात्र होइन, मुसलमान (इस्लाम) प्रति पनि उनको राम्रो सद्भाव थियो। भारतबाट आएका मुसलमानलाई उनले उचित स्थान दिएबाट यो प्रस्ट हुन्छ। काठमाडौं विजयपछि पनि यहाँ बस्दै आएका इस्लाम धर्मावलम्बीलाई लखेटेनन्।

‘विश्वलाई नै आर्य बनाउने’ उदात्त विचार बोक्ने संस्कृतिको अनुयायी बनेर पृथ्वीनारायणले वैदिक सभ्यता मास्ने खोज्ने साम्राज्यवादी शक्तिविरुद्ध लडे। एकीकरणका साथै धर्म, संस्कृति र चेतनाको पनि पुनर्जागरण गरी एउटा समृद्ध एवं आधुनिक नेपाल निर्माण गरे। गोरखनाथ, काली, महिषासुर मर्दिनी दुर्गा, नुवाकोटको भैरवी आदि सबै देवीदेवताका वरदान र समस्त गोरखाली जनताको सहयोग पाएर ‘वयं राष्ट्रे जागृयाम पुरोहिताः’ भनेर उनले नेपालीलाई सदा जागरुक राख्न सके। उनमा जनताप्रतिको सम्मान र सद्भाव पनि थियो। ‘दैवीशक्तिको प्रभाव कस्तो हुँदोरहेछ ? ’ भन्ने बुझ्न पृथ्वीनारायणलाई पढे पुग्छ। भनिन्छ- साधु र शासकमा अहंकार हुनु हुँदैन। तन्त्र र दैवीशक्तिकै प्रभावले उनमा ‘म राजा हुँ’ भन्ने अहंकारको क्लेस मात्र पनि थिएन। ‘साधनासम्पन्न’ महायोद्धामा मात्र यस्ता विशेषता पाइन्छ।

राष्ट्र मासियो भने जातीय अस्तित्व मेटिन्छ। परम्परा, संस्कृति, प्रथालाई भुलियो भने हामी सबै विलीन हुन्छौं।

पृथ्वीनारायण वास्तवमा देवीका परमोपासक थिए। उनले लेखेको व्रतरत्नमाला, गोरखानाथको भजन आदिले पनि प्रस्ट बनाउँछ। साधकले मात्र आफूलाई प्रतिकार गर्नेमाथि पनि सद्भाव देखाउन सक्छ। देशका कला, भाषा, परम्परा, धर्म, पुरातत्व आफैंले जोगाउने हो भन्ने पाठ पनि उनले सिकाए। युरोप र अमेरिका भौतिक पूर्वाधारमा सम्पन्न भए पनि संस्कृति र सभ्यतामा आजसम्म नेपाल अगाडि छ। आफ्नो कूल र धर्म नछाड्नू भन्नुको कारण पनि यही हो। राष्ट्रनिर्माताको यस्तो शास्त्रसम्मत् दिव्योपदेश नेपाल र नेपालीका लागि मात्र नभएर विश्वकै लागि मार्गनिर्देशक बनिरहेकै छ।

धर्म, संस्कृतिको सम्बन्ध इतिहास र जीवनमा जोडिएको हुन्छ। उनको आफ्ना देवीदेवता पुज्ने, शक्तिको स्रोत जनतालाई मान्ने, प्रजातन्त्रमा विश्वास राख्ने, संस्कृतिको रक्षामा जोड दिनेजस्ता चनाखो विदेश नीतितर्फ अहिलेका नेताले पनि ध्यान दिन आवश्यक छ।

पुर्खाहरूको गौरवगाथाको चेत पनि उनमा देखिन्छ। यसर्थ उनी एक साधारण व्यक्ति नभएर ‘अवतारी पुरुष’ हुन्। वैदिक धर्मले पुनर्जन्ममाथि विश्वास गर्छ, अवतार र साधना शक्तिलाई आत्मसाथ गर्छ। नेपालमा प्राचीनकालदेखि नै राजनीतिक परिर्वतन भए पनि यसले धर्ममाथि कहिल्यै धावा बोलेन, बरु श्रीवृद्धिमा नै सहयोग गर्दै आयो। पछिल्लो समयमा राजनीतिमा देखिएको अस्थिरतासँगै हाम्रो धर्म, भाषा, परम्परा, संस्कृतिमा केही प्रभाव परेको देखिन्छ। पछिल्लो समय दैवीशक्ति र पौरस्य ज्ञानलाई समयानुकूल रूपान्तरण र प्रयोग गर्न सकेनौं भन्ने विगत हेर्दा अनुमान गर्न सकिन्छ। मुख्यतः नेपाल शैवभूमि, तन्त्रभूमि र साधनाभूमि भन्ने बुझाइमा कमी हुनु हो।

इतिहास केलाउने हो भने शास्त्रनिर्देशित काम गर्ने शासक सफल भएका भेटिन्छन्। अंंशुवर्मा हुन् वा मानदेव, सिद्धिनरसिंह हुन् वा प्रताप मल्ल, सबैमा धर्म र दैवीशक्तिको प्रभाव पाइन्छ। नेपालका शासकहरू तन्त्र र दैवीशक्तिमा विशेष विश्वास गर्दथे। पृथ्वीनारायणमा पनि यसैको प्रभाव परेको थियो। तन्त्र वास्तवमा विज्ञान हो; दैवी ऊर्जा हो अनि कामलाई सजिलो बनाउने प्रविधि हो। पाश्चात्यहरू हिजोआज पनि तन्त्रज्ञानको अध्ययन, अनुसन्धानका लागि नेपाल आउने गरेका छन् किनकि नेपाल तन्त्रको देश हो। पृथ्वीनारायणको क्रियाकलापले मन्त्र, तन्त्र र यन्त्रको संरक्षण र वैभावमा ठूलो भूमिका खेलेको घटनाक्रमले पुष्टि गर्छ। नेपालमा सनातन धर्म, बौद्ध र किराँतहरूको बाहुल्य अधिक पाइन्छ, जसले तन्त्रलाई स्विकारेको छ।

पृथ्वीनारायणका पालामा नेपाल भूमिमा धार्मिक र सामाजिक एकता थियो। कोटकोटमा कालीको पूजा हुन्थ्यो। वनदेवी, भूमेदेवता, नागपूजा, शिवालय र देवालयप्रति मानिसको श्रद्धा र विश्वास थियो। यही विश्वासलाई आधार मानेर सबैको साथ तथा सहयोग लिएर नेपालको एकीकरण भएको पाइन्छ। दक्षिणतिरबाट बेलायती साम्राज्यको चपेटा बढेको अवस्थामा एकताको भावना विकास गरी उनले नेपाल राज्य विस्तारको अभियान बढाएको देखिन्छ। अभियानले धार्मिक जागरण पनि ल्यायो। युद्ध विजयका लागि पूजा र प्रार्थना गर्ने क्रम बढेको थियो। गुठी राख्ने र गोरखामा कोटहरू राखिनुले वास्तु एवं निर्माणस्थलको स्वरूपमा तन्त्र, मन्त्र एवं ज्योतिष अगाडि थियो भन्ने प्रमाण हो।

उपत्यका वास्तुशास्त्र, तन्त्रशास्त्र र कलाकौशलले भरिपूर्ण थियो। यहाँका जनता चार गणेश, चार वराह, चार नारायण, गुह्यकाली, दक्षिणकाली आदिले संरक्षित थिए। पृथ्वीले निर्माण गरेका नुवाकोट दरबार होस् वा वसन्तपुरको नौतले दरबार, सबैमा वास्तु र तन्त्रको संयोजन छ। उनले मुद्रामा पनि श्री श्री श्री गोरखनाथ र श्री भवानी लेख्न लगाएर आफ्नो इष्टदेवी र देवताको स्मरण गरे। उनी सफल हुनुमा धर्म, ज्योतिष, तन्त्र आदिको प्रत्यक्ष प्रभाव छ। एक सम्प्रदायमा नखुम्चेर वैदिक धर्म-संस्कृतिका अनुयायी बने उनी। अहिले सबैलाई स्वअस्तित्वको पहिचान, आत्मनिर्णयको अधिकार र स्वतन्त्रता चाहिएको छ।

राष्ट्र मासियो भने जातीय अस्तित्व मेटिन्छ। परम्परा, संस्कृति, प्रथालाई भुलियो भने हामी सबै विलीन हुन्छौं। हामीभित्रको एकता र आत्मीयताको जड हाम्रा मन्त्र, तन्त्र, यन्त्र र पौरस्य उपलब्धि हुन्। पृथ्वीले यी सबैका माध्यमबाट नेपाल र नेपालीको रक्षाको बाटो देखाएका थिए। यसमै गर्व गर्दै अघि बढ्नुको विकल्प छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.