कर्णाली तर्न डुंगाकै भर
टीकापुर : सुदूरपश्चिमको टीकापुर र प्रदेश ५ को राजापुर नगरपालिका जोड्ने कर्णाली नदीको दौलतपुर घाटमा पुल छैन। पुल नभएकै कारण वषौंदेखि दुवै ठाउँका स्थानीय डुंगाबाट वारपार गर्दै आएका छन्। हिउँदमा नदीमा पानीको बहाव केही कम हुने भएका कारण सहजै वारपार गर्न सकिन्छ। तर बर्खामा उर्लदो भेलमा भने ज्यानकै बाजी थापेर आउजाउ गर्नुपर्छ।
कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो। दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन्। ‘डुंगा चड्नुको विकल्प छैन,’ स्थानीय रविलाल चौधरीले भने, ‘वर्षौंदेखि यो अवस्था फेरिएको छैन। हिउँदमा पानी कम हुँदा जोखिम कम हुँछ। तर बर्खामा उर्लदो कर्णालीको भेलमा कतिबेला बिलाउने हो पत्तो हुँदैन।’
नदीले जिल्ला छुट्याए पनि दुई क्षेत्रीबीचको सम्बन्ध घनिष्ट छ। किनमेलदेखि औषधि उपचार गर्ने मुख्य केन्द्र टिकापुर नै हो। ‘एकपटकलाई भए त केही थिएन। तर दिनमै तीन÷चार पटकसम्म ओहोरदोहोर गर्नुपर्छ,’ उनले थपे, ‘ज्यान जोखिममा मात्रै होइन, हाम्रो समय पनि खर्च भएको छ।’ नदीमा सञ्चालन हुँदै आएका स्टिमरबाट स्थानीय आवतजावत गर्छन्।
बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो। टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन्। दौलतपुरमा उब्जाएको खाद्यान्न बाली स्टिमरमै गोरुगाडा तारेर टीकापुरतर्फ भिœयाउँछन्। ‘सानो स्टिमरमा डन्लप राखेर खाद्यान्न ल्याउनु निकै अप्ठ्यारो पर्छ,’ टिकापुरका जगन्नाथ धमालाले भने, ‘दैनिक हजारौं मान्छे यो नदी तर्छन्, पुलको मा पनि भएको छ। न त संघीय सरकारले नै वास्ता गरेको छ न स्थानीय तहले नै चासो लिएका छन्।’
कर्णाली नदीको तीव्र बहावका कारण बेला बेलामा दुर्घटना पनि हुने गरेको छ। ‘गत असारमा १८ जना सवारी बोकेको स्टिमरको इन्जिन बन्द हुँदा बगेर सत्ती घाटसम्म पुगेको थियो, मुस्किलले डुंगा पार लगायौं,’ विगत ३० वर्षदेखि दौलतपुर घाटमा डुंगा सञ्चालन गर्दै आएका गौरी चौधरीले भने। चौधरीलाई यस्ता धेरै घटनाले बेला बेला झस्काउँछ। ‘के गर्नु यात्रुलाई तार्नैपर्छ, पुल छैन,’ चौधरीले थपे, ‘कयौं बिरामीलाई पनि टर्च बालेरै नदी तार्नुपरेको छ।’
गाउँमा स्तरीय स्वास्थ्य संस्था नभएपछि दौलतपुरका सर्वसाधारण उपचारका लागि टिकापुर नै जान्छन्। गर्भवती, सुत्केरी, गम्भीर प्रकृतिका बिरामी पनि ढंगाकै सहारामा नदी तार्ने गरिन्छ। स्थानीयले दौलतपुर घाटमा पक्की पुलको माग गर्न संघर्ष समितिसमेत गठन गरेका थिए। समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकयामा धाए पनि सम्बोधन हुन नसकेको बताए।
‘पुल माग्दै हामी सबै तहको सरकासँग पुग्यौं,’ उनले भने, ‘सबैको मुखबाट पहल हुन्छ भन्ने सुनियो तर प्रक्रिया भने कसैले अगाडि बढाएनन्। हाम्रो समस्या उस्तै छ।’ स्थानीयले लामो समयदेखि दौलतपुर घाटमा पक्की पुल निर्माण गर्न माग गर्दै आएका छन्।