समर्थन र विरोध सँगसँगै
मलंगवा : शान्तिविरुद्धको कसुर र ठगी मुद्दामा पक्राउ परेका सर्लाही बरहथवा नगरगपालिका–१० सीतापुरका रामबाबु राय यादवको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ। रिहाइको माग गर्दै प्रदर्शन भएको केही समयपछि पीडितका पक्षबाट कारबाहीको माग गर्दै प्रदर्शन भएको छ।
बिना कारण पक्राउ गरेको भन्दै यादव पक्षधरले बिनासर्त रिहा गर्न माग गरेका छन्। बरहथवा नगरपालिकाको छेउछाउको गाउँबाट आएका स्थानीयले यादवको रिहाइको माग गर्दै इलाका प्रशासनमार्फत गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। पूर्व जिल्ला विकास समिति सदस्य रहेका यादवको चरित्र हत्या गर्ने मनसायले पक्राउ गरिएको समर्थकले आरोप लगाएका छन्। धनगढाका स्थानइि गंगाराम रायले चरित्र हत्या गर्नका लागि रामबाबुलाई केही व्यक्तिल फसाएको आरोप लगाए।
‘ऋण खाएकाहरुले पैसा तिर्न नसकेपछि यादवलाई फसाउन खोजेको हुन्,’ रायले भने, ‘यादवले कसैलाई पीडा दिएको छ भने दुवै पक्षलाई बसालेर समाधान गर्नुपर्यो। यसरी आरोप लगाएकै भरमा पक्राउ गर्नु राम्रो होइन। तत्काल रिहा नगरे हामी कडा आन्दोलनमा जान्छौं।’ यादव समर्थकको प्रदर्शन सकिनेबित्तिकै यादवबाट पीडित भएकाहरू पनि नारा जुलुसहित प्रदर्शनमा उत्रिए। ऋण लिएभन्दा कैयौं गुणा बढी तमसुक बनाउन लगाएको र ऋण तिर्दा पनि कागजात न च्यातेर खेतबारी लिलाम गर्न लगाएको पीडितको आरोप छ।
रामबाबु राय यादवको रिहाइको माग गर्दै बरहथवामा निकालिएको र्याली।
२०६८ भदौ ८ गते यादवसँग साढे ८ लाख ऋण लिएवापत एक बिघा साढे ३ धुर जमिन यादवको नाममा गरेको बरहथवा नगरपालिका–६ का रामप्रवेश महतोले यादवले बताए। ‘पटक–पटक गरि यादवलाई ५१ लाख तिरेको छु। पैसा तिरेको कुनै भपाई पनि दिएनन्। उल्टै उनले मेरै जमिन बिक्री गरे। जमिन आफैं बेचेर रकम तिर्छुभन्दा पनि मानेनन्,’ उनले गुनासो गरे। यादवलाई शान्तिविरुद्धको कसुरमा प्रहरीले सर्लाहीको हरिपुरबाट पुस २३ गते पक्राउ गरेको थियो।